२०७९ आश्विन २१ शुक्रबार

पुरातत्वले टुकुचा सुरूङमा भेट्यो ‘श्री ३ वीर’ लेखिएको इँटा

पुरातत्वले टुकुचा सुरूङमा भेट्यो ‘श्री ३ वीर’ लेखिएको इँटा

टुकुचा खोल्सा जमिनमुनि बगाउन हात्तीसार क्षेत्रमा निर्माण गरिएको भूमिगत सुरूङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणका साथै सुरूङको बनोट र संरचनाबारे थप विवरण पुरातत्व विभागले पत्ता लगाएको छ।

काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा कसैले पनि भत्काउन–बिगार्न नपाइने कानुनविपरीत जथाभाबी डोजर चलाउन थालेपछि पुरातत्व विभागले विज्ञ समिति गठन गरेर अध्ययन गरेको हो।

पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा बनेको विज्ञ समितिले हात्तीसार क्षेत्रमा महानगरले डोजर चलाएका सबै ठाउँको स्थलगत भ्रमण गरी भौतिक अध्ययन गरेको छ।

‘अहिलेसम्मको अध्ययनबाट टुकुचा जमिनमुनि बगाउन निर्माण गरिएको सुरूङ राणाकालीन महत्वपूर्ण सम्पदा हो भन्ने पुष्टि हुन्छ,’ पुरातत्वविद् ज्ञवालीले शुक्रबार सेतोपाटीसँग भने, ‘सय वर्षभन्दा पुरानो संरचना भएकाले यो पुरातात्विक सम्पदाको श्रेणीमा पर्छ।’

पुरातत्व विभागको टोलीले डोजर खनिएका ठाउँमा भूमिगत सुरूङ तलैसम्म गएर अध्ययन गरेको थियो। उनीहरूले त्यहाँ प्रयोग भएका इँटाको नमूना लिएर त्यसको लम्बाइ, चौडाइ र मोटाइ नापेका छन्।

परम्परागत इँटा र सुर्कीचुना प्रयोग गरेर गुम्बज शैलीमा निर्माण गरिएको भूमिगत सुरूङमा दुई किसिमका इँटा प्रयोग भएको पाइएको छ।

माथिल्लो तहको इँटामा ‘श्री ३ वीर’ भनेर कुँदिएको छ। यो आफैंमा एक ‘महत्वपूर्ण अभिलेख’ भएको ज्ञवाली बताउँछन्। यसले उक्त सुरूङ वीरशमशेरकै पालामा बनेको प्रमाणित गर्छ। ‘श्री ३ वीर’ कुँदिएका ती इँटाको लम्बाइ २२ सेन्टिमिटर, चौडाइ १२ सेन्टिमिटर र मोटाइ ७ सेन्टिमिटरको छ।

योभन्दा तल्लो तहमा अलि सानो आकारका इँटा छन् जसको लम्बाइ २० सेन्टिमिटर, चौडाइ १२ सेन्टिमिटर र मोटाइ ५ सेन्टिमिटर छ। यी इँटामा ‘श्री ३ वीर’ उल्लेख छैन। तर यी इँटा काठमाडौंमा परम्परागत रूपले प्रयोग हुँदै आएका ‘माआपा’ इँटा हुन्। मल्लकालमा बनेका संरचनामा पनि यस्तै इँटा प्रयोग भएको पाइन्छ।

यस आधारमा उक्त भूमिगत सुरूङ राणाकालभन्दा अगाडि नै थियो कि भनेर हामीले ज्ञवालीलाई सोध्यौं।

जवाफमा उनले भने, ‘अभिलेख उल्लेख नभएका इँटा कहिलेका हुन् भनेर यकिनसाथ भन्न त्यसको वैज्ञानिक परीक्षण नै गर्नुपर्छ। तर यहाँ सुर्कीचुना प्रयोग गरेर इँटाहरू जोडिएका छन्। इँटाहरूबीचको जोडाइ हेर्दा सुरूङको तल्लो तह पनि राणाकालीन नै हो भनेर भन्न सकिन्छ।’

