२०७९ आश्विन २१ शुक्रबार

बिहे गरिदिने एप अायाे नेपालमा / लमी बन्दैछ ‘बिहे नेपाल’, यसरी मिलाइदिन्छ जोडी

के तपाईं विवाह गर्ने तयारीमा हुनुहुन्छ वा जोडी नपाएर चिन्तित हुनुहुन्छ ? अब आफूले खोजेजस्तै र रोजेजस्तै जीवनसाथी चाहिएमा ‘बिहे नेपाल’ एप डाउनलोड गर्नुहोस् । जहाँ तपाईंले आफ्नो चाहनाअनुसारको जोडीसँग विवाह गर्न सक्नुहुनेछ ।

के हो ‘बिहे नेपाल’ ?

‘बिहे नेपाल’ लङ्गटर्म लाइफ पार्टनर खोज्ने एप हो । यसलाई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले सञ्चालन गरिरहेका छन् । सञ्चालक श्रद्धाका अनुसार यो एपबाट डाइरेक्ट सिङ्गल मानिसहरूसँग नेटवर्किङ गरेर सम्बन्ध गाँस्न सकिन्छ । विभिन्न कारणले पारपाचुके (डिभोर्स) भएका, लैंगिक अल्पसंख्यक, यावत कारणले बढी उमेरसम्म विवाह हुन नसकेकाहरूका लागि यो एप उपयोगी हुने श्रद्धाले बताइन् ।

शान्त समाजको आधार

समाजमा अशान्ति हुनुको मुख्य कारण नै पारिवारिक विचलन भएकाे श्रेया र श्रद्धाकाे बुझाइ छ । ‘समाजमा अशान्ति हुने पहिलो कारण भनेको परिवारका सदस्यबीचको बेमेल हो । बाआमामै बेमेल भयो भने त्यो परिवारमा शान्ति नै हुँदैन । त्यसैले सुरुबाट नै मन मिलाएर, जोडीबीच एक–अर्कालाई परिचय गराएर हामी जोडी बाँधिदिन्छौँ । जसले गर्दा पछिसम्म नै त्यो जोडी र उनीहरूको परिवार खुसीसाथ रहन सक्छ भन्ने हाम्रो विश्वास छ,’ श्रेयाले भनिन् ।

यो एपमा सबैको एक्सेस (पहुँच) हुने भएकाले आफ्नो सबैभन्दा मन मिल्ने साथी को रहेछ भनेर भेट्टाउन सकिने सुविधा पनि छ । लमीले मिलाइदिएको जोडीमध्ये कसैमा केही समस्या देखियो भने लमीलाई दोष जाने तर एपमार्फत आफैँले रोजेको साथीलाई सुरुमै चिनिने सुविधा रहेकाे हुनाले पछि त्यस्तो प्रकारको समस्या नआउने उनीहरूको दाबी छ ।

आमाले बिहेबारे कुरा गरेपछि फुर्‍यो एप्स बनाउने आइडिया 

केटी होस् या केटा, उपयुक्त जोडी खोज्ने समस्याले हरकाेहीलाई सताउँछ । कसैको विवाह गर्ने उमेर भयो कि घरका सबै सदस्य, नातेदारहरू विवाह गर्ने मानिसका लागि जोडी खोज्न लागिपर्ने गरेको उनीहरूले देखेका छन् । ‘त्यस्तै समस्या हल गर्न, समयको बचत गर्न यो एप भरपर्दो हुनेछ,’ श्रेयाले भनिन् ।

एक दिन यस्तै घटना भयो, कटुवाल दिदीबहिनीको घरमा । ‘हाम्रो घरमा पाहुना आउनुभएको थियो । उहाँले हाम्रो मामुलाई कतै केटी छन् भने भन्नुस् है मेरो छोराको विवाह गनुपर्‍यो भन्नुभयो । मामुले ‘भइहाल्छ नि’ भनेपछि पाहुना आफ्नो बाटो लाग्नुभयो,’ कटुवाल दिदीबहिनी भन्छन्, ‘मामुको कुरा सुनेर बसिरहेका हामीलाई, मामुले नानी यो लमीको काम गर्ने एप बनाउन सकिँदैन ? सकिन्छ कि ट्राइ गर न एकचोटि भन्नुभयो । मामुको कुरा सुनेर हामीलाई एकछिन् त हाँसो पनि लाग्यो ।’

तर इन्जिनियरिङ विषय अध्ययन गरेका उनीहरूलाई यो कुरा खासै नौलो लागेन । ‘हामीलाई पनि चाह्याे भने किन गर्न नसकिएला र भन्ने लाग्यो,’ उनीहरू भन्छन् ।

