
कांग्रेसलाई ‘टिट फर ट्याट’, माओवादी र नेकपा (एस) लाई ‘टच’ गरेन जसपाले
दुई पार्टीसँग जसपाले मित्रवत् व्यवहार गर्ने

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीलाई हटाए पनि सत्ता गठबन्धनमा रहेका दुई दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ‘टच’ गरेन । जब कि गठबन्धनमा सहमति गरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेका थिए । जसपाका मन्त्रीलाई हटाउन गठबन्धनमा रहेका दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पनि सहमति दिएका थिए ।
तर यी दुई दलका मन्त्रीलाई जसपाले किन हटाएन भनेर प्रश्न उठेको छ । जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमन भन्छन्, ‘हामीले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा (एस) सँग मित्रवत व्यवहार गरेका छौँ । काँग्रेसले हामीसँग जस्तो व्यवहार गरेको छ त्यस्तै व्यवहार हामीले पनि गर्यौँ, टिट फर ट्याट ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको सहमतिमा भन्दा पनि एकल निर्णयबाट आफ्ना पार्टीका मन्त्रीहरूलाई हटाएको बताउँदै उनले आफूहरूले पनि कांग्रेसकै मन्त्रीलाई मात्र हटाएको बताए ।