२०८० जेष्ठ १९ शुक्रबार

धवलागिरि हिमाल गएर फसेका १४ को उद्धार

धवलागिरिबाट १४ को उद्धार

म्याग्दी — प्रतिकूल मौसमका कारण धवलागिरि आधार शिविर (बेस क्याम्प) मा फसेका १६ मध्ये मंगलबार १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  उनीहरूमा पर्यटक गाइड, खच्चड चालक र भरिया छन् ।

५ जना शेर्पा गाइडलाई पोखरा पुर्‍याइएको छ भने मुस्ताङ मार्फाका खच्चड चालकहरू माइकल परियार, किरण परियार, भरियाहरू सन्तोष तामाङ र धनराज तामाङलाई धवलागिरि–७ ताकमको हिलापोखरीमा ओरालिएको छ ।

मार्फाकै बुद्धि, कुमार, प्रकाश, वीरबहादुर र सुकलाल परियारलाई भने इटली क्याम्प रहेको ताकममा ओरालिएको माइकलले जानकारी दिए । धवलागिरि बेस क्याम्पमा अझै २ जना गाइड छन् । धवलागिरि आरोहणका लागि लगेका सामग्री ल्याउन उनी हेलिकोप्टर पर्खेर बसेका छन् ।

बंगालको खाडीमा विकसित भई नेपाल प्रवेश गरेको मनसुनी वर्षासँगै हिमाली क्षेत्रमा लगातार ४ दिन हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुर हिउँमा फसेका थिए । आरोहणमा गएका भारतीय, कोरियाली र जापानी आरोहीका सामग्री मुस्ताङको मार्फाबाट ४२ वटा खच्चडमार्फत बेस क्याम्पसम्म ढुवानी गरिएको थियो । याकखर्क, हिडनभ्याली, फ्रेन्चपास हुँदै बेस क्याम्प पुर्‍याई फर्कने क्रममा भारी हिमपात भएपछि उनीहरू फ्रेन्सपासमै फसेका थिए ।

‘बेस क्याम्पमा आरोहण सामग्री पुर्‍याएर फर्कने क्रममा फ्रेन्चपासमा पुग्दा भारी हिमपात भयो । चार दिन खानापानी बिनै त्यहीं बस्यौं । हिमपात रोकिएपछि बेस क्याम्प पुग्यौं र शेर्पा गाइडको क्याम्पमा आश्रय लिएर बाँच्यौं । हाम्रा सबै खच्चड उहीं मरे,’ उद्धार गरिएका माइकलले भने, ‘हामी पुग्दाको २ दिनअघि हिडनभ्यालीमा हिमपहिरोमा परेको अवस्थामा टेन्टहरू देखेका थियौं । उनीहरू जापानी पर्वतारोहीका गाइड रहेछन् । हिमपहिरोमा पर्यटक बचेछन्, गाइड पुरिएर मरे भन्ने सुनेको हो, नाम थाहा भएन ।’

धवलागिरि आरोहणमा गएका आरोही र केही गाइड धवलागिरि–३ मुदी बगरा, दोभान, इटली क्याम्प हुँदै र भरियाहरू मुस्ताङको बाटो हुँदै बेस क्याम्प उक्लेका थिए ।-EKANTIPUR

२०७९ आश्विन २६, बुधबार प्रकाशित 1 Minute 122 Views