

काठमाडौं– कार्तिक मैयप्नले ह्याट्रिक विकेट लिनुका बाबजुद युएई श्रीलंकