२०८० जेष्ठ २७ शनिबार

हामीले देश बिकास ग-यौ जस अरुले लिए – नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नेकपा एमालेले गरेका कामको प्रचार गरेर अरूले फाइदा लिइरहेको बताएका छन् । इलाम सदरमुकाममा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दे नेम्बाङले एमालेले गरेका कामको अरूले प्रचार गरेको बताएका हुन् ।

सामाजिक सञ्जालमा फोटोलाई जोडेर अनावश्यक प्रचारबाजी भइरहेको भन्दै कसले कति काम गरेको छ मूल्याङ्कन गर्न आग्रह समेत गरे । ‘एमाले बाहेकका पार्टीलाई इङ्कीत गर्दे आफूले गरेको भनेर देखाउने खालको कुनै काम नभएपछि एमालेले गरेका कामको नकारात्मक टिप्पणी गर्न थालेको भन्दै नेम्बाङले भने, ‘विकास निर्माणका लागि छुट्टाएको बजेट कार्यान्वयनमा सबैको जिम्मेवारी हुने र त्यो पनि गर्न नसकेपछि टिप्पणी गर्नु बाहेक कुनै विकल्प नभएको हो ।’

हिजो आफूले निर्वाचन लड्दै गर्दाको इलाम क्षेत्र नं. २ र आज हेर्दा कति अन्तर छ भन्ने देखिने भन्दै गरेका कामलाई देखाएर अघि बढ्नु पर्ने नेम्बाङको भनाई छ । ‘पार्टीले आफूलाई चुनाव लड्न लगाउँदै गर्दा त्यहाँ कच्ची सडक पनि थिएन, खोलामा पुल र बिजुलीको त नाम निसानै थिएन ।’ नेम्बाङले भने, ‘त्यो अवस्था देखि अहिले सम्ममा कति काम भएको भन्ने त्यहाँका जनताले बुझिरहेका छन ।’

इलाम निर्वाचन क्षेत्रमा काम गरेनन् भनिरहँदा त्यस क्षेत्रमा पहिले कति वटा पक्की र झोलुङ्गे पुल थिए अहिले कति वटा बनेका छन कसैले तथ्याङ्क राखेको छ भनेर प्रश्न गरे । ‘कहाँ कहाँ सम्म विजुली विस्तार भएको थियो र अहिले कहाँ कहाँ विजुली पुगेको छ, त्यो कसैले विचार गरेको छ ?’ उनले भने ‘त्यहाँको जनताको जीवनस्तर कस्तो थियो र अहिले कस्तो बनेको छ त्यो कसैले विचार गरेको छ ?’

काम नभएको भए इलामको कर्णाली भनेर भनिने २ नं. क्षेत्र अहिले कस्तो छ भन्ने आफै देखिने भन्दै गरेका कामलाई जनताले बुझ्ने गरी प्रचार गर्न नेम्बाङले कार्यकर्तालाई आग्रह गरे । हामी भन्दा बाहिरका साथीहरूले नेकपा एमालेले गरेकै कामको फाइदा उठाई रहँदा पनि हामी इमानदार रुपमा बसिरहेको कारण चौतर्फी घेरामा राखिरहेको भन्दै एमालेले गरेका कामको खुलेरै प्रचार गर्न आग्रह गरे । उनले नेपालटार मङ्गलवारे सडक बनाउन कसको पहलमा भएको भन्ने प्रश्न राख्दै राँके–रवि भेडे टार सडक खण्ड निर्माणका लागि ठेक्का लगाए पनि ठेकेदारले काम नगरेको कारण सडक अलपत्र परेको बताए ।

सरकारसँग ठेक्का तोड्न माग गर्दा पनि भारतीय ठेकेदार भएकै कारण अहिलेको सरकारले ठेक्का तोड्न भन्दा पनि म्याद थप गर्न लागिरहेको बताए । एमालेको सरकार हुँदाको काम र गठबन्धनपछि भएको कामको अवस्था जनताले आफै मूल्याङ्कन गरिरहेको भन्दै कसलाई जिताउँदा देशको विकास हुन्छ भन्ने जनताले थाहा पाइसकेको उनको भनाई थियो ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 1 Minute 54 Views