२०८० जेष्ठ १९ शुक्रबार

करिश्माका पाँच तर्क : यी कारण भुवन केसी ‘प्रेमगीत ३’लाई सघाउन खुल्नुपर्छ

करिश्माका पाँच तर्क : यी कारण भुवन केसी ‘प्रेमगीत ३’लाई सघाउन खुल्नुपर्छ

काठमाडौं । अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर ‘प्र्रेमगीत ३’ र विकास बोर्ड विवादमा प्रेमगीततर्फ खुलेकी छन् । फेसबुकमा लामो सन्देश लेख्दै उनले ‘प्रेमगीत ३’ लाई सघाउनुपर्ने पाँच कारण प्रस्तुत गरेकी छन् ।

उनको यो लामो स्टाटस चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई दिइएका सुझावको रुपमा पनि लिन सकिन्छ ।

नेपाली फिल्म विश्व बजारमा पुग्न नसकिरहेको अवस्थामा नेपालीको लगानी भएको, नेपालकै सुन्दर दृश्यहरु समेटिएको, नेपालकै कथामा बनेको चलचित्र, नेपाली प्राविधिकले काम गरेको लगायतका तर्क उनले पेस गरेकी छन् ।

यी विविध कारण फिल्मलाई सघाउन समेत करिश्माले बोर्डलाई सुझाएकी छन् । यति मात्र होइन, प्रेमगीत ३ लाई अंग्रेजी, चिनियाँ, इटालियन, जापानी र कोरियाली भाषामा समेत स्वरांकन गर्नुपर्ने करिश्माको सुझाव छ ।

करिश्मा लेख्छिन्–

कहिलेकाहीं नबोलु भन्दा पनि बोल्नुपर्ने रहेछ ! सही बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृतसरह मानेर सहेको छु । झन् विषय आफूलाई कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ ।

समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रोसँग थाहा छ ।

सन्दर्भ ‘प्रेमगीत ३’

मेरो विचारमा यो चलचित्र कुनै भाषा त के ‘मुक’ चलचित्र भए पनि विवादरहित भएर सबैको साथ र सहयोग पाउनुपथ्र्यो । यसै पनि नेपाली चलचित्र विश्व बजारसम्म नपुगेको वर्तमान अवस्थामा नेपालीले नेपाली पैसा लगानी गरेको यो चलचित्र, नेपालकै सुन्दर दृश्यहरु समेटेको यो चलचित्र, नेपालकै कथामा बनेको चलचित्र, नेपाली टेक्निसियनहरुले काम गरेको यो चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वरांकन गर्‍यो त के नराम्रो भयो ?

भाषा एउटा माध्यम हो तिनले हाम्रो भाषा बुझ्दैनन् त्यसैले सो कार्य गरियो होला । ठीक छ तपाईंको विधानमा या नियममा त्यस्तै प्रावधान होला विदेशीभाषी चलचित्रलाई निश्चित प्रतिशत कर लगाउने !!

लगाउनुस् तर त्यत्रो लगानी भएको चलचित्रलाई तोकेको समयमै चलचित्र हलमा लगाउनका लागि सघाउनु पर्दैन ?

अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको के हाल हुन्छ, यो उहाँ विज्ञहरुलाई जति अरु कसलाई थाहा होला ।

अझ मेरो सुझाव त के छ भने, यदि ‘प्रेमगीत ३’ त्यति स्तरीय बनेको छ र नेपाली चलचित्र भनेर अन्तर्राष्ट्रिय रुपमा देखाउने क्षमता राख्छ भने यो चलचित्रलाई विभिन्न भाषा अंग्रेजी, चाइनिज, इटालियन, जापानी, कोरियन… सबै भाषामा स्वरांकन गर्नुपर्छ र संसारभरि नै देखाउनुपर्छ ।

यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ । आखिर विकास बोर्ड त्यसकै लागि स्थापना भएको हो । यो संस्थाले चलचित्रकर्मीहरुको मुस्किलको गाँठो फुकाउने हो । नियमहरु हामीले नै निर्माण गरेका हौं र आफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमलाई परिमार्जन गर्न पनि सक्नुपर्छ ।

रह्यो राष्ट्रियता र विदेशी चलचित्रलाई गर्नुपर्ने नियमको कुरा ।

नेपाली चलचित्र क्षेत्रले हरदम राष्ट्रको पक्षमा मुलुकलाई चिनाउने काम गरेको छ । नेपालमा काम गर्ने उपकरण नहुँदा पनि त्यही छिमेकी मुलुकका उपकरण प्रयोग गरेर नेपाली चलचित्र बनाएर यो क्षेत्रको जग हालेको छ । मुलुकको लाखौं नागरिकलाई रोजगारी दिएको छ ।

हामी चलचित्रकर्मीले निजी स्वार्थबाट उठेर यो क्षेत्रलाई अगाडि लैजानुपर्छ । यो विवाद यसरी आउनु हुँदैन । तर विदेशी लगानी र विदेशी चलचित्रहरुलाई पक्कै पनि त्यही अनुरुपको कानुन भने निर्माण गरिनुपर्छ ताकि नेपाली चलचित्र अन्यायमा नपरोस् ।

हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने अनि त्यहीनिर नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा स्वरांकन हुँदैमा किन यस्तो जटिल भएको ?

करिश्मा माननधर प्रेमगीत ३ भुवन केसी

२०७९ आश्विन ५, बुधबार प्रकाशित 0 Minutes 105 Views