
दसैंका लागि दार्चुलाका च्यांङ्ग्रा, मकवानपुरका खसीबोका
बुधबारदेखि काठमाडौंमा बिक्री गरिने खसीबोका,च्याङग्रा व्यापारीका भन्दा सस्ता हुने
काठमाडौँ — दसैंलाई लक्ष्य गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा भित्राउन सुरु गरेको छ । बजार मूल्य हस्तक्षेप गर्ने उदेश्यले कम्पनीले यसपाली २३ सय खसीबोका, च्याङग्रा खरिद गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार खाद्यले मंगलबार २ सय ४३ वटा खसीबोका र च्याङग्रा भित्र्याएको हो ।
‘दार्चुलाबाट २ सय ६ वटा च्याङग्रा र मकवानपुरबाट ३७ खसीबोका आइपुगेका छन्,’ कम्पनीका प्रादेशिक कार्यालय, काठमाडौंकी प्रमुख ज्ञानु थापाले भनिन्, ‘दाङ, हेटौंडा, धादिङ लगायत क्षेत्रबाट आउने क्रम जारी छ ।’ कम्पनीका अनुसार दाङबाट २ सय ८३ र हेटौंडाबाट २ सय खसीबोका आउने क्रममा छन् ।
मंगलबार बिक्री मूल्य तय गरेर बुधबारदेखि बिक्री गरिने थापाले बताइन् । ‘बजारभाउ बुझ्ने क्रममा छौं,’ उनले भनिन्, ‘खरिद, ढुवानी भाडालगायत जोडेर बिक्री मूल्य निर्धारण हुन्छ । खाद्यले बिक्री गर्ने खसीबोका व्यापारीको भन्दा सस्तो नै हुन्छ ।’ यसअघि सरकारले जिउँदो खसीबोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ । खाद्यले निर्धारण गरेको बिक्री मूल्यमा थप १० रुपैयाँ छुट हुनेछ । खाद्य कम्पनीसँगै दसैंलाई लक्षित व्यावसायिक संघ/संस्थाले पनि खसीबोका खरिद प्रक्रिया सुरु गरेका छन् ।
चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाका अनुसार व्यावसायिहरूले सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछापलगायत जिल्लाबाट खसीबोका ल्याउने तयारी गरेका छन् । अपुग खसीबोका भारतको लखनउ, उत्तरप्रदेशबाट पनि आयात गरिने उनले बताए । त्यस्तै, च्याङग्रा भने मुस्ताङबाट खरिद गरिने बताए ।