२०७९ आश्विन १० सोमबार

१० दिनभित्र कर बुझाउन सेनाप्रहरीसहित १० निकायलाई महानगरको पत्र

काठमाडौं- काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायत १० निकायलाई १० दिनभित्र बहाल कर दाखिला गर्न भन्दै पत्र पठाएको छ। सेनाप्रहरीलगायतले महानगरभित्र बहाल लगाई आम्दानी गरेको भन्दै महानगरले बहाल कर दाखिला गर्न पत्र पठाएको हो।

‘पत्र लेखी पटकपटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको हुँदा तहाँको आम्दानी विवरणसहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउनु हुन अनुरोध छ,’ महानगरपालिकाको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले सेना/प्रहरीलगायतलाई पठाएको पत्रमा लेखिएको छ।

निर्धारित मितिभित्र कर दाखिला नगरे महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत महानगरले दिएको छ।

महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको हो।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 30 Views

ताजा समाचार