२०७९ आश्विन १० सोमबार

मृ’त्यु भएको ६ वर्ष सम्म पनि पाटनको अल्का अस्पतालमा मालिक कुरेर बसिरहेकी काली

तपाईंहरूले ‘हाची’ फिल्म हेर्नुभएको छ? कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ। यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो। यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ।

जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ। यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मालिक कुरेर बसिरहेकी छे। जीउभरि फुस्रा काला रौं, घाँटी वरपर खैरो। हेर्दा फूर्तिलो देखिने यो कुकुरको नाम ‘काली’ हो। कालो वर्णको भएरै उसको नाम काली राखिएको अस्पतालका कर्मचारी बताउँछन्।

काली अस्पतालसम्म कसरी आइपुगी त? अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्षअघि एक युवक बिरामी भएर आएका थिए। उनलाई पहिले क्याबिनमा राखिएको थियो, पछि आइसियुमा सारियो। उनी आइसियुबाट निको भएर घर फर्किएनन्। अस्पतालमै उनको नि’धन भयो र यहीँबाट अन्तिम संस्कार निम्ति लगियो।

‘बिरामी मालिकलाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वरपर बस्थ्यो,’ केसीले भने, ‘अहिले पनि ऊ आफ्नो मालिक पर्खेझैं क्याबिन वरपर नै बसिरहेको छ।’अस्पतालका अन्य कर्मचारीका अनुसार पहिलोचोटि आउँदा काली सानै थिई। रौं चिल्ला र सुकिला थिए।

बिरामी युवकको निधनपछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए। तर काली मान्दै मानिन। ऊ मालिक फर्किने आसमा अस्पतालमै बसिरही।कालीको त्यो पर्खाइ आजसम्म सकिएको छैन। ऊ आज पनि आफ्नो मालिकले अन्तिम पटक छाडेको बाटोमा यताउति दगुरिरहन्छे।

छ वर्षको अन्तरालमा अस्पतालको रङ फेरियो। कालीको शरीरको रौं फुस्रो हुँदै गयो। तर उसको आनीबानी फेरिएको छैन।हामी मंगलबार अल्का अस्पताल पुग्दा काली गेटमै टुक्रुक्क बसिरहेकी थिई। नयाँ मान्छेसँग एकैछिनमा झ्याम्मिने काली हामीलाई नजिक देखेर पुच्छर हल्लाउन थाली। हामीले हातले सुम्सुम्याएपछि ऊ झनै नजिक आई।

अस्पतालका सुरक्षाकर्मी कुमार लामा अल्कामा काम गर्न थालेको दुई वर्ष भयो। उनले आफू आएदेखि कालीलाई यहाँ देखिरहेका छन्।’कालीका बारेमा बुझ्दा ऊ आफ्नो मालिक कुरेर बसेको भन्ने सुनेको हुँ,’ उनले भने, ‘कुनै जनावरमा आफ्नो मालिकप्रति यति धेरै माया हुन्छ भन्ने पहिलोपटक देखेँ।’


कहिलेकाहीँ काली कुनै व्यक्तिलाई पछ्याउँदै परसम्म जान्छे। सायद उसलाई त्यो व्यक्ति आफ्नै मालिक हो कि भन्ने लाग्छ। पर पुगेपछि झस्किएर फर्किने गरेको कुमार बताउँछन्।’अस्पतालमा जचाउन आएका व्यक्तिले माया गर्दा एकछिन पछि लाग्छ, पछि अस्पतालमै फर्किन्छ,’ उनले भने।

हामी पुग्दा पनि काली एक बिरामी कुरूवाको नजिक बसेकी थिई।हामीले अस्पतालका अर्का कर्मचारी ज्ञानीमाया महर्जनलाई पनि सोध्यौं। उनी कुमारभन्दा धेरै पहिलेदेखि यहाँ काम गर्ने थालेकी हुन्। उनले आफू आएदेखि कालीलाई अस्पतालमै देखिरहेकी छन्।

उनका अनुसार काली दिनभर क्याबिनबाहिर बस्छे। बेलुकी ७ बजेपछि क्याबिनमा जान्छे र त्यहीँ सुत्छे।’बाहिरी कुकुर र जनावरलाई अस्पतालभित्र आउन दिइँदैन,’ ज्ञानीमायाले भनिन्, ‘यो छुट कालीलाई मात्र छ।’अर्की कर्मचारी सरिताले कालीको हेरचाह गर्न थालेको तीन वर्ष भयो।

अस्पतालनजिकै उनको खाजाघर छ। काली दिउँसो सरिताकै खाजाघरअगाडि बस्छिन्। उनी सधैं कालीका लागि भनेर खाना–खाजा छुट्याइदिन्छिन्। सुरूमा कालीले आफूलाई भोक लाग्दा सरितालाई हातले कोट्याएकी थिई। सरितालाई मात्र होइन, भोक लाग्दा ऊ आफूलाई माया गर्ने सबैलाई हातले कोट्याउँछे।

त्यति बेला उसले किन यस्तो गरेको भन्ने सरिताले बुझेकी थिइनन्। पछि खानेकुरा दिएपछि कोट्याउन छाडी। अहिले कालीले कोट्याउनेबित्तिकै उसलाई भोक लाग्यो भनेर बुझ्नुपर्छ। ललितपुर महानगरपालिकाले कालीको स्थायी ब’न्ध्याकरण गरिदिएको छ ।त्यस अघि उसले एकपटक बच्चा जन्माइसकेकी छे।

बच्चा पनि पोथी नै हो। छिरबिरे सेतो रङको छ। अस्पतालबाहिर निस्किँदा काली आफ्नै बच्चासँग खेल्छे। हामी पुग्दा पनि आफ्नो बच्चानजिकै बसिराखेकी थिई। बच्चा कालीजस्तै ठूली भइसकेकी छे। अस्पतालले बच्चालाई भित्र आउन दिँदैन। कालीलाई अस्पतालका कर्मचारी मात्र होइन, क्यान्टिनका मान्छेले पनि माया गर्छन्। हरेक साँझ उसका लागि खाना छुट्टाइदिन्छन्।

‘काली अरू कुकुरजस्तो छैन। सबैलाई माया गर्छ, जिस्क्याउँदा पनि टोक्न जाँदैन,’ सरिताले भनिन्। उनले अगाडि भनिन्, ‘कालीले मालिकलाई अहिलेसम्म कुरेर बसेको देख्दा जनावरमा पनि मान्छेप्रति यति धेरै लगाव र प्रेम हुँदो रहेछ भन्ने थाहा भयो।’ सेतो पाटि

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 1 Minute 253 Views

ताजा समाचार