२०७९ आश्विन १० सोमबार

डेंगु नियन्त्रणका लागि बालेनको एक्सन, थाले यस्तो अभियान

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको बताएका छन्।

वडाको आकार अनुसार ठूला वडाहरूमा १ लाख, मध्यमका लागि ७५ हजार तथा साना वडाहरूमा ५० हजारका दरले बजेट छुट्याइएको मेयर शाहले जनाएका छन्। उनले अहिले डेंगुको प्रकोप बढिहरेको उल्लेख जाडोमा डेंगु आफैं हट्छ भनेर जाडो नपर्खिन आग्रह गरेका छन्।

उनका अनुसार सबै क्लिनिक इन्चार्जहरूलाई प्रशिक्षण दिइएको, भदौ १४ गतेदेखि वडा वडाना जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविक, संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिई घरदैलो अभियान चलाइएको छ। जुन अहिले पनि जारी छ।

प्रत्येक विद्यालयमा विद्यालय नर्स र स्वास्थ्यकर्मीबाट विद्यार्थीहरुलाई डेंगुबारे सचेत गराउने कार्यक्रमको थालनी गरिएको, ब्रोसर ब्यानर छपाइ गरी घरदैलो कार्यक्रममा वितरण गरिएको, लामखुट्टेको बासस्थान र लार्भा खोजी गरि नष्ट गर्ने अभियान ३२ वटै वडामा सञ्चालन गरिएको मेयर शाहले बताएका छन्। बुधबारदेखि प्रयोगशाला भएका क्लिनकमा आरडीटी परीक्षणा थालिने उनले बताएका छन्।

‘डेंगुको प्रकोप बढ्दो छ। घरघरमा डेंगुका बिरामीहरू बढिरहेका छन्। जाडो आएर डेंगु आफैं जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ। डेंगुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको छ’, मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, यो प्रयत्न पनि अपुग भएको छ। किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ। यसमा हामी सबैको भूमिका रहन्छ।’

पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनको भनाइ छ। दोस्रो, लामखुट्टेले थोरैभन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्ने भएकाले सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिन आग्रह गरेका छन्।

डेंगुबाट संक्रमित भएको भए स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्न मेयर शाहको आग्रह छ।

२०७९ भाद्र २९, बुधबार प्रकाशित 0 Minutes 48 Views

ताजा समाचार