
नेपाललाई हराउने बंगलादेशी महिला फुटबल टिमलाई बीसीबीले ५० लाख टाका दिने
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिमलाई नगद ५० लाख बंगलादेशी टाका पुरस्कार दिने घोषणा गरेको छ ।
सोमबार काठमाडौंको दशरथ रंगशालामा भएको छैटौं संस्करणको साफ फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो ।
बीसीबीका अध्यक्ष तथा सांसद नजमुल हसनले महिला फुटबलरको सफलताको प्रशंसा गर्दै ऐतिहासिक उपलब्धीले सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।
‘महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ । उनीहरूको प्रयासको लागि हाम्रो प्रशंसा र समर्थनको रुपमा बीसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका घोषणा गर्दैछु,’ हसनले भने, ‘मलाई कुनै शंका छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ ।’
बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा पाँच पटकको च्याम्पियन भारत र घरेलु टोली नेपाललाई समेत पहिलो पटक हराएको थियो ।
प्रतियोगिभर बंगलादेशले अपराजित रहँदै उपाधि जित्दा २३ गोल गर्यो भने जम्मा १ गोल व्यहोरेको थियो ।