२०७९ चैत्र १८ शनिबार

शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना (तस्बिरसहित)

काठमाडाैँ- मानवअधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा रुसलाई युक्रेनमाथिको आ*क्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित धर्ना प्रदर्शन गरेको छ।

काठमाडाैँस्थित रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरूले रुस : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस: युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, रुस : युद्ध रोक, शान्ति प्रवर्द्धन गर, रुस : युक्रेनमाथि आ*क्रमण बन्द गरजस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा, किरण ढकाल, पूर्व उपसभापति रेनुका पौडेललगायत तीन दर्जन शान्तिवादीहरूको सहभागिता थियो।

धर्नापश्चात् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी राजदूतासवासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो।

पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्नका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै असोज ५ गते शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरूले धर्ना प्रदर्शन गरेका छन्।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो।

अहिंसा र युद्धविराममार्फत् शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रूपमा विश्वभरि शान्ति दिवस मनाउने गरिन्छ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 1 Minute 37 Views