२०८० जेष्ठ १९ शुक्रबार

‘हिजो आजका कुरा’ ले सम्झियो आफ्ना दिवंगत तीन कलाकार

‘हिजो आजका कुरा’ ले सम्झियो आफ्ना दिवंगत तीन कलाकार

‘हिजो आजका कुरा’ ले सम्झियो आफ्ना दिवंगत तीन कलाकार

काठमाडौं– यही शुक्रवार अर्थात असोज २८ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हिजो आजका कुरा’ ले आफ्नो फिल्मका तीन जना दिवंगत कलाकारलाई सम्झिएको छ ।

कलाकारहरु जयनन्द लामा, रोहिणी भट्टराई तथा निरञ्जनप्रसाद अर्यालको ‘हिजो आजका कुरा’ नै अन्तिम फिल्म बन्न पुगेको छ ।

सन्तोष पन्तको कथा तथा लगानीमा उनका पुत्र साकार पन्तद्वारा निर्देशित यो फिल्ममा अभिनय गरेका अर्याल तथा भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको हो भने लामाको आफ्नै घरको आँगनमा दुर्घटना भएर निधन भएको थियो ।

७३ वर्षीय अर्याल पूर्व प्रोफसर थिए । उनले लामो समय पद्मकन्या क्याम्पस, त्रिचन्द्र क्याम्पसलगायतका शिक्षण संस्थामा प्राध्यापन गरेका थिए भने भुई मान्छे फिल्मका निर्माता समेत रहेका भट्टराई हाउस किपीङ्ग कार्यमा परिपक्व थिए ।

जयनन्द लामा भने लोकप्रिय गायक, निर्देशक तथा अभिनेता हुन् । आफ्नो फिल्ममा अभिनय गरेका तीन–तीन जना कलाकारलाई गुमाउनु पर्दा आफुहरु अत्यन्तै दुःखी भएको निर्देशक साकारले बताएका छन् । ‘उहाँहरु हामीमाझ हुनुहुन्न भन्ने सम्झँदा पनि साह्रै पीडा महसुस हुन्छ’, साकार भन्छ्न्– ‘उहाँहरु जहाँ रहे पनि आत्माले शान्ति पाओस् । उहाँहरुको आशीष हामीलाई लागिरहोस् ।’

हिजो आजका कुरा तीनै जना दिवंगत कलाकारप्रति श्रद्धासुमन भएको उनले बताए । ‘हाम्रो यो फिल्म उहाँहरुमा हार्दिक श्रद्धाञ्जलीका साथ समर्पण गरेका छौं’,उनले भने– ‘हामी उहाँहरुलाई सधैँ सम्झिरहेका छौं ।’

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको ‘हिजो आजका कुरा’ मा दिवंगत अर्याल, भट्टराई र लामाका साथमा सन्तोष पन्त,रमा थपलीया, साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन् ।

रवि सायमीद्वारा छायांकन गरिएको यो फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र हुन् ।

नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ पहिलो पटक ठूलो पर्दामा उत्रिएको छ । टेलिशृङ्खलाले झैँ ठूलो पर्दाको फिल्मले पनि दर्शकको मन जित्ने कुरामा निर्माण टीम विश्वस्त छ ।-KALAKARMI

२०७९ आश्विन २६, बुधबार प्रकाशित 1 Minute 70 Views