
गत फागुनदेखि नेपाली बजारमा आएको यो स्टार्टअप ‘म्याट्रिमोनियल एप’ का रूपमा परिचित छ । एपका संकल्पकार हुन् दिदीबहिनी श्रद्धा र श्रेया कटवाल । एप सुरू गरेको छोटो समयमै बिहे नेपालले राम्रो सङ्ख्यामा प्रयोगकर्ता पाएको छ ।
के हो बिहे नेपाल ?
याे नेपालीहरू लाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको एप हो । कुनै पनि महिला, पुरुष वा समलिङ्गी आफूले बिहे गर्नुपर्यो भने प्रयोग गर्नसक्ने डिजिटल माध्यम हो । याे एप जोकोहीले पनि अकाउन्ट बनाएर प्रयोग गर्न सक्छन् ।
सात महिनामा ५० हजार बढी प्रयोगकर्ता कुनै पनि स्टार्टअपले छोटो समयमा ‘उत्साहजनक उचाइ’ लिनु राम्रो पक्ष हो ।
‘बिहे नेपाल’ले सार्वजनिक भएको सात महिनाको समयावधिमा ५० हजार बढी प्रयोगकर्ता पाइसकेको छ । एप आधिकारिक तवरले सार्वजनिक नहुँदा नै एपमा तीन हजार बढी प्रयोगकर्ता जोडिएको श्रेयाले सुनाइन् । “एपकाे बेटा भर्सनमा नै तीन हजार बढी प्रयोगकर्ता जोडिनुभएको थियो,” सुरूवाती पल सम्झिँदै श्रेयाले भनिन्, “हामीले देशमै पहिलो पटक नयाँ प्रकृतिको काम गर्न लागिरहेका थियौँ । यसलाई विश्वास गर्नेभन्दा पनि यसलाई मजाकका रूपमा लिने बढी भेटिन्छन् भन्ने सोचेका थियौँ । तर, नतिजा फरक आइदियो । हामीले अनपेक्षित साथ र सुझाव पायौँ । जसले गर्दा अगाडि बढाउन सकिन्छ भन्ने सोच आयो ।”
प्रयोगकर्ता बढी भए पनि प्रयोगकर्ताको वर्गको सन्तुलन भएको थिएन । त्यसमा पनि महिलाभन्दा पुरुष एकदमै धेरै थिए । “महिलाहरू समाजमा अझै पनि खुल्न सकिरहेका छैनन् । सायद विवाह जस्तो कुरामा खुलेर बोल्न सक्ने थोरै भएकाले महिला प्रयोगकर्ताको सङ्ख्या पनि थोरै थियो,” श्रद्धा भन्छिन् ।
उनीहरूले अनपेक्षित रूपमा प्रयोगकर्ता बढेको पाएपछि उक्त सङ्ख्या व्यवस्थापन गर्न विभिन्न विज्ञहरूसँग सल्लाह लिए ।
लगानी र आम्दानीको आधार
यो एपलाई यहाँसम्म पुर्याउन ४० लाखभन्दा बढी लगाी भइसकेकाे उनीहरू सुनाउँछन् । “पहिले हामीले सामाजिक कार्यका लागि यसलाई विकास गर्ने योजना बनाएका थियौँ । यसलाई व्यवस्थापन गर्न थुप्रै खर्च लाग्ने रहेछ । त्यसैले पछि ‘भीआईपी क्लब’ जस्ता परियोजना ल्याएका छौँ,” श्रेयाले भनिन् ।
बिहे नेपालको भीआईपी क्लब योजना केही समयअघि मात्र सार्वजनिक भएको हो । विभिन्न देशमा रहेका नेपालीबाट माग भएपछि यो फिचर ल्याएको उनकाे भनाइ छ । “हामीले आम्दानीको कुनै न कुनै मोडेल ल्याउनु नै थियो । प्रयोगकर्ताले यो सेवाको अत्याधिक माग गर्नु भएपछि बिहे नेपाललाई भीआईपी क्लबद्वारा रेभिन्यु मोडेलमा जोडेका हौँ,” उनले भनिन् ।
वैवाहिक कुरासँग जोडिने विभिन्न सेवाहरू जोडेर भविष्यमा त्यसैबाट आम्दानीको गर्ने याेजना उनीहरूले ल्याएका छन् । प्लेटफर्मलाई भरपर्दो र विश्वसनीय बनाउन र त्यही अनुसारको व्यवस्थापन गर्नुपर्ने भएकाले यसमा आम्दानीका लागि बिहे नेपाल ब्ल्याक कार्ड’ जस्ता सेवा समावेश गरिएको उनीहरूको भनाइ छ ।
कसरी दिइरहेको छ सेवा ?
बिहे नेपाल जोडी मिलाइदिने प्लेटफर्म मात्र नभएर साथी तथा प्रेमी, प्रेमिका खोजिदिने प्लेटफर्म पनि हो । कम्पनीको ट्यागलाइन नै ‘बी फ्रेन्ड, डेट एन्ड म्यारी’ रहेको छ । अर्थात् साथी बन्नुहोस्, डेट जानुहोस् अनि बिहे गर्नुहोस् ।
यसमा साथी आवश्यक पर्नेले साथी खोज्न सक्छन्, डेट जान चाहनेले प्रेमी/प्रेमिका र बिहे गर्न चाहनेले बेहुला/बेहुलीले पाउन सक्छन् ।
‘बिहे नेपाल’मा कसरी जोडिन सकिन्छ?
बिहे नेपाल सबै वर्गका लागि तयार पारिएको एप हो । यसमा जोडिएर जोकोहीले पनि आफूलाई उपयुक्त हुने साथी, प्रेमी वा जीवनसाथी खोज्न सक्छन् । सामान्य फिचरका लागि यो सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ भने केही प्रिमियम फिचरका लागि शुल्क तिर्नुपर्ने हुन्छ । सामान्य प्रयोगकर्तालाई कुनै शुल्क तोकिएको छैन । तर, भीआईपी क्लबको मेम्बर बन्न चाहने प्रयोगकर्ताले भने वार्षिक १५ हजार, ६ महिनाको १० हजार र असीमित समयका लागि एकमुस्ट ४९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ
सामान्य प्रयोगकर्ताको अकाउन्ट भेरिफाई गर्नका लागि उनीहरूले फेस रिकग्निजेसनमा सेल्फी फोटो खिच्न पर्ने हुन्छ । र सो अनुसारसँग मिल्ने फोटो प्रोफाइलमा राख्नु पर्ने हुन्छ । यसरी राखेको फोटो लक हुन्छ र सो अकाउन्ट नक्कली होइन भन्ने पुस्टि हुन्छ ।
तर, भीआईपी क्लबका सदस्यले भने आफ्नो प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र राखेर भेरिफाई गर्नुपर्ने हुन्छ । यसकारण भीआईपी क्लबमा प्रवेश गर्ने प्रयोगकर्ता सबै आधिकारिक प्रयोगकर्ता रहने श्रेयाको भनाइ छ ।
सुरक्षाका लागि प्रयोगकर्ता आफै सचेत हुनपर्ने प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्नका लागि कम्पनीले थुप्रै कुरामा काम गरेको श्रद्धाको भनाइ छ । “हामी पूर्ण रूपमा प्रयोगकर्ताको गोपनियताको सम्मान गर्छौँ,” श्रद्धा भन्छिन्, “यसमा गोपनीयताको कुरा बढी आउने भएकाले हामीले प्रयोगकर्ताको अगाडिको नामको पहिलो अक्षर मात्र राख्ने गरेका छौँ ।”
यो एप सञ्चालन गर्नुको मुख्य उद्देश्य नै जोडी मिलाइदिने भएकाले कोहीसँग कुरा मिलेपछि भेट्न जानु स्वभाविक हो । तर, भेट्न जाँदा पहिलो पटक आफूले कुनै साथी लिएर सार्वजनिक ठाउँमा भेट्नु पर्ने श्रद्धाको भनाइ छ । त्यस्तै कुरा भएकै भरमा आफ्नो सामाजिक सञ्जालको अकाउन्ट, फोन नम्बर वा अन्य विवरण नदिन उनी सुझाव दिन्छिन् ।