
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारी संस्थाहरुमा तरलता ब्यवस्थापन सहज बन्दै गरेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको आयोजना तथा सद्गुरु बचत तथा ऋण सहकारी संस्था बौद्ध रामहिटीको संयोजन तथा सहकार्यमा काठमाडौंका पूर्व क्षेत्र चावहिल, कपन तथा गोकर्ण क्षेत्रको विभिन्न सहकारी संघ संस्थाहरुको भेलालाई सम्बोधन गदै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी संस्थाहरुमा तरलताको समस्या नरहेको बताएका हुन् ।
सहकारी संस्थाहरुले जनस्तरमा बित्तीय सेवा बिस्तार गरिरहेको उल्लेख गर्दै आर्थिक बिकासमा सहकारीको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारी संस्थाले सहकारीको मर्म र सिद्धान्त अनुरुप काम गर्नुपर्ने उल्लेख गदै सहकारी अभियानको बारेमा चर्चा गरेका थिए ।
त्यसैगरी सहकारी संस्था समन्वय समितिका संयोजक बिकल्प पाठकले सहकारी क्षेत्रले जनता समक्ष भ्रामक सूचनाहरु निस्तेज गदै बिश्वसनियता कायम राख्न सक्नु पर्ने धारणा राखेका थिए । अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सहकारी संस्थाको गतिविधि तथा कामहरुलाई संचार क्षेत्रले सन्तुलित तथा मर्यादित तरिकाबाट प्रस्तुत गर्न सहकारी क्षेत्रका बिज्ञ तथा प्रतिनिधिहरुले आग्रह गरेका थिए ।
न्यूज २४ टेलिभिजनका अर्थ ब्यूरो प्रमुख पत्रकार नवराज चालिसेले सरकारले अवलम्बन गरेको तीन खम्बे अर्थनिति अनुरुप सहकारी क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन नियामक निकायको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । सहकारीविज्ञ बल्लभ तिम्सिनाले सहकारीका बिविध पक्ष र आयामहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सहकारी बिज्ञ, राष्ट्रिय सहकारी र्बैक तथा सदगुरु बचत तथा ऋण सहकारी संस्थाका बिभिन्न प्रतिनिधिहरुले सहकारी क्षेत्रका समस्या तथा चुनौतीहरुको बारेमा चर्चा गरेका थिए । राष्ट्रिय सहकारी बैक चावहिल शाखाका प्रवन्धक जानुका नेपालले कार्यक्रमको उद्धेश्य र सहकारी संस्थाहरुले निर्वाह गरेका भूमिकाको चर्चा गरेकी थिइन् ।
राष्ट्रिय सहकारी बैंक सहकारी संस्थाहरुलाई तरलता ब्यवस्थापन र कर्जा प्रवाहमा जिम्मेवार भएको काम गर्न आग्रह गरेको छ ।