२०७९ आश्विन २१ शुक्रबार

कित्ताकाट फुकुवापछि सक्रिय बन्दै जग्गा कारोबारी

धनगढी– धनगढी उपमहानगरपालिकाले १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरे जग्गा कारोबारी ‘रियल स्टेट व्यवसायी’ सक्रिय भएका छन ।

उपमहानगरपालिकाले धनगढीका छ वडालाई आवासीय र अन्य वडाका सडक तथा शाखा सडकको दाँया–बायाँका क्षेत्रलाई गैर कृषि बनाउने निर्णय गर्दै जग्गा कित्ताकाट फुकुवा गरेपछि व्यवसायीहरु सक्रिय बनेका हुन ।

केही दिन अघि जग्गा कारोबारलाई व्यवस्थित गर्ने भन्दै जिल्लामा ‘जग्गा तथा आवास  विकास संघ’ गठन गरेका व्यवसायीहरुले गैरकानुनी रुपमा घर जग्गा कारोबार गर्नमा रोक लगाउने दाबी गरेको छ ।

बिहीबार धनगढीमा सीमित पत्रकारहरुलाई बोलाई पत्रकार सम्मेलन गरेको थियो । संघ गठन भएसँगै गैरकानुनी रुपमा भइरहेको जग्गा कारोबारमा कमी आउने संघको दाबी रहेको छ ।

‘विगतका वर्षमा बिचौलियाले आफ्नै मर्जीमा घर जग्गा कारोबार गर्दै आएका थिए । तर अब संघ गठन भएपछि जथाभावी रुपमा घर जग्गा कारोबार गर्न पाउदैनन्’ संघका अध्यक्ष अर्पेन्द्र अवस्थीले भने, ‘घर जग्गा कारोबारमा बिचौलियाले फाइदा उठाउँदै आएकाले बदनामबाट नियन्त्रण गर्न संघ गठन गरिएको हो ।’

उनले बिचौलियाका कारण घर जग्गा वितरण गर्दा राज्यलाई पनि फाइदा नहुने र किन्ने तथा बिक्री गर्नेलाई लाभ नमिल्ने गरेको बताए । राज्य तथा जग्गा धनीलाई मर्का नपरोस् भन्ने उद्देश्य लिएर आफूहरु संगठित भएको संघको भनाई छ ।
संघका अनुसार कैलालीमा अहिलेसम्म १५ भन्दा बढी घरजग्गा कारोबारी संगठित भएका छन् । संघ गठन भएसँगै जिल्लाभर घर जग्गा कारोबारीको संख्या यकिन हुने अध्यक्ष अवस्थिले बताए ।

अवस्थि धनगढी उपमहानगरपालिकाले जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गर्नुअघि बसेका विभिन्न बैठकमा सहभागी छन् । जग्गा कित्ताकाट फुकुवा भएपछि रियल स्टेट कम्पनी दर्ता गरेका व्यवसायीहरु आफनो लाभ लिन सक्रिय भइरहेको देखिन्छ । कृषि क्षेत्र मानिएको वडा नं. ११ लाई वडा कार्यालयको सिफारिसमै आवासीय क्षेत्र घोषणा गर्नुलाई आशंकाको विषयमा हेरिएको छ ।

एक जग्गा व्यवसायीका अनुसार वडा नं. ११ मा धनगढी विमानस्थलनजिक रहेकाे र धनगढी–स्याउले–दीपायल सडकखण्ड निर्माण भइरहेकाले सो क्षेत्रको खेतीयोग्य जमिनलाई प्लटिङमा लग्ने प्रयास भएको छ ।

संघ बनेसँगै जिल्ला प्रशासन, धनगढी उपमहानगरपालिका लगायत अन्य स्थानीय तहलाई पत्राचार गरिएको जनाइएको छ । संघले स्थानीय तहअन्तर्गत वडा कार्यालय, मालपोत कार्यालय लगायत सरोकार निकायलाई पत्राचार गरिएको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका ४ वडा बाहेक सबैमा जग्गा कित्ताकाट फुकुवा गरिएको छ । चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै उपमहानगरले १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको बुधबार बसेको कार्यपालिका बैठकले जनाएको थियो।

उपमहानगपालिकाले थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरिसकेको मेयर गोपाल हमालले बताए ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 0 Minutes 42 Views

ताजा समाचार