यस्तो जोडाइ राणाकालीन संरचनाहरूमा मात्र फेला परेको ज्ञवालीले बताए। त्यस्तै इँटाको यस्तो गुम्बज संरचना २००७ सालपछि बनेको पाइएको छैन।

पुरातत्वविदहरूको टोलीले टुकुचा खोल्सा बग्ने भूमिगत सुरूङको बनोट र संरचनाबारे थप विवरण पनि फेला पारेको छ।

नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्‍याइएको छ। त्यसैले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।

तर जयनेपालको आँगनदेखि काठमाडौं प्लाजासम्मको सुरूङको गहिराइ एकनास छैन। यो सुरूङ तह–तह (स्टेप–स्टेप) मा बाँडिएको छ। अघिल्लो तहको तुलनामा पछिल्लो तह झन् झन् गहिरो हुँदै जान्छ। जयनेपालको आँगनमा फेला परेको सुरूङ जमिनको सतहभन्दा १५ फिटमुनि छ भने त्यहाँभन्दा तल टेम्पल ट्रीको आँगनमा फेला परेको सुरूङ झन्डै २० फिट गहिरो छ।

अर्को महत्वपूर्ण तथ्य के हो भने, तह–तहमा बाँडिएको सुरूङ जयनेपालदेखि काठमाडौं प्लाजासम्म एकसरो निर्माण भएको छैन। सुरूङ बीच–बीचमा टुट्छ। टुटेको ठाउँमा टुकुचाको पानी छांगाजस्तो खस्छ र फेरि अर्को तहको अझ गहिरो सुरूङभित्र पस्छ।

यसलाई सजिलोसँग व्याख्या गर्दा जयनेपालको आँगनमा बनेको १५ फिट गहिरो सुरूङको प्वाल टेम्पल ट्रीनिर पुगेपछि खुल्छ। त्यहाँ टुकुचाको पानी छाँगाजस्तो तल खस्छ र करिब २० फिट गहिरोमा बनेको अर्को सुरूङको प्वालभित्र पस्छ।

यही क्रमअनुसार भूमिगत सुरूङको अन्तिम प्वाल काठमाडौं प्लाजाको पार्किङमा पुगेर खुल्छ।

‘काठमाडौं प्लाजामा गएर हेर्नुभयो भने त्यहाँ टुकुचाको पानी छांगाजस्तो खसेको देखिन्छ,’ ज्ञवालीले भने, ‘त्यहाँ जस्तो खालको स्टेप–स्टेप (तह–तह) संरचना देखिन्छ, माथि पनि सुरूङको बनोट त्यस्तै छ।’

उनले अगाडि भने, ‘टेम्पल ट्री’ नेर सुरूङ खनेको ठाउँमा गएर ध्यान दिएर सुन्ने हो भने पानी छाँगाजस्तो खसेको सुनिन्छ।’

पानीको आवाज सललल बग्दा एक किसिमको हुन्छ भने छाँगाजस्तो खस्दा अर्को किसिमको हुन्छ। जयनेपालको आँगनमा सुरूङभित्र सलल बगेको पानीको आवाज र ‘टेम्पल ट्री’ नेर छाँगाजस्तो खसेको पानीको आवाज एकदमै भिन्न छ। यही आधारमा पुरातत्वले सुरूङको बनोट पत्ता लगाएको हो।

पुरातत्व विभागले महानगरले चलाएको डोजरबाट राणाकालीन भूमिगत सुरूङको संरचनामा के–कस्तो भौतिक क्षति पुगेको छ भन्ने पनि अध्ययन गरिरहेको छ।

महानगरले पुरातत्वलाई सूचना नदिई र कुनै समन्वय नै नगरी एकतर्फी रूपमा उत्खनन गरेको थियो। पुरातात्विक सम्पदा स्थलहरूमा डोजर चलाउन पाइँदैन। यस्तो ठाउँ खन्नुपरेको अवस्थामा हातले मिहिन काम गर्नुपर्छ। डोजरका बलिया नंग्राले कोपर्दा भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यो संरचनाको कालिगढी र इञ्जिनियरिङलाई प्राविधिक रूपले समेत खल्बल्याउँछ। कम्तिमा १३० वर्षअघि बनेको संरचना ठाउँ–ठाउँ कोपर्दा त्यसको भारवहन क्षमतामा ह्रास आउन सक्ने पुरातत्वविदहरू बताउँछन्।

