२०७९ माघ २५ बुधबार

अमेरिकाको चर्चित पत्रिकामा भारतका शीर्ष अधिकारीहरु ‘वान्टेड’ भन्दै किन विज्ञापन छापियो ?

अमेरिकाबाट प्रकाशित हुने चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा हालै एउटा विज्ञापन प्रकाशित भएको छ, जसलाई लिएर भारतमा विवाद सुरु भएको छ । विज्ञापनमा भारतकी अर्थमन्त्री निर्मला सीतारमण, त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरू, प्रवर्तन निर्देशनालय (ईडी) र देवास–एन्ट्रिक्स मुद्दासँग जोडिएका अधिकारीहरुलाई ‘वान्टेड (खोजिएका अपराधी)’का रुपमा देखाइएको छ ।

अक्टोबर १३ को पत्रिकामा प्रकाशित विज्ञापनमा ‘भारतलाई लगानीका लागि असुरक्षित बनाउने अधिकारीहरूलाई भेट्नुहोस्’ लेखेर अधिकारीको फोटोमा ‘वान्टेड’ लेखिएको छ ।  विज्ञापनमा भारतका ११ जना अधिकारीलाई प्रतिबन्ध लगाउन माग गरिएको छ र विज्ञापनको शीर्षक ‘मोदीको म्याग्निटस्की ११’ राखिएको छ । अमेरिकी सरकारको सन् २०१६ को ग्लोबल म्याग्निटस्की कानून अन्तर्गत, मानवअधिकार उल्लंघन गर्ने विदेशी सरकारी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन सक्छ ।

वित्तमन्त्री निर्मला सीतारमण अमेरिका भ्रमणमा रहेको बेला यो विज्ञापन छापिएकाले भारतमा यसलाई थप गम्भिर लिइएको छ । सीतारामन अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अक्टोबर ११ देखि १६ सम्म वाशिङ्गटन हुनेछिन् ।

कसले निकाल्यो विज्ञापन ? 

अमेरिकास्थित गैरसरकारी संस्था ‘फ्रन्टियर्स अफ फ्रिडम’ ले यो विज्ञापन जारी गरेको हो । फ्रन्टियर्स अफ फ्रिडमको वेबसाइटका अनुसार, यो एक शैक्षिक संस्था हो जसले ‘व्यक्तिगत स्वतन्त्रता, शक्तिमार्फत शान्ति, सीमित सरकार, स्वतन्त्र उद्यम, स्वतन्त्र बजार र परम्परागत अमेरिकी मूल्यहरू’ को सिद्धान्तहरूलाई बढावा दिन्छ ।

विज्ञापनमा ११ जनाको नाम राखिएको छ, जसमा लेखिएको छ –‘मोदी सरकारका यी अधिकारीहरूले राजनीतिक र व्यापारिक प्रतिद्वन्द्वीसँग रिस फेर्न सरकारी निकायहरूलाई हतियारको रूपमा प्रयोग गरेर कानुनी शासनको अन्त्य गरेका छन्, यसले भारतलाई लगानीकर्ताका लागि असुरक्षित बनाएको छ ।’ त्यस्तै अगाडि लेखिएको छ– ‘हामी अमेरिकी सरकारलाई ग्लोबल म्याग्निटस्की मानवअधिकार जवाफदेहिता ऐन अन्तर्गत उनीहरुविरुद्ध आर्थिक र भिसा प्रतिबन्ध लगाउन आग्रह गर्दछौं ।’

त्यस्तै विज्ञापनमा मोदी शासनमा कानूनको शासन खस्किएको छ र भारत एक खतरनाक लगानी गन्तव्य बनेको आरोप लगाइएको छ ।  यही वर्ष अगस्टमा, फ्रन्टियर्स अफ फ्रिडमले‘ ग्लोबल म्याग्निटस्की मानव अधिकार अकाउन्टेबिलिटी एक्ट’ अन्तर्गत एक याचिका दायर गरेको थियो ।

त्यसमा भारतीय अधिकारीहरूलाई ‘संस्थाहरूको दुरुपयोगको आरोप लगाएको’ र तिनले ‘भारतका आपराधिक अनुसन्धान एजेन्सीहरू र अदालतहरूमार्फत एक सम्झौता विवादको दियात्वमा गतिरोध सिर्जना गरिरहेको’ आरोप लगाइएको छ ।

यो याचिकाको कागजातमा ‘फ्रन्टियर्स अफ फ्रिडम’ले देवास मल्टिमिडिया अमेरिका इंक र यसको सह–संस्थापक रामचन्द्र विश्वनाथनको तर्फबाट यो याचिका दायर गरेको उल्लेख छ । यो विज्ञापन सार्वजनिक भएपछि भारतमा धेरैले यसको निन्दा गर्दै यसका पछाडि रामचन्द्र विश्वनाथन रहेको भन्दै उनको आलोचना गरिरहेका छन् ।

को हुन् रामचन्द्र विश्वनाथन ?

भारतीय मुलका अमेरिकी नागरिक रामचन्द्र विश्वनाथन देवासका सह–संस्थापक हुन् । सन् २००५ मा विश्वनाथनको देवास मल्टिमिडिया र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को व्यवसायिक कम्पनी एन्ट्रिक्स कर्पोरेशनबीच स्याटेलाइट सम्झौता भएको थियो, जुन पछि रद्द भएको थियो ।

यद्यपि, देवासको मुद्दा सेप्टेम्बरमा तब चर्चामा आयो जब बेंगलुरुको एक विशेष अदालतले ईडीलाई सम्पपि शुद्धिकरणको मुद्दामा विश्वनाथनलाई ‘भगौडा आर्थिक अपराधी’ घोषित गर्न अनुमति दियो ।  यस वर्षको अगस्टमा, दिल्ली उच्च अदालतले देवास मल्टिमिडियाको पक्षमा सन् २०१५ मा ‘इन्टरनेशनल चेम्बर अफ कमर्स(आईसीसी)’ले गरेको १.३ अर्ब डलरको निर्णयलाई उल्टइदियो ।

भारत सरकार भ्रष्टाचारको आरोपमा विश्वनाथनलाई प*क्राउ गर्न चाहन्छ र उसले द्विपक्षीय कानून ‘म्युचुअल लिगल असिस्टेन्ट ट्रिटी अन्तर्गत मोरिससमा रहेको देवासको खाता फ्रिज गरिदिएको थियो ।  यससँगै सरकारले विश्वनाथविरुद्ध रेड कर्नर नोटिस जारी गरी अमेरिकाबाट उनलाई सुपुर्दगी गर्न इन्टरपोलसँग माग गरेको छ ।

अर्कोतर्फ देवास मल्टिमिडियाले पनि कानुनी पहल जारी राखेको छ । आईसीसीको निर्णयका आधारमा उनले अमेरिका, फ्रान्स र क्यानडाको अदालतमा पुगेका थिए । -ratopati

२०७९ आश्विन ३१, सोमबार प्रकाशित 1 Minute 34 Views

ताजा समाचार