२०८० जेष्ठ १९ शुक्रबार

वैदेशिक रोजगारीमा गएर विदेशी भूमीमा समस्यामा पर्नुभयो ? अब यसरी सिधै गर्नुस् सरकारलाई सम्पर्क

वैदेशिक रोजगारीमा गएर विदेशी भूमीमा समस्यामा पर्नुभयो ? अब यसरी सिधै गर्नुस् सरकारलाई सम्पर्क

काठमाडौ । वैदेशिक रोजगारीका लागि विदेश गएर समस्यामा पर्नु भएको छ भने अब नेपाल सरकारले त्यस्ता नेपालीहरुको गुनासो सुन्ने कल सेन्टर स्थापना गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु समस्यामा परेको धेरै गुनासो आएपछि त्यसलाई समाधान गर्न सरकारले यस्तो पहल गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

फोनको सुविधान भएकाहरुले सामाजिक सञ्जालका अन्य माध्यमवाट पनि आफ्नो गुनासो टिपाउन सक्नेछन् । आएको गुनासोका आधारमा थप कदम चालिने मन्त्रालयले जनाएको छ । २४ सै घण्टा सेवा उपलब्ध हुने कल सेन्टरको आइतबार मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको सो गुनासो सेन्टरलाई प्रभावकारी बनाउन मन्त्रालयमा नै राखिएको हो । अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले जनाएको छ ।

कल सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहीले गुनासो टिपाउन सक्नेछन् । मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्नेछ । जानकारी तथा गुनासोका लागि स्वदेश र विदेशबाट निशुल्क फोन, भाइवर, फेसवुकलगायत बिभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्री श्रेष्ठले बताए ।

आएका समस्या तथा गुनासोहरुलाई प्राथमिकिकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने उनले जानकारी दिए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाए ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 0 Minutes 67 Views