२०७९ मंसिर २१ बुधबार

साइकल प्लाङक ब्यालेन्सको उपाधि थापालाई

काठमाडौं : नेपालमै पहिलो पटक कपिलवस्तुमा साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता भएको छ।

प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन्। शनिबार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्।

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको हो। एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताए।

प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए। खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए। उनले २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए।

कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन्। शर्माले १५ हजार रुपैयाँ पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए। घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए।

जिल्लाको वाणगंगा नगरपालिका राजापानीको पोखरीमा भएको प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन भएको  आयोजकको दाबी छ।

प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्ससँगै सिएण्डसि अस्पतालसँग पनि सहकार्य गरिएको थियो।

१२ वर्षभन्दा माथिका व्यक्ति सहभागी उक्त प्रतियोगितामा १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा भने अनिवार्य अभिभावकको अनुमति लिनुपर्ने थियो।

यस्तै १८ वर्ष भन्दा माथिका भने जटिल रोग नलागेका व्यक्ति हुनुपर्ने थियो। प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्रदान गरिएको थियो।

२०७९ आश्विन १६, आईतवार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार