२०८० जेष्ठ २७ शनिबार

कैलालीका बाढीपीडितको बिचल्ली

कैलालीका बाढीपीडितको बिचल्ली

facebook sharing button

 

कैलाली । कैलालीमा बुधवार रातिदेखिको अविरल वर्षापछि आएको बाढीपीडितको बिच्चली भएको छ । लगातार ६ दिनदेखि भइरहेको वर्षा नरोकिएपछि प्रभावित बासिन्दाको दिनचर्या कष्टकर बन्दै गएको छ ।

कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम झनै बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीस्थित कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिल समेत गरिएको छ । कर्णालीमा पानीको सतह १० दशमलव ८ पुगेमा खतराको तह पार भएको मानिन्छ ।

कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुलो भरिएको छ । रानीकुलो बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौं घर डुबानमा परेका छन् । कर्णालीमा बाढी बढ्दा कैलालीको दक्षिणपूर्वमा अवस्थित टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिका बढी प्रभावित हुने गरेका छन् । जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलोमा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न गाउाँपालिकाले सूचना जारी गरेको छ ।

रानीकुलोमा आएको बाढी टीकापुर नगरपालिका वडा नं १ को शक्तिनगर, वडा नं २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा पसेको छ । वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका छन् ।  टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारूले बताए । ‘बाढी आउने जोखिम बढेपछि तल्लो भेगका नागरिक सार्ने काम शुरू गरेका छौं । सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौं,’ उनले भने, ‘विपद्को बेलामा एकआपसमा सहयोग गरी सुरक्षित रहनु पर्छ ।’

कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए । ‘कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ,’ उनले भने, ‘प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी किरण थापाले तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताए । ‘हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौं,’ उनले भने, ‘नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ । तटबन्ध निर्माणको काम भइरहेको स्थानमा नदी फुट्ने खतरा छ । त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौं ।’

भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सयभन्दा बढी परिवार तीन दिनदेखि हुलाकी सडकमा बसिरहेका छन् । निरन्तरको वर्षाले उनीहरूमा चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत देखिन शुरू भएको छ । भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए । भोकभोकै पानीमा भिज्दै बाढीपीडितहरू दिनरात काटिरहेको उनको भनाइ छ । बाढीले भजनीमा सयौं परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन् । कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ ।- abhiyandaily

photo- aarthasarokar

२०७९ आश्विन २५, मंगलवार प्रकाशित 1 Minute 49 Views