विवाह गर्ने परम्परागत चलनमा अलिकति परिवर्तन ल्याऊँ भन्ने पनि लाग्यो उनीहरूलाई । ‘महिनौँ, वर्षौं लगाएर जोडी खोज्ने पुरानो परम्परालाई केही परिवर्तन गरूँ भन्ने सोचले हामीले यो एप्स बनाएका हौँ,’ उनले भनिन्, ‘विदेशमा रहेर नेपालमा जोडी खोज्नेहरूका लागि यो एप्सले धेरै सहयोग गर्छ । विदेशमा कामका कारण व्यस्त भएकै कारण जोडी खोज्न नभ्याइहरहनुभएको हुन सक्छ । यसका लागि बिहे नेपाल एप एकदमै उपयोगी छ ।’

नेपालका लागि कति उपयोगी ?

युवायुवतीका लागि त ‘बिहे नेपाल’ उपयोगी छँदैछ । विदेश बसेर आएका नेपालीलाई भने यो एप धेरै नै प्रभावकारी रहेको उनीहरूले देखेका छन् । ‘बाहिर गएर बिदामा आउनुभएको हुन्छ । विवाह गर्नलाई केटी नपाएर समस्या भइरहेको देखिन्छ । भनेको समयमा नेपाली नै पार्टनर पाउन पनि गाह्रो हुने,’ श्रद्धाले भनिन्, ‘तर यो एप भएपछि उहाँले अगाडि नै आफूलाई मिल्ने जोडीसँग सम्पर्क गरेर विवाह फिक्स गरेर आउन सक्नुहुनेछ ।’

दीर्घकालीन सम्बन्धको खोजीमा रहेका अविवाहित तथा अन्य एकल व्यक्तिलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य पनि छ उनीहरूको । यससँगै एपले सम्भावित साथीहरू एकैठाउँ, आफ्नै मोबाइलसम्म ल्याइदिने श्रद्धा कटुवालले बताइन् । ‘बिहे नेपाल’ नोभेम्बर २०२१ देखि सञ्चालनमा आएको हो ।

विवाह र जोडी मिलाउने सन्दर्भमा गाउँभन्दा शहर केही उदार देखिए पनि गाउँघरका मानिसहरू पनि अहिले प्रविधिमा अगाडि बढिरहेको उनीहरूकाे बुझाइ छ । ‘यो एप गाउँदेखि शहर जताका मानिसलाई पनि काम लाग्छ । अहिले शहरका साथसाथै गाउँ पनि टेक्नोलोजीमा सँगसँगै अगाडि बढिरहेको देखिन्छ । त्यसैले गाउँ, शहर, आर्थिक रूपमा सम्पन्न, विपन्न सबैका लागि यो एप उपयोगी हुन्छ,’ श्रेयाले भनिन् ।

अहिले ‘बिहे नेपाल’ एप चलाउनेमा शहर र गाउँका बराबर संख्याका व्यक्तिको प्रोफाइल देखिएको उनीहरू बताउँछन् । ‘छोरा–छोरीको विवाह गराइदिन धेरै अभिभावकहरूले यस्तो, यति पढेको केटा, केटी चाहिएको छ तर उनीहरू आफू नै कुराकानी गरून् भनेर सोध्ने र चासो राख्ने गर्नुहुन्छ । युवाहरूले पनि आफ्नो विवाहका बारेमा धेरै नै सोधीखोजी गर्नुहुन्छ । यसो भएको हुनाले आउँदा दिनमा यो एप अझ धेरै उपयोगी हुन्छ,’ उनले भनिन् ।

अहिलेका अभिभावकले आफ्ना छोराछोरीको बिहे गराइदिन भरसक उनीहरू आफू नै कुराकानी गरून् भन्ने चाहना राख्ने प्रवृत्ति अहिले देखिएको हुनाले पनि यो एप धेरै नै उपयोगी हुने श्रेया, श्रद्धाको भनाइ छ ।

कसरी प्रयाेग गर्ने एप ?

प्रयोगकर्ताले यो एपमार्फत जोडिन वास्तविक परिचय दिने नागरिकता वा ड्राइभिङ लाइसेन्स उपलब्ध गराउनुपर्नेछ । यसका लागि आफ्नो मेल आईडी पनि आवश्यक पर्छ । ‘बिहे नेपाल’ एप चलाउँदा फेसबुक आईडी पनि राख्नुपर्ने हुन्छ । तर, यसका प्रयोगकर्तालाई अर्को व्यक्तिको फेसबुक आईडीबारे केही पनि थाहा हुँदैन । यसले गर्दा यसमा आफूले भन्न नचाहेका सूचनाहरू गोप्य नै रहने यो एपको विशेषता रहेकाे उनीहरूकाे भनाइ छ ।

‘एपमा उमेर, लैंगिक समूह, शैक्षिक योग्यता, जन्ममिति सबै खुला देख्न सकिन्छ । तर, आफ्नो नामचाहिँ देख्न सकिँदैन । थर मात्र देख्न सकिन्छ । जसले गर्दा यो एप सुरक्षित पनि छ,’ श्रेयाले भनिन् । ‘बिहे नेपाल’ले यी संकेतका आधारमा परिचय प्रमाणित गर्छ । प्रमाणित प्रोफाइलहरूले हरियो संकेत चिह्न प्राप्त गर्नेछन् । त्यसपछि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न र वैवाहिक सम्बन्ध गाँस्ने निर्णयसम्म पुग्न सक्नेछन् ।

आफ्नो सबै तथ्य, तथ्यांक हाल्नुपर्ने भएकाले फेक प्रोफाइल बनाउने, अर्काको आईडी दुरुपयोग हुने सम्भावना नरहेको उनीहरू बताउँछन् । ‘रिक्वेस्ट पठाएको व्यक्तिले एसेप्ट गरेपछि मात्र ऊसँग कुराकानी गर्न मिल्छ । आईडी हेर्दा राम्रो लागेकै भरमा कुराकानी गरिहाल्न मिल्दैन,’ उनले भनिन्, ‘प्रोफाइल हेरेर नै अर्को व्यक्तिले जजमेन्ट गर्ने हुँदा ओरिजिनल प्रोफाइल बनाइदिन हामी एप प्रयोगकर्ता सबैमा आग्रह गर्दछौँ ।’

यो एपमार्फत जोडी खोज्दा आफूलाई इच्छा लागेको देश र नेपालकै पनि जिल्लाहरू रोज्न सकिने अप्सन छ । ‘जोडी एउटै जिल्लाको खोज्ने कि आफूलाई मन परेको अन्य कुनै जिल्ला वा गाउँ, शहर कताको रोज्ने भन्ने सुविधा पनि हामीले बनाएका छौँ । सुरुमा देश सर्च गर्ने, त्यसपछि जिल्ला, गाउँ सर्च गर्ने अप्सन पनि एपमा उपलब्ध छ,’ उनीहरूले भने । अहिलेसम्म ‘बिहे नेपाल’मा ५० हजार प्रयोगकर्ता रहेको उनीहरू बताउँछन् ।

‘धेरैभन्दा धेरै व्यक्तिले यो एप चलाउनुहोस् भन्ने हाम्रो उद्देश्य हो । धेरैलाई यो एप चलाएको पैसा लाग्छ भन्ने भ्रम छ । तर, यो एप चलाउँदा पैसा तिर्नुपर्दैन,’ उनले भनिन् । प्रयोगकर्ताको संख्या थाहा भए पनि उनीहरूबीच हुने कुराकानी एपका फाउन्डरहरूलाई नै थाहा हुँदैन ।

‘बिहे नेपाल प्रयोग गरेर हाम्रो बिहे भयो भनेर हामीलाई बधाई दिने पनि हुनुहुन्छ । हामीलाई यसरी जानकारी गराउँदा मात्रै ‘ए उहाँहरूको बिहे भएछ’ भनेर हामीलाई थाहा हुन्छ । नत्र हामीलाई पनि थाहा हुँदैन कसको बिहे कोसँग भयो भनेर, कसको जोडी मिल्यो भनेर । यसरी यो एपबाट व्यक्तिगत गोप्य सूचनाहरू चुहिँदैन,’ उनले भनिन् ।

पैसा तिरेर छिर्न सकिन्छ भीआईपी क्लब

‘बिहे नेपाल’ एपमा अहिले सामान्यत: सबै प्रयाेगकर्ताहरूले सजिलै ‘एक्सेस’ गर्न सक्छन् । यसले गर्दा बिहे गर्नका लागि नभई यत्तिकै कुराकानी मात्रै गर्न एप प्रयोग गर्नेहरू पनि एपमा आउन सक्छन् ।

तर, भीआईपी क्लबमा आउनचाहिँ निश्चित समयका लागि पैसा तिर्नुपर्ने भएकाले साँच्चै काम परेकाहरू मात्रै आउने उनीहरू बताउँछन् । ‘पैसा तिरेर एप प्रयोग गर्दाचाहिँ साँच्चै नै जोडी चाहिएका प्रयोगकर्ताहरू जोडिन सक्नुहुन्छ । त्यसैले यही एपमा भीआईपी फिचर एड गरेका हौँ,’ उनीहरूले भने ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 38 Views

ताजा समाचार