२०७९ आश्विन २१ शुक्रबार

नेपाली युवकले दुबईमा जिते ३४ करोड रुपैयाँको चिठ्ठा

काठमाडौं । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहको गल्फन्यूजले जनाएको छ ।

मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई बर्षदेखि चिठ्ठा काटिरहेका थिए । अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन ।

‘म त निकै खुसी छु’ उनले भने- शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच बर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ’ भरतले भने । तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा थिए ।

मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीहरुले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए ।

‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्’ सीईओ सामजीले भने ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 1 Minute 104 Views

ताजा समाचार