
तस्वीर : राष्ट्रपति भण्डारी टीका लगाउँदै
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमीका दिन बुधवार हुनुमान ढोकाका मूलपूजारी देवराज अर्यालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्वीर : रासस
राष्ट्रपति सोफामा, मूलपुजारी भुइँमा !
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पण्डितहरूले भनेकै समयमा हनुमानढोकाका मूलपुजारी र राष्ट्रपति कार्यालयका मूलपुजारीबाट दसैंको टीका ग्रहण गरिन् । बडादसैं २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गरेकी थिइन् ।

राष्ट्रपतिलाई टीका लगाउनका लागि माथि भनिएझैं दुई पुजारी (गुरु)हरू हनुमानढोकाका मूलपुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका मूलपुजारी खेमचन्द्र ढकाल उपस्थित थिए । मन्त्रोच्चारण गर्न पुजारीका सहयोगीहरू पनि राष्ट्रपति कार्यालयमा पुगेका थिए ।
दसैंको टीका ग्रहण गर्ने शुभ साइत आउनैलाग्दा पुजारीहरूले तयारी गरेका थिए । राष्ट्रपतिका लागि सोफाको व्यवस्था गरिएको थियो । मन्त्र वाचन गर्दै सुरुमा हनुमानढोकाका मूलपुजारी अर्यालले राष्ट्रपतिलाई अक्षता लगाइदिए र दाहिने हातमा धाँगो बाधिँदिए । त्यसपछि उनले राष्ट्रपतिबाट टीका थाप्ने पालो आयो । राष्ट्रपति भण्डारी सोफामा बसेकाले अर्याललाई उभिएरै टीका थाप्न सम्भव भएन । उनले घुँडा आधा खुम्च्याएर राष्ट्रपतिले आफ्नो निधारमा हात पुर्याउने तहसम्म निहुरिएर टीका ग्रहण गरे ।
टीका ग्रहण गर्दै हनुमानढोकाका मूलपुजारी देवराज अर्याल । तस्बिर : रत्न श्रेष्ठ/रासस
अर्याललाई दक्षीणा प्रदान गरेर राष्ट्रपतिले आफ्नै कार्यालयका मूलपुजारी खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गर्ने पालो आयो । राष्ट्रपतिलाई टीका लगाइदिएपछि ढकालले राष्ट्रपतिबाट टीका ग्रहण गर्ने पालो आयो । राष्ट्रपति सोफामा बसेकी राष्ट्रपतिको हातबाट टीका थाप्न उनले निहुरिनुपर्ने अवस्था आयो । उनी अर्यालले झैं निहुरिएनन् बरु राष्ट्रपति भण्डारीको अगाडि भुइँमा पलेटी कसेर बसे । राष्ट्रपतिले टीका लगाइदिइन् र दक्षिणा प्रदान गरिन् । पुजारीहरूलाई साथ दिन आएकाहरूले पनि ढकाललाई नै पछ्याए र राष्ट्रपतिको अगाडि पलेटी कसेर बसी टीका र दक्षिणा राखिएका खाम ग्रहण गरे ।
टीका ग्रहण गर्दै राष्ट्रपति कार्यालयका मूलपुजारी खेमचन्द्र ढकाल । तस्बिर : रत्न श्रेष्ठ/रासस
राष्ट्रपतिको दसैं टीकाको भीडीयो र फोटो खिच्नका लागि सरकारी सञ्चारमाध्यमका पत्रकारहरू पुगेका थिए । उनीहरूका अनुसार राष्ट्रपतिले पुजारीहरूलाई टीका लगाइदिँदा सामुन्नेमा कुर्सी राखिएका थिएनन् । अर्यालले घुँडा खुम्च्याएर निहुरिइ टीका थापेपछि टीका लगाउन पुगेका पुजारी ढकाल भने भुइँमा बसेका थिए । उनी भुइँमा बस्दा राष्ट्रपतिले नबस्न इशारा गरेको देखिएको पत्रकारहरूले बताएका छन् । तरपनि ढकालले बसेर नै टीका थापेको र पुजारीहरूसँग आएकाले पनि पलेटी कसेरै टीका थापेका थिए ।
टीका ग्रहण गर्दै राष्ट्रपतिका छोरी, ज्वाइँ र नातिनी। तस्बिर : रत्न श्रेष्ठ/रासस
त्यसपछि राष्ट्रपतिले आफन्तहरूलाई टीका लगाइदिएकी थिइन् । छोरी, ज्वाइँ, नातिनीलगायतका आफन्त र सचिवालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई टीका लगाउने बेला भने राष्ट्रपति बसेको सोफा अगाडि कुर्सी राखिएका थिए ।
राष्ट्रपतिबाट टीका ग्रहण गर्दै एमाले अध्यक्ष ओली । तस्बिर : ओलीको सचिवालय
राष्ट्रपति भण्डारीले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी पत्नी राधिका शाक्यलाई पनि कुर्सीमा बसालेरै टीका लगाइदिएकी छन् । ओली झापामा बुबा र ठूलीआमाको हातबाट दसैंको टीका थापेर बुधबार नै काठमाडौं आएका थिए ।
राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई पनि टीका लगाइदिएकी थिइन् । सर्वसाधारणलाई टीका लगाउनका लागि राष्ट्रपति कार्यालयले २ देखि ५ बजेसम्मको समय निर्धारण गरेको थियो । सर्वसाधारणलाई टीका लगाउनका लागि भने राष्ट्रपति कार्यालयको प्रांगणमा पोडियम राखिएको थियो । पोडियमको अगाडि सर्वसाधारणलाई उभ्याएर र आफू पनि उभिएर राष्ट्रपतिले टीका लगाइदिएकी हुन् ।
राष्ट्रपतिबाट टीका ग्रहण गर्दै एक बृद्धा । तस्बिर : बिजु महर्जन/ कान्तिपुर
एकजना व्यक्ति ह्वीलचेयरमा राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न पुगेका थिए । उनलाई भने राष्ट्रपतिले पोडियमबाट बाहिर आएर टीका लगाइदिएकी थिइन् ।
राष्ट्रपतिले दसैंको टीका लगाउने क्रममा आएका तस्बिरले यसअघि पनि टिकाटिप्पणी र आलोचना भएको थियो । गतवर्षको दसैंमा राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्दै गर्दाको तस्बिरले आलोचना निम्त्याएको थियो । आफू सोफामा बसेर वृद्ध आमा मिथिला पाण्डेलाई उभ्याएरै टीका लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो ।
त्यस्तै, २०७५ सालको दसैंमा पनि राष्ट्रपतिले टीका लगाएको तस्बिरले विवाद सिर्जना गरेको थियो । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट दसैंको टीका ग्रहण गर्ने क्रममा भुँइमा खुट्टा टेकेका थिए । राष्ट्रपतिले सधैंझैं सोफामा बसी अगाडि विशिष्ट व्यक्तिलाई घुँडा भुइँमा टेकाएर टीका लगाइदिएकी थिइन् ।
राष्ट्रपति सोफामा बसेर टीका लगाउँदा टीका थाप्नेका लागि कि त सामुन्ने कुर्सी हुनुपर्ने नभए राष्ट्रपतिले पनि उभिएर टीका लगाइदिनुपर्नेमा त्यसो नगर्दा आलोचना हुने गरेको छ । राष्ट्रपति कार्यालयको व्यवस्थापनको तरिकाले बारम्बार राष्ट्रपतिको दसैं टीकामा यस्ता असमान खालका तस्बिर आउने गर्छन् ।