२०७९ आश्विन २१ शुक्रबार

महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?

महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?

यहाँ फेरि कलकल पानी बगाउन सम्भव छ? टुकुचा राणाकालमै जमिनमुनि पठाइएको हुनसक्ने

 

तस्बिरको तल्लो भाग नारायणहिति दरबार संग्रहालय क्षेत्र हो जहाँ टुकुचा बगिरहेको देखिन्छ। त्यसको माथि सडक र त्यहाँभन्दा माथि घरहरू छन्। यहाँबाट टुकुचा भूमिगत रूपमा बग्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटीतस्बिरको तल्लो भाग नारायणहिति दरबार संग्रहालय क्षेत्र हो जहाँ टुकुचा बगिरहेको देखिन्छ। त्यसको माथि सडक र त्यहाँभन्दा माथि घरहरू छन्। यहाँबाट टुकुचा भूमिगत रूपमा बग्छ।

काठमाडौं महानगरपालिकाले बिहीबार जयनेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गर्‍यो।

 

नारायणहिति दरबार संग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन। यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजामुनि आइपुगेपछि मात्र बाहिर निस्कन्छ। यसबीचको ४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने लामो समयदेखि अन्यौल थियो जसलाई काठमाडौं महानगरको उत्खननले चिरेको छ।

 

महानगरको यो कार्यले धेरैलाई उत्साहित बनाएको छ। खोला पुरेर त्यसमाथि घर लगायत भौतिक संरचनाहरू बनाएको भन्दै जयनेपाल हल लगायतले सामाजिक सञ्जालमा गाली खाइरहेका छन् भने मेयर बालेन शाहको तारिफ भइरहेको छ। महानगरको अभियान सफल बनाएर भूमिगत टुकुचालाई सतहमा पुनर्स्थापित गर्नुपर्ने माग पनि उठेको छ।

 

invotech

तर महानगरको यो अभियानमा थुप्रै प्रश्न अनुत्तरित छन्।

 

 

 

पहिलो प्रश्न, टुकुचा खोला हो कि खोल्सा हो? सामान्य नाला मात्र हो कि आसपासका फोहोरमैला ओसार्ने ढल हो? यसको पानीको स्रोत के हो? यहाँ बाह्रै महिना कलकल पानी बगाउन सम्भव छ कि छैन?

 

softwaricanic

दोस्रो, टुकुचा सुरूङभित्र हुलेर माथिको जग्गा अतिक्रमण गरिएको वृत्तान्त (न्यारेटिभ) काठमाडौं महानगरले स्थापित गर्न खोजेको छ। अतिक्रमण नभएको होइन, भएको छ। काठमाडौं उपत्यकाका सबै नदी–खोला अतिक्रमणमा परेका छन्। तर त्यो अतिक्रमण गर्ने को? कहिलेबाट सुरू भयो? खासगरी जयनेपाल हलको क्षेत्रमा टुकुचा जमिनमुनि हुल्ने काम कहिले भयो? पञ्चायतकालमा भयो कि राणाकालमै भयो?

 

तेस्रो, पञ्चायतकालमा भए पनि राणाकालमा भए पनि यहाँ धेरै वर्षअगाडिदेखि टुकुचा जमिनुमनिबाटै बग्थ्यो भन्ने सबैलाई थाहा छ। त्यसो भए आजको मितिमा आएर टुकुचामाथि बनेका संरचना भत्काएर यसलाई ह्वांग सतहमा ल्याउन सम्भव छ कि छैन? यति ठूलो कामको लागत कति? लागत भन्नाले आर्थिक लागतको मात्र कुरा आउँदैन, त्यसको सामाजिक लागत के हो? त्यो लागतबाट प्राप्त हुने प्रतिफल के हो?

 

चौथो, महानगरले टुकुचा खोल्न ६ अर्ब रूपैयाँ बराबरका संरचना भत्काउनुपर्ने भनेको छ। यसले जमिनमुनि पुरिएको टुकुचा बाहिर त आउला तर त्यसपछि पनि त्यहाँ कलकल पानी बग्नुको साटो ह्वांग ढल मात्र बाँकी रह्यो भने के गर्ने? त्यसको जिम्मेवारी कसले लिने? कसरी व्यवस्थापन गर्ने?

 

पाँचौं प्रश्न, जयनेपाल हलको आँगनमा भेटिएको संरचना राणाकालीन नै रहेछ भने के त्यो पुरातात्विक हिसाबले भत्काउन मिल्छ? के त्यो आफैंमा संरक्षण गर्नुपर्ने संरचना होइन?

 

 

 

यस्ता थुप्रै प्रश्न मेयर बालेन शाहले सुरू गरेको टुकुचा खोला पुनर्स्थापनासँग जोडिएका छन् जसको उत्तरपछि मात्र यो काम ठिक हो कि होइन र यसले निरन्तरता पाउनुपर्छ कि पर्दैन भन्ने टुंगो लाग्नेछ।

 

यो स्टोरीमा हामी यिनै प्रश्नमाथि विवेचना गर्नेछौं।

 

पहिलो प्रश्नबाट सुरू गरौं- टुकुचा के हो?

 

टुकुचा खोला होइन।

 

बागमती, विष्णुमती वा धोबीखोलाजस्तो यसको आफ्नो स्थायी पानीको स्रोत छैन। ‘इच्छुमती’ समेत भनिने टुकुचा शिवपुरी डाँडा वा बुढानिलकण्ठतिरबाटै बगेर आउँछ भन्ने कतिपयलाई भ्रम छ। यो सही होइन।

 

त्यसो भए टुकुचा के हो त?

 

नेवार भाषामा टुकुचालाई ‘तुखुचा’ भनिन्छ। ‘तु’ भनेको उखु र ‘खुचा’ भनेको खोल्सा हो। नेवार भाषाको ‘तुखुचा’ नै मान्छेको जिब्रो बटारिँदै ‘टुकुचा’ भएको हो। त्यसैले नामैबाट पनि थाहा हुन्छ, यो खोला होइन, खोल्सा मात्र हो।

 

कतिपयले विगतमा यहाँ उखुजस्तै गुलियो पानी बग्ने भएकाले ‘तुखुचा’ नाम रहेको भन्छन्। त्यो पनि गलत हो। उखुसँग प्रत्यक्ष रूपले टुकुचाको कुनै सम्बन्ध छैन। त्यसो भए यो नाम कसरी रह्यो त?

 

भूमिगत जलस्रोत विज्ञ पद्मसुन्दर जोशीका अनुसार टुकुचाको नामाकरण यसको पानीको स्रोतसँग सम्बन्धित छ।

 

काठमाडौं उपत्यकाको भूमिगत जलाधार क्षेत्रमा लामो अध्ययन–अनुसन्धान गरेका जोशीको हालै मात्र परम्परागत हिति प्रणालीसम्बन्धी किताब प्रकाशित छ। उनले टुकुचाको नामाकरणदेखि पानीको स्रोतसम्मको तथ्य विस्तार लगाउँदै भने, ‘काठमाडौंका अरू नदी वा खोलाजस्तो टुकुचा वरिपरिको डाँडाबाट बगेर आउँदैन। भित्रैको बस्तीबाट बग्ने पानीले टुकुचा जन्मेको हो। त्यसैले यो खोला होइन, खोल्सा मात्र हो।’

 

टुकुचा खासगरी शंखपार्क र बाँसबारी क्षेत्रबाट बग्न थाल्छ। त्यो ठाउँको भूबनोट अलिकति माथि उठेको थुम्कोजस्तो छ। त्यहाँ जम्मा हुने बर्खाको पानी बग्ने बाटो नै टुकुचा खोल्सा हो।

 

यो थुम्कोपारि टोखा पर्छ जुन काठमाडौं उपत्यकाको उखु फल्ने प्रमुख क्षेत्र हो। उखु फल्ने टोखाबाट पनि पानी रसाएर टुकुचामा मिसिन्छ भन्ने अनुमानका आधारमा पहिले–पहिलेका रैथानेले ‘तुखुचा’ नाम राखेको जोशी बताउँछन्।

 

भौगोलिक रूपले भने टोखाको पानी टुकुचासम्म आइपुग्न सम्भव छैन। त्यो ठाउँ शंखपार्क वा बाँसबारी थुम्कोको अर्को दिशामा पर्छ। त्यसैले त्यहाँको पानी बगेर टुकुचासम्म आउन सक्दैन। आउँथ्यो भने पनि त्यो धेरै धेरै, धेरै नै वर्षअगाडिको कुरा हुनुपर्छ जब यो थुम्को बनेकै थिएन।

 

अहिलेलाई टुकुचाको पहिलो स्रोत शंखपार्क र बाँसबारी क्षेत्रको थुम्कोबाट बग्ने पानी नै हो। यसरी सुरू हुने टुकुचामा वरिपरिका जलाधार क्षेत्रबाट भूमिगत रूपमा पानी मिसिन आइपुग्छ। त्यहाँबाट बग्दै भाटभटेनीको टुँडालदेवी मन्दिरनिर आएपछि यसले एउटा आकार लिन्छ।

 

त्यहाँबाट अगाडि बढ्दै नीलसरस्वती मन्दिर, गैरीधारा, नारायणहिति दरबार संग्रहालय, तीनधारा मार्ग, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली, त्रिपुरेश्वर हुँदै कालमोचन घाटमा पुगेर टुकुचा खोल्सा बागमतीमा मिसिन्छ।

 

 

 

अर्का जलाधार विज्ञ मधुकर उपाध्या त टुकुचालाई खोल्सा पनि मान्दैनन्।

 

‘नेपालमा छ हजार नदीनाला छन् भनेर हामी भन्छौं। तिनैमध्ये टुकुचा एउटा नाला हो,’ काठमाडौंका बागमती, विष्णुमती लगायत देशभरिका नदी–खोलामाथि लामो अध्ययन–अनुसन्धान गरेका उपाध्या भन्छन्, ‘नदीभन्दा सानो खोला; खोलाभन्दा सानो र बर्खामा मात्र उर्लिने खहरे खोला; त्योभन्दा सानो हुन्छ नाला जुन काठमाडौंजस्तै ठूल्ठूला बस्तीको बीचबाट बग्छ। यसको स्रोत भनेको बर्खा र बस्तीभित्रको खुला जमिनबाट रसाउने पानी हो।’

 

यसरी भौगोलिक स्वरूप र उत्पत्तिका आधारमा टुकुचालाई खोल्सा वा नालाभन्दा बढी केही मान्न सकिँदैन।

 

यही खोल्सा पनि पहिलेजस्तो प्राकृतिक अवस्थामा छैन। शंखपार्कदेखि त्रिपुरेश्वरसम्म बग्ने क्रममा वरिपरिका घरहरूले आफ्नो ढल र फोहोर पानी टुकुचामा मिसाउँदै आएका छन् जसले यसको प्राकृतिक स्वरूप नष्ट गरिसकेको छ।

 

शंखपार्कदेखि कालमोचन घाटसम्म करिब छ किलोमिटर लम्बाइको यो खोल्सामा पहिले बर्खाको पानी र वरिपरिका जमिनबाट रसाउने पानी बग्थ्यो। अहिले वरिपरिका अधिकांश भूभागमा जमिन खाली छैन। चारैतिर कंक्रिट संरचना छन्। टुकुचाको जलाधार क्षेत्र करिब करिब मासिइसकेको छ। जलाधार क्षेत्र नै मासिएपछि भूमिगत पानी रसाएर खोल्सामा मिसिने क्रम पनि पहिलेजस्तो छैन।

 

बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।

 

त्यसैले सोझो रूपमा भन्दा टुकुचा भनेको सहरी ढलमा परिणत भइसकेको ‘मृ*त’ खोल्सा हो।

 

यो मृ*त खोल्सामा पहिलेजस्तो बाह्रै महिना कञ्चन पानी कलकल बग्न सम्भव छ त?

 

असम्भव भन्ने त केही छैन, किनभने खोल्सामा मिसिएको ढलको प्वाल थुन्ने र मेलम्चीको पानी ल्याएर हुल्ने हो भने कञ्चन पानी बगिहाल्छ। बर्खामा त यसै पनि बग्ने भइहाल्यो। वरिपरि हरियाली बनाउने र जलाधार क्षेत्र ब्युँताउने हो भने पनि पानी रसाउने क्रम सुरू हुन सक्छ।

 

तर यो जयनेपाल हलमा डोजर चलाउनुजस्तो सजिलो काम होइन।

 

यसका लागि शंखपार्कयता भएभरका बस्तीमा ढलको प्वाल थुन्दै खोल्सालाई प्राकृतिक स्वरूपमा फर्काउनुपर्छ। ढलको प्वाल थुन्ने भए ती बस्तीको ढल व्यवस्थापन कसरी गर्ने, त्यसको समाधान महानगरले दिनुपर्छ। वरिपरि जलाधार क्षेत्र निर्माण गर्न पनि धेरै समय र विस्तृत योजनाको खाँचो पर्छ। जयनेपाल हलको भूमिगत खण्ड डोजरले खोतलेर मात्र टुकुचा खोल्सा फर्किँदैन।

 

अब कुरा गरौं दोस्रो प्रश्नको- टुकुचा अतिक्रमण कहिलेबाट भयो? जयनेपाल हलको क्षेत्रमा टुकुचा जमिनमुनि हुल्ने काम पञ्चायतकालमा भयो कि राणाकालमै भयो?

 

जलाधार विज्ञ मधुकर उपाध्या ६८ वर्षका भए। उनी काठमाडौंका रैथाने हुन्। उनको जन्म पशुपतिको देउपाटन क्षेत्रमा भयो र उनी ज्ञानेश्वरमा हुर्के। नदी–खोलाको अनुसन्धान गर्ने मात्र होइन, उनले सानैदेखि काठमाडौं उपत्यकामा बग्ने नदी–खोला र खोल्सा आफ्नै आँखाले देख्दै–भोग्दै आएका छन्।

 

बागमती र विष्णुमतीमा कञ्चन पानी बगेको देखेका मधुकरका अनुसार टुकुचा खोल्सा उनी सानै हुँदादेखि ढलमा परिणत भइसकेको थियो। वरिपरिको घना बस्तीले आफ्नो घरको फोहोर टुकुचामा फाल्ने क्रम धेरै अघिदेखि सुरू भएको हो।

जयनेपाल हलको जुन आँगनमा महानगरले डोजर चलाएर भूमिगत खोल्साको प्वाल खोल्यो, त्यो ठाउँमा टुकुचा जमिनको सतहबाट बगेको पनि उनले कहिल्यै देखेनन्।

‘हामी सानो हुँदा नै जयनेपालमा फिल्म हेर्न जान्थ्यौं। अहिले जुन ठाउँमा महानगरले डोजर चलायो, हल छिर्ने बाटो त्यही थियो। त्यहाँ हामीले टुकुचा बगेको देखेनौं,’ उनले भने, ‘नारायणहितिबाट एकैचोटि काठमाडौं प्लाजानिर आएपछि मात्र बाहिर देखिन्थ्यो।’

उनलाई यो भूमिगत संरचना कहिले बन्यो भन्ने ठ्याक्कै थाहा छैन। तर पञ्चायतभन्दा अगाडि राणाकालमै यसलाई भूमिगत बनाइसकेको उनी अनुमान गर्छन्।

अर्का जलाधार विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गरेका अजय दीक्षित पनि आफूले सानो हुँदादेखि नै जयनेपाल हल आसपास टुकुचा खोल्सा नदेखेको बताउँछन्।

महानगरले डोजर चलाएर पानी बग्ने इँटाको जुन गुम्बज उत्खनन गरेको छ, त्यो संरचना हेर्दा राणाकालमै निर्माण भएको उनी आकलन गर्छन्।

उनका अनुसार काठमाडौं उपत्यकाका भित्री बस्तीमा ढल व्यवस्थापन गर्न राणाकालमै इँटाको गुम्बज निर्माण गरिएका थिए। अहिले पनि कतिपय ठाउँमा यस्तो संरचना भेटिन्छ जहाँ फोहोर पानी बग्छ। यस्तो इँटाको गुम्बजले माथिको जतिसुकै ठूलो भार धान्न सक्छ।

‘राणाकालमा काठमाडौंको ढल प्रणालीका लागि इँटाको गुम्बज बनाउने चलन थियो। जयनेपाल हलको आँगनमुनि भेटिएको संरचना हुबहु त्यस्तै छ,’ दीक्षित भन्छन्, ‘यहाँ पनि टुकुचाको पानी व्यवस्थापन गर्न गुम्बज बनाएर त्यसलाई भूमिगत रूपमा बगाइएको हुनसक्छ।’

जयनेपाल हलको इतिहास हेर्ने हो भने पनि यो सुरूङ संरचना कति पुरानो हो भन्ने खुल्छ।

अंग्रेजी पत्रिका ‘नेपाली टाइम्स’ को एउटा लेखअनुसार जयनेपाल हल आजभन्दा ७७ वर्षअघि खुलेको हो। सन् १९४५ मा धार्मिक बलिउड फिल्म ‘गणेश महिमा’ प्रदर्शन गरेर हलको औपचारिक सुरूआत भएको थियो। त्यसअघि यो ठाउँमा राणा प्रधानमन्त्रीहरूले गोही पाल्थे। गोही पालन अन्यत्र सारेर हल निर्माण गरिएको नेपाली टाइम्सले लेखेको छ।

यस आधारमा राणाकालमै गोही पाल्न र अन्य प्रयोजनका लागि सुरूङ खनेर टुकुचालाई जमिनमुनि पठाइएको थाहा हुन्छ। यही ठाउँमा पछि सिनेमा हल खुलेको र बिस्तारै बस्ती विकास हुँदै गएको देखिन्छ।

भूमिगत जलस्रोत विज्ञ पद्मसुन्दर जोशी पनि टुकुचा खोल्सा प्रदूषित हुने क्रम धेरै पुरानो भएको बताउँछन्।

‘काठमाडौंमा बग्ने नदी–खोलामध्ये सबभन्दा पहिला प्रदूषित भएको टुकुचा नै हो। बागमतीमा कलकल पानी बग्दा नै यो ढलमा परिणत भइसकेको थियो। राणाकालमा जब भित्री बस्तीका रैथानेलाई विभिन्न कारणले बागबजार, डिल्लीबजार, नक्साल लगायत ठाउँमा बसाइँ सारियो, त्यही बेलादेखि टुकुचा आसपास बस्ती विकास हुन थाल्यो। बस्ती बढ्दै गएपछि खोल्सा प्रदूषित हुँदै गयो,’ जोशीले भने।

ऐतिहासिक अभिलेख वा जनस्मरणमा नभेटिने कतिपय कुरा उखानतुक्कामा जीवित हुन्छ। टुकुचालाई फोहोरमैलासँग जोड्ने पुरानो चलन हो। कसैलाई हेपेर बोलाउनुपर्‍यो भने ‘कस्तो टुकुचाजस्तो मान्छे’ भनिन्छ। यो तुक्का सबभन्दा बढी राजनीतिक नेताहरूको निम्ति प्रयोग हुन्छ। नेताहरूलाई गाली गर्नुपर्‍यो भने ‘टुकुचामा बगाउनुपर्ने’ भन्ने कथन प्रचलित छ।

लामो समयदेखिको भोगाइका आधारमा बन्ने उखानतुक्काले मान्छेको अनुभव र सामाजिक स्थिति अवगत गराउँछ। यस आधारमा जसरी टुकुचा फोहोरमैलाको पर्याय बनेको छ, त्यसले पनि यसको प्रदूषण धेरै पुरानो हो भन्ने बुझाउँछ।

काठमाडौंका केही स्थानीयले सामाजिक सञ्जालमार्फत् अर्को एउटा सम्भावना व्यक्त गरेका छन्।

महेश्वर श्रेष्ठले आफ्नो फेसबुकमा स्थानीय किसानको आग्रहअनुसार दरबारले नै यो ठाउँमा सुरूङ बनाएर टुकुचा छोपिदिएको उल्लेख गरेका छन्।

‘काठमाडौंको तीनधारा पाठशालाबाट कमलपोखरी जाने बाटोमा पासिको अजिमाको शक्तिपिठ छ। टुकुचामा बाढी आउँदा नारायणहिति दरबारको मलमूत्र मिसिएको पानीले पासिको अजिमाको शक्तिपिठ बेलाबेला डुब्ने गर्थ्यो। त्यही भएर स्थानीय किसान र भक्तजनले राजाकहाँ बिन्ती चढाए। आफैंलाई पनि गनाउने भएकाले दरबारले गैरीधारा क्षेत्रदेखि कमलपोखरी चोकसम्म टुकुचालाई सुरूङ बनाएर छोपिदिएको हो,’ महेश्वर लेख्छन्।

उनले आफ्नो विवरणमा सुरूङ खन्ने काम कहिले सुरू भयो भनेर उल्लेख गरेका छैनन्। तर दरबारमा बिन्ती चढाएर सुरूङ खनिएकाले यो काम धेरैअघि भएको हो भन्ने देखिन्छ।

त्यस्तै ऐतिहासिक दस्तावेज तथा तस्बिरहरू सेयर गर्ने फेसबुक पेजमा मनोज मनुजले टुकुचाको यो सुरूङ राणाकालमै बनेको दस्तावेजसहितको विवरण सेयर गरेका छन्।

मनोज मनुजले फेसबुकमा सेयर गरेको दस्तावेज।

उनले सेयर गरेको विवरणअनुसार बिक्रम सम्बत् १९४९ मा राणा प्रधानमन्त्री वीरशमशेरको पालामा टुकुचापारि पटांगिनी अर्थात् खुला चउर बनाइएको थियो। यसका लागि इँटाको गुम्बज शैलीको सुरूङ बनाइएको देखिन्छ। यो भनेको आजभन्दा १ सय ३० वर्ष पुरानो हो।

करिब ५ सय मिटर लामो सुरूङ संरचनालाई मनोज मनुजले ‘राणाकालीन इञ्जिनियरिङ मास्टरपिस’ भनेका छन्। उनका अनुसार यसको डिजाइन र निर्माण तत्कालीन इञ्जिनियर जोगवीर स्थापितले गरेका थिए।

पञ्चायतकाल वा राणाकाल जहिले भए पनि एउटा कुरा स्पष्ट छ, यो कुनै व्यक्तिले गरेको काम होइन। कसैले व्यक्तिगत रूपमा यति व्यवस्थित ढंगले इँटाको गुम्बज बनाएर खोल्सालाई जमिनमुनि पसाउन सम्भव छैन। यो राणा प्रधानमन्त्री वा शाह राजाहरूले शासकीय निर्णयका आधारमा गरेको काम हो। अर्थात्, राज्यको निर्णयबाटै भएको हो।

यसरी तत्कालीन शासकको निर्णयका आधारमा सुरूङ खनेर टुकुचा छोपेको घटनालाई व्यक्तिगत अतिक्रमणसँग जोडेर गलत ‘न्यारेटिभ’ बनाउन मिल्दैन। तत्कालीन शासकहरूले सुरूङ खनेर गल्ती नै गरेका भए पनि त्यसको दोष अहिले त्यहाँ घर बनाएर बसिरहेका व्यक्ति वा संस्थामाथि थोपर्नु अनुचित हुनेछ।

यसबाहेक अन्य ठाउँमा जे–जति अतिक्रमण भएका छन्, त्यो पनि लामो कालखण्डदेखि हुँदै आएको घटना हो। यो त्यति बेलादेखि हुँदै आएको हो, जब नदी–खोला वा खोल्सामा ढल हुल्नुहुँदैन भन्ने चेतना विकास भएकै थिएन। यसका लागि कुनै निश्चित समूह वा बसोबासीलाई मात्र दोष थोपरेर गलत ‘न्यारेटिभ’ बनाउन नहुने जलाधार विज्ञ मधुकर बताउँछन्।

अब कुरा गरौं तेस्रो प्रश्नको- के पञ्चायतकाल वा राणाकालमा शासकबाट भएको गल्तीको भागीदार जनतालाई बनाउँदै टुकुचामाथि बनेका संरचना भत्काएर ह्वांग सतहमा ल्याउन सम्भव छ? यसको आर्थिक र सामाजिक लागत के हो? यसबाट हामीले के प्रतिफल पाउने?

महानगरले सुरू गरेको भूमिगत टुकुचा उत्खननका सन्दर्भमा सबभन्दा गहन प्रश्न यही हो।

खोल्सा जमिनमुनि हुल्ने काम तत्कालीन शासकहरूबाट भयो भन्नेबारे हामीले माथि चर्चा गरिसक्यौं। हुनसक्छ, त्यो सुरूङमाथिको भूभाग पहिले सार्वजनिक जग्गा थियो। समयक्रममा राजनीतिक साँठगाँठबाट व्यक्तिका नाममा लालपुर्जा बनाएर बिक्री गरियो होला। तर त्यो पनि धेरै पुरानो घटना हो।

मधुकर उपाध्याले सुनाएको बाल्यकालीन सम्झनाका आधारमा भन्दा पनि कम्तिमा ५०–६० वर्ष अघिदेखि यहाँ घरहरू बन्न थालिसकेका थिए। जयनेपाल हलबाट हात्तिसार हुँदै पुतलीसडकसम्म आउने बाटो खनेको राज्यले नै हो। यसबीच यहाँका जमिन धेरैचोटि किनबेच भइसकेको छ। सुरूमा जसले लालपुर्जा बनाएको भए पनि त्यो काम राज्यकै स्वीकृतिमा भयो। उसबाट ज–जसको स्वामित्वमा जग्गा हस्तान्तरण भयो, त्यसमा पनि राज्यकै स्वीकृतिको मोहर लागेको छ। त्यसबापत राज्यले मालपोत दस्तुर उठाएको छ, उठाइरहेकै छ।

अर्कातिर, यहाँ भूमिगत रूपले टुकुचा बग्छ भन्ने काठमाडौं महानगरलाई नै बल्ल थाहा भयो। त्यसअघि राज्यका कुनै निकायलाई यहाँ टुकुचा बग्छ भन्ने थाहा थिएन। राज्यलाई नै थाहा नभएको कुरा जग्गा किनबेच गर्ने र घर बनाउने जयनेपाल हल वा अरू कसैलाई थाहा हुने कुरै भएन। त्यसैले यहाँ कुनै पनि किसिमको भौतिक संरचना बनाउने व्यक्ति वा निकायलाई टुकुचा अतिक्रमण गरेको आक्षेप लगाउनु अनुचित हुन्छ।

एक त यो अतिक्रमण नै होइन, तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन हो। अर्कातिर, अतिक्रमण नै मान्ने हो भने पनि राज्यकै स्वीकृतिमा भएको हो र अहिले यहाँ घर बनाउनेहरू त्यही स्वीकृतिमा चलेका मात्र हुन्।

टुकुचा भूमिगत रूपमा बग्ने ४ सय ४० मिटरको खण्डमाथि हामीले ड्रोन चलाएर तस्बिर खिच्दा त्यहाँ थुप्रै घर बनेको देखिन्छ। व्यक्तिगत घरबाहेक विभिन्न संघ–संस्थाका भवन पनि छन्। सबभन्दा ठूलो कुरा त सरकारले नै बनाएको र सरकारी स्वामित्वमै रहेको काठमाडौं प्लाजा नै टुकुचामाथि बनेको छ। त्यहाँको पार्किङबाट तल हेर्दा टुकुचा बगिरहेकै देखिन्छ।

महानगरले भनेजस्तो यो भूमिगत खण्ड सबै खोतल्ने हो भने यहाँ बनेका सबै संरचना भत्काउनुपर्छ। जयनेपाल हल मात्र होइन, सरकारी स्वामित्वको काठमाडौं प्लाजा पनि भत्काउनुपर्ला।

अब मानौं, यहाँ बनेका कम्तिमा ५० वटा घर भत्काउनुपर्ने देखियो भने ती सबै संरचना भत्काउनुको लागत निकै ठूलो हुनेछ। ती जग्गा र घर अधिग्रहणबापत् अर्बौं रूपैयाँ राज्यले लगानी गर्नुपर्छ। महानगरले नै ६ अर्ब रूपैयाँ बराबरका संरचना भत्काउनुपर्ने भनेको छ।

यति मात्र होइन, यहाँ बसोबास गर्नेलाई उठिबास लगाउनुपर्छ जसको सामाजिक लागत आर्थिकभन्दा निकै ठूलो हुनेछ।

यसरी अर्बौं लगानी गरेर संरचना पन्छाएपछि हामीले त्यसबाट प्राप्त गर्ने भनेको ४ सय ४० मिटरको टुकुचा खोल्सा मात्र हो। के यो आर्थिक लागत र सामाजिक न्यायका हिसाबले उपलब्धिपूर्ण प्रतिफल हो?

‘राज्यले यस्तो काममा हात हाल्दा लगानीको प्रतिफल के हो भनेर ध्यान दिनुपर्छ,’ जलाधार विज्ञ मधुकर भन्छन्, ‘काठमाडौं महानगरले यहाँ गर्ने लगानीमा मैले तिरेको करको अंश पनि छ। चार सय मिटरको भूमिगत नाला खोलेर मैले तिरेको कर कसरी सदुपयोग भयो भनेर महानगरले मलाई विश्वास दिलाउनुपर्छ।’

उनले अगाडि भने, ‘अर्को हिसाबले यहाँका सबै घर भत्काएर अन्यत्र सार्नु भनेको अहिले यहाँ बसोबास गर्ने व्यक्तिलाई बिनाकसुर दण्डित गर्नु हो। विगतमा शासक वा कुनै व्यक्तिले गल्ती गरेका थिए भने त्यसको कसुरदार अहिलेका मान्छे कसरी हुन सक्छन्? उनीहरूले त्यसको सजाय किन पाउने?’

उनले यो पनि भने, ‘महानगरले यी संरचना भत्काउने भए त्योभन्दा अगाडि यहाँ जग्गा किनबेच गर्न अनुमति दिने सरकारी कर्मचारी, नापीनक्सा गर्ने कर्मचारी र घरको नक्सा पास गर्ने महानगरकै कर्मचारीलाई दण्डित गर्नुपर्‍यो। राज्यकै स्वीकृतिमा भएको काममा राज्यकै पदाधिकारीलाई उन्मुक्ति दिएर सर्वसाधारणलाई मात्र दण्डित गर्नु न्यायोचित होइन।’

 

लगानी र प्रतिफलको कुरा गर्दा महानगरले सार्वजनिक रूपले अत्यावश्यक शिक्षा, स्वास्थ्य, सार्वजनिक पार्क लगायत अरू धेरै क्षेत्रमा लगानी गर्न सक्ने प्रशस्त ठाउँ छन्। जग्गा अधिग्रहण गरेर खोल्सा खोल्ने पैसाले काठमाडौंका धेरै ठाउँमा पार्क बनाउन सकिन्छ। सार्वजनिक स्कुलको स्तरोन्नति र अस्पताल सुधार गर्न सकिन्छ।

