
नेपालमा धेरै सम्भावना छ, लगानीकाे प्रतिफल पनि अन्य देशमा पाउने भन्दा राम्राे छ : ढकाल

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।
आज मङ्गलवार गैरआवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो ।
नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफलसमेत राम्रो रहेको उहाँले बताउनुभयाे । नेपालमा गैरआवासीय नेपालीहरूले लगानी गर्नका लागि पुराना र जटिल कानुन परिवर्तन भएको तथा बाँकी कानुन परिवर्तन गर्ने प्रक्रियामा रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा लगानीको वातावरण छ । पुराना र जटिल कानुन परिवर्तन भएका छन् । अरू कानुन परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छ । प्रतिफल पनि तपाईँले अन्य देशमा पाउने भन्दा राम्रो छ । गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्छु । निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले गैरआवसीय नेपालीहरूलाई लक्षित गरी विदेशमा रहेकालाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको पनि बताउनुभयो ।