‘महानगरले अस्तव्यस्त तरिकाले भत्काएको छ। उनीहरूले यहाँ हात हाल्नुभन्दा अगाडि पुरातत्वसँग सोध्नुपर्थ्यो र समन्वय गर्नुपर्थ्यो,’ ज्ञवालीले भने, ‘भूमिगत रूपमा बग्ने टुकुचालाई जमिनको सतहमा खोल्ने नाममा जथाभाबी डोजर चलाउँदा संरचनामा असर परेको छ।’

यस्तो अस्तव्यस्त उत्खननले आगामी दिनमा थप भौतिक र मानवीय क्षति निम्त्याउने जोखिम रहेको उनले बताए।

ज्ञवाली संयोजकत्वको टोली अहिले प्रतिवेदन लेख्ने क्रममा छ। समितिले प्रतिवेदन दिइसकेपछि पुरातत्व विभागले त्यसै आधारमा महानगरसँग पत्राचार गर्नेछ।

‘अहिले प्रतिवेदन त आइसकेको छैन तर हामी पुरातात्विक सम्पदा संरक्षण ऐनअनुसार आजभन्दा सय वर्षअघि राणाकालमा बनेको यस्तो संरचनालाई मौलिक स्वरूपमै संरक्षण गर्नुपर्छ भनेर प्रतिवेदनमा उल्लेख गर्दैछौं,’ विज्ञ समितिका अर्का एक सदस्यले सेतोपाटीसँग भने, ‘जहाँसम्म माथिको भूभागको जग्गा र त्यहाँ बनेका संरचनाको सवाल छ, त्यसबारे राज्यले नै सरोकारवालाहरूसँग बृहत् छलफल गरेर निर्णय लिनुपर्छ।’

यस्तो सम्पदा कसैले बिगार्न वा भत्काउन नहुने उल्लेख गर्दै ज्ञवालीले अगाडि भने, ‘यसलाई अब पुरातत्व विभागको निगरानीमा मौलिक स्वरूप र शैलीमै संरक्षण गर्नुपर्छ।’

काठमाडौं महानगरले जयनेपाल हलको आँगनदेखि कमलादीसम्म आधा दर्जन ठाउँमा डोजर चलाएको छ। तीमध्ये तीन ठाउँमा भूमिगत सुरूङ खनिएको छ जहाँ टुकुचा बगिरहेको देखिन्छ। सुरूमा जयनेपालको आँगनमा खन्दा भूमिगत सुरूङ फेला परेको थियो। त्यसपछि सिद्धार्थ बैंक पछाडिको पार्किङको जग्गामा सुरूङ भेटियो। यसबाहेक प्रकाशराज मानन्धरको निजी स्वामित्वको जग्गामा पनि सुरूङ फेला परेको छ। अन्य ठाउँमा भने सुरूङको संरचना भेटिएन। कहीँ कहीँ डोजरले खोस्रेर मात्र छाडेको छ।

यसरी जथाभाबी डोजर चलाएर महानगरले वर्षौंअघि जग्गा किनेर बसोबास गर्दै आएका नागरिकको निजी सम्पत्तिको हक उल्लंघन गरेको भन्दै हात्तीसारका स्थानीयले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए। यसमा अदालतले असोज २६ सम्मका लागि अन्तरिम आदेश जारी गरेको छ। असोज २६ गते दुवै पक्ष डाकेर छलफल गरेपछि थप निर्णय हुनेछ।

भूमिगत सुरूङको भौतिक अध्ययनका साथै पुरातत्व विभागले सुरूङसँग जोडिएका दस्तावेज र कागजपत्रहरू पनि खोजबीन गरिरहेको छ।

राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एउटा दस्तावेज अमेरिका बस्ने इञ्जिनियर मनोज मनुजले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए।

काठमाडौं महानगरले हात्तीसारमा डोजर चलाएको भोलिपल्टै मनोज मनुजले ऐतिहासिक दस्तावेज तथा तस्बिरहरू सेयर गर्ने फेसबुक पेजमा टुकुचाको सुरूङ राणाकालमै बनेको दस्तावेजसहितको विवरण सेयर गरेका थिए। उनले सेयर गरेको दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।

हामीले मनोज मनुजसँग सम्पर्क गरेर उक्त दस्तावेजको सबै विवरण पढ्दा सुरूङ खनिएको भूभागको जग्गा वीरशमशेर राणाको पालामा प्रतिरोपनी दुई सय रूपैयाँका दरले अधिग्रहण गरिएको उल्लेख छ। जग्गा अधिग्रहण क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नूसमेत भनिएको छ।

पुरातत्व विभागले वीरशमशेरको छाप लागेको यो दस्तावेजलाई ‘आधिकारिक र महत्वपूर्ण अभिलेख’ भनेको छ।

यही अभिलेखमा टेकेर भूमिगत सुरूङ निर्माणसँग जोडिएका अन्य विवरण तथा दस्तावेज खोज्ने काम भइरहेको ज्ञवालीले जानकारी दिए। विभागले आफ्नै संकलनमा भएका दस्तावेज र अन्य स्रोतहरूबाट पनि खोजबीन गरिरहेको छ।

अहिलेसम्म फेला परेका सामग्रीको अध्ययनबाट हात्तीसार क्षेत्रमा वीरशमशेर राणाले थुप्रै दरबार र महलहरू बनाएको र तिनै दरबारको आँगनबाट बग्ने टुकुचालाई जमिनमुनि बगाएर माथिल्लो भागमा खुला आँगन निर्माण गरेको देखिन्छ।

बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।

उनले १९४३ फागुनमा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराएका थिए। त्यसैको आसपास एकपछि अर्को थुप्रै दरबार निर्माण गराए जसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको भूभाग अधिग्रहण गरिएको थियो।

वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ। यही क्रममा अहिले याक एन्ड यती होटल रहेको लालदरबार, सेतो दरबार, फोहोरा दरबार र हात्तीसार दरबारहरू बने। जमिन सम्याएर बनाइएको पटांगिनीमा राणाकालमा ठूल्ठूला समारोह आयोजना हुन्थे।

हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्। वीरशमशेरले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमलाल जबराको किताबमा उल्लेख छ।

त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म बाँकी छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै भएको विज्ञहरू बताउँछन्।

यसबीच भूमि व्यवस्था मन्त्रालयले पनि हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचा रेखांकन गर्न कानुनी रूपले नसकिने जनाएको छ। भदौ सुरूतिर महानगरले टुकुचा रेखांकन गर्न भन्दै नापी विभागलाई चिठी लेखेको थियो। त्यसपछि विभागले आफ्नो तालुकवाला भूमि व्यवस्था मन्त्रालयमा महानगरको प्रस्ताव जानकारी गराएको थियो।

मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्न समिति गठन गर्‍यो। समितिले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई प्रतिवेदन बुझाएको जोशीले जानकारी दिएका छन्।

‘महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा रेखांकन गरेर फिल्डमा देखाइदिनू भन्ने चिठी नापी विभागमा आएको छ। यसबारे हामीले अध्ययन गर्‍यौं। उक्त स्थानमा टुकुचाको नक्सा नै छैन। नक्सामा देखिएको तर फिल्डमा यताउता परेको भए रेखांकन गर्ने कुरा आउँछ। नक्सामै नदेखिएको कुरा रेखांकन गर्न कानुनले नै हामीलाई दिएको छैन भन्ने हाम्रो पहिलो निष्कर्ष छ,’ उनले भने।

टुकुचा रेखांकन नै गर्ने भए सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति बनाउन र अध्ययन गरेर निकालिएको निष्कर्षका आधारमा प्रक्रिया अघि बढाउन सक्ने अर्को निष्कर्ष पनि प्रतिवेदनले दिएको छ।

२०७९ आश्विन ८, शनिबार प्रकाशित 1 Minute 62 Views

ताजा समाचार