नदी-खोला नै पुनर्स्थापना गर्ने महानगरको मनसाय हो भने आफ्नै मुहान भएको, बाह्रै महिना पानी बग्ने र अहिले ढल मिसिएर प्रदूषित बनेको बागमती, विष्णुमती, धोबीखोला लगायत उपत्यकाभित्रै छन्। यी नदी-खोला टुकुचाभन्दा सांस्कृतिक र जैविक रूपले पनि महत्वपूर्ण छन्। यिनको पुनर्स्थापना गर्ने काम बाँकी नै छ।

महानगरले यो काममा ध्यान दिए काठमाडौंको मुहार यसै खुल्छ। टुकुचाजस्तो खोल्सामा पैसाको खोलो बगाउनुपर्दैन।

‘महानगरसँग छेलोखेलो पैसा भएको होइन। उसको बजेट सीमित छ। उसले सीमित बजेट अत्यावश्यक क्षेत्रमा खर्च गर्नुपर्छ,’ पद्मसुन्दर भन्छन्, ‘अत्यावश्यक क्षेत्रहरूमा पर्याप्त काम भएपछि जब हामी सबै हिसाबले लगानी गर्न समर्थ हुन्छौं, त्यति बेला मात्र यस्तो काममा हात हाल्नु बुद्धिमानी हुन्छ।’

यतिले मात्र पनि टुकुचा खोल्ने उपादेयता पुष्टि हुँदैन। यसको उपादेयता तब मात्र पुष्टि हुन्छ जब टुकुचामा सफा पानी बग्न थाल्नेछ।

यहाँनिर आउँछ चौथो प्रश्न, के टुकुचाको भूमिगत सुरूङ खोलेर मात्र कलकल पानी बग्न थाल्छ? सबै संरचना भत्काएर पनि टुकुचा पुनर्स्थापना भएन र कलकल पानी बग्नुको साटो ह्वांग ढल मात्र बाँकी रह्यो भने के गर्ने?

हामीले माथि नै भनिसक्यौं, टुकुचा खोल्साको अहिलेको स्रोत भनेको बर्खाको पानी मात्र हो। त्यसबाहेक यहाँ घर–घरबाट निस्कने ढल मात्र बग्छ।

भन्नुको मतबल, सुरूङ खोलेपछि पनि टुकुचा खोल्सा पुनर्स्थापना हुन सक्दैन। खासमा भन्दा सुरूङ खोल्नु र नखोल्नुसँग टुकुचा पुनर्स्थापनाको कुनै सरोकारै छैन। किनभने सुरूङले टुकुचा फोहोर भएको होइन। टुकुचा फोहोर हुनुको कारण यहाँ मिसाइएको ढल हो। जबसम्म ढल मिसाउन रोकिँदैन, तबसम्म टुकुचामा सफा पानी बग्दैन। र, जबसम्म कञ्चन सफा पानी बग्दैन, महानगरको योजना कसैगरी पनि उपलब्धिमूलक ठहरिँदैन।

सफा पानी बगाउने नै हो भने महानगरले टुकुचाको माथिल्लो तहबाट सफा गर्दै आउनुपर्छ। सबभन्दा पहिला शंखपार्क, भाटभटेनी, बालुवाटार, नक्साल, गैरीधारा लगायत माथिल्लो भेगमा जति पनि ढल टुकुचामा मिसाइएका छन्, ती ढलको प्वाल बन्द गरिनुपर्छ।

माथिल्लो भेगको काम सकिएपछि तल्लो भेगमा पर्ने बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, थापाथली, त्रिपुरेश्वर लगायत ठाउँका ढल पनि टुकुचामा मिसाउन दिनु हुँदैन।

यति गरेपछि अर्को महत्वपूर्ण प्रश्न खडा हुन्छ। टुकुचामा बर्खे पानीबाहेक ढल मात्र बग्ने हुँदा ढल नै बन्द गरेपछि हिउँदमा के बग्ला? त्यतिखेर यो पूरै खोल्सा सुख्खा हुने त होइन? त्यसो भयो भने टुकुचाको निम्ति पचासौं घरमाथि महानगरले डोजर चलाउनुको फाइदा के? मान्छेलाई उठिबास लगाउनुको फाइदा के? अर्बौं खर्च गर्नुको फाइदा के?

‘ढल मिसाउने काम नरोकिएसम्म टुकुचा सफा हुँदैन। ढल रोक्नुअगाडि महानगरले ढल व्यवस्थापनको विकल्प पनि दिनुपर्छ। त्यसपछि बल्ल टुकुचामा बर्खा यामबाहेक अरू बेला के–कति पानी बग्छ भन्ने यकिन हुन्छ। यी सबै कुराको सांगोपांगो अध्ययनपछि मात्र टुकुचा पुनर्स्थापना योजना उपलब्धिपूर्ण हुन्छ कि हुँदैन थाहा हुनेछ,’ पद्मसुन्दरले भने।

अब कुरा गरौं पाँचौं प्रश्नको, के यो संरचना भत्काउनु पुरातात्विक हिसाबले सही छ?

कुनै पनि संरचना सय वर्षभन्दा पुरानो छ भने त्यसलाई भत्काउनु वा बिगार्नु हुँदैन भनेर पुरातात्विक सम्पदा संरक्षण ऐनले भन्छ। जयनेपाल हलको आँगनमा भेटिएको इँटाको गुम्बज राणाकालीन संरचना हुनसक्छ भनेर विज्ञहरूले भनेका छन्। हल निर्माणको इतिहासले यस्तै देखाउँछ। केहीले यो १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालामा निर्माण भएको पनि उल्लेख गरेका छन्। त्यस हिसाबले यो पुरातात्विक संरचनामा पर्छ र कानुनले यस्तो संरचना भत्काउन दिँदैन।

महानगरले पुरातात्विक महत्वका दृष्टिले यो संरचनाको विश्लेषण नगरी जथाभाबी डोजर चलाउनु भनेको कानुनले निषेध गरेको दण्डनीय कार्य हो। यसमा पुरातत्व विभागको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ।

पुरातात्विक महत्वको नभए पनि जमिनमुनि सुरूङ खनेर पानी बगाउने संरचना इञ्जिनियरिङ हिसाबले महत्वपूर्ण छ। यो आजको पुस्ता र भविष्यको पुस्ताका लागि पनि हेर्नलायक संरचना हो। यस्तो संरचना बिनाअध्ययन र सार्वजनिक बहस नै नगरी कुनै व्यक्तिको लहडमा जथाभाबी भत्काउनु उचित नहुने मधुकर उपाध्याको भनाइ छ।

‘पुरातात्विक संरचना भए त भत्काउनै भएन, नभए पनि भविष्यको निम्ति सुरक्षित गरिनु ठिक हो,’ उनी भन्छन्, ‘कतिपय कुरा हेर्नलायक हुन्छ। हाम्रा पुर्खाले कसरी जमिनमुनिबाट पानी बगाउँदा रहेछन् भनेर हेर्न र अध्ययन गर्न यो एकदमै चाखलाग्दो हुनेछ।’

उनका अनुसार कुनै पनि बृहत् योजनाको निर्णय गर्दा वा त्यसलाई कार्यान्वयनमा लैजाँदा प्राविधिक दृष्टिले मात्र हेर्नु हुँदैन। त्यसमा जोडिने सामाजिक, आर्थिक, पुरातात्विक लगायत अनेक आयामलाई विचार पुर्‍याउनुपर्छ।

‘कहिलेकाहीँ प्राविधिक दृष्टिले मात्र गर्ने काम समग्र सामाजिक हितका लागि प्रत्युत्पादक हुनसक्छ,’ उपाध्या भन्छन्।

जलाधार विज्ञ अजय दीक्षित पनि टुकुचा व्यवस्थापनको विस्तृत योजना नबनाई हचुवा पारामा काम गर्दा प्रत्युत्पादक हुनसक्ने बताउँछन्।

‘बागमती भनेको नदी प्रणालीमा आधारित सभ्यता हो। समयक्रममा हामी नदीबाट भूमि केन्द्रित हुँदै गयौं। नदी व्यवस्थापन भन्नेबित्तिकै अब सिंगो समाज व्यवस्थापनको कुरा जोडिएर आउँछ। वरपरको घना बस्ती व्यवस्थापनको कुरा जोडिएर आउँछ। ती सबैलाई समग्र रूपमा हेरेर दीर्घकालीन योजना नबनाई काम गर्नु हतारको निर्णय हुनसक्छ,’ उनले भने।

महानगरको टुकुचा उत्खनन अभियानसँग जोडिएका यस्ता अनुत्तरित प्रश्नहरूमा पर्याप्त बहस गरिनुपर्छ। यसमा साझा धारणा बनाएपछि मात्र उपयुक्त कदम के हो भन्ने टुंगो लाग्छ। पर्याप्त छलफल र योजनाबिना प्राविधिक आँखाले मात्र हेरेर डोजर आतंक मच्चाउनु भनेको ‘प्रोपोगान्डा’ हो। यसले आखिरमा महानगरलाई आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य पार्छ। मेयर बालेन शाहकै साख गिर्छ।

त्यति बेला ठूलो भौतिक, आर्थिक र सामाजिक क्षति भइसकेको हुनेछ। उपलब्धिविहीन ती क्षतिमा थकथकी मान्नुबाहेक अर्को विकल्प हुने छैन।

टुकुचा पुनर्स्थापना नै गर्ने अभिप्राय हो भने करिब ६ किलोमिटरको खोल्सामा साढे ५ किलोमिटर त खुला छँदैछ। भूमिगत सुरूङ खोतल्न डोजर चलाउने काम छाडेर अहिले जहाँ जहाँ सम्भव छ, त्यहाँ त्यहाँको पानी सरसफाइ गरे भयो। सम्भव भएका ठाउँमा पार्क पनि बनाए भयो। ती ठाउँमा काम गरेर देखाएपछि र त्यहाँ कलकल पानी बगाइसकेपछि बल्ल महानगरले सबैको विश्वास जित्न सक्नेछ।

वा, बागमती, विष्णुमती, धोबीखोलामा गर्नैपर्ने ठूलो काम त छँदैछ। अहिलेलाई त्यहीँबाट सुरू गरे भयो।

२०७९ आश्विन १, शनिबार प्रकाशित 1 Minute 24 Views

ताजा समाचार