
यसबीच देखिएका अनेक अचम्म

राजनीतिमा निश्चित नैतिक बन्धन र धर्म हुन्छ, विचार र सिद्धान्तलाई न्याय दिने कुरा मुख्य हुन्छ । तर, पछिल्लो समय देशमा विकसित राजनीतिक ध्रुवीकरण अचम्म र उदेकलाग्दो छ ।
अनुमान लगाइएको छ कि, उत्तरले उपेन्द्र यादवलाई भनसुन गरेपछि रातारात केपी ओलीको एमालेसँग चुनावी तालमेल भयो । केपी ओलीको समस्या हो, दिवंगत बाबुलाई पिण्ड दिनैपर्ने । तर, पिण्ड पकाउन मरेकै गाईको दूध भए पनि हुने । अर्थात्, उपेन्द्र यादवहरूको मधेसवादी राजनीति धराप स्थितिमा पुगेको थियो । उनीसहितका क्षेत्रीय पार्टीहरू क्षयउन्मुख हुँदै थिए ।
तर, पनि पितृलाई पिण्ड दिनेजस्तो पवित्र काममा कस्तो गाईको दूध प्रयोग गर्ने भन्ने कुरालाई ख्याल नगरिँदा उक्त तालमेल सम्भव भयो । उनीहरूबीचको राजनीतिक द्वन्द्व, अडान, दृष्टिकोणका नैतिक, कानुनी र वैचारिक जग हिजो कहाँ थियो ? भन्ने कोणबाट हेर्दा ओलीलाई पिण्ड दिनुपर्ने बाध्यता र उपेन्द्रलाई दूध खेर फाल्न नहुने समस्याले सताएको देखिन्छ ।
यस्तो नैतिक बन्धनलाई ख्याल नगरी चुनावी घटनाहरू पटाक्षेप हुँदै गर्दा अछामका एमालेजनले ‘एमाले जिन्दावाद– केपी ओली मूर्दावाद’ भन्ने स्थिति आयो । मोरङमा रामकुमार बस्नेतसहित गायिका मधु गुरुङ (रत्ना) हरूले पार्टी छोडे । अर्थात्, पार्टीहरूले केही मान्छे टिप्दै, केही मान्छेलाई आफूबाट अन्यत्र पठाउँदै राजनीतिक गुजारा चलाइरहेका छन् ।
सत्तागठबन्धन उपेन्द्र यादवहरूले थोरै सीट भयो भन्ने नाममा छोडेर गए । बढी सीट पाइएला भनेर महन्थ ठाकुरहरू सत्ता गठबन्धनमा मिसिए । बूढी मरिन्, तर बुहारीले बच्चा जन्माएपछि सन्तान त आखिर तीनका तीनै हुने भए । राजनीति यही चक्रमा घुमिरहेको छ ।
भनिन्छ, अहिलेको सत्ता गठबन्धनमा एकीकृत समाजवादीले जति सीट पाएको छ, त्यसमध्ये हारिहाले पनि थोरैले हार्छन् । किनभने, यो चुनाव स्थानीयजस्तो काका, मामा, भाइ, भतिजवाला जनमतको परीक्षण हैन । दलीय भूमिका, राजनीतिक दृष्टिकोण र वैचारिक क्षमतालाई यसले अनुमोदन गर्ने हो । त्यो कोणबाट हेर्दा एमाले र उसले जम्मा पारेको चुनावी साझेदार भन्दा सत्ता गठबन्धन धेरै अर्थमा प्रष्ट देखिन्छ ।
एकीकृत समाजवादीको आफ्नै धरातल बलियो होइन । तर, गठबन्धन बलियो हुँदा धेरैले हार्दैनन् भन्ने अनुमानसम्म गरिएको हो । अहिलेको गठबन्धनभित्र ‘दाममा हाम’ गर्ने पनि छन् । केही–केही अन्तर्घात पनि हुन्छन् । तर, झिनोझिनो मतले भए पनि धेरैले चुनाव जित्ने अनुमान गरिएको छ । त्यसमध्ये एकीकृत समाजवादीले ८ देखि १० लाख मत समानुपातिकतर्फ ल्याउने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।
के पनि भनिँदैछ भने, कांग्रेसले अरुलाई भोट हाल्दैन । तर, भोट हाल्नै नगए एउटा कुरा । प्रत्यक्षमा उम्मेदवार छैनन् भने पनि समानुपातिकमा त उसलाई भोट चाहिन्छ नै । मतपत्र हातमा परिसकेपछि प्रत्यक्षमा आफ्नो उम्मेदवार नहुँदा आफ्नो पार्टीले समर्थन गरेको उम्मेदवारलाई त हाल्नै प¥यो ।
एमालेका निम्ति गठबन्धनको भार एकातिर छ, आफ्नै पार्टीभित्र अन्तर्घातको रफ्तार त्यही हिसाबले बढ्दो छ । अरु त अरु, अध्यक्ष केपी ओलीले पनि झापामा राप्रपा र अरुको मन राख्न सक्नु भएन भने जित्न कठिन भएको त्यहाँका राजनीतिक कार्यकर्ताहरू बताउँछन् ।
अर्कातिर, नागरिकता विधेयक पारित भएपछि मधेसी दलहरूका खासै एजेण्डा बाँकी रहँदैनन् । समय कटाउने र तराईलाई बफर जोनका रुपमा विकास गर्ने एउटा कुरा हो । त्यसलाई थाती राखेर उचित समयमा ती मुद्दा उठाउने स्थिति पनि हुनसक्छ । उनीहरू चाहन्छन्, यो ध्रुवीकरणबाट नियन्त्रणको स्थितिलाई सुनिश्चित गर्ने ।
देउवालाई तुलनात्मक रुपमा कमजोर बनाउने, सम्भव भएसम्म आफ्नै धोतिको जुम्रालाई प्रधानमन्त्री बनाउने भित्री मक्सद मधेसवादीमा देखिन्छ । कांग्रेसमा पनि प्रधानमन्त्री पदका लागि रस्साकस्सी चलिरहेको छ । गठबन्धन बलियो भयो र परिणाम पनि त्यहीअनुसार आइदियो भने फेरि एकचोटि माधव नेपाल प्रधानमन्त्रीमा फर्किन सक्ने अनुमान पनि राजनीतिक विश्लेषकहरूले गरिरहेका छन् ।
प्रचण्ड र देउवाबीच भोलि समस्या भयो या कांग्रेसमा कोइरालाका कारण समस्या भयो भने त्यो स्थिति हुनसक्ने उनीहरूको सामान्य अनुमानसम्म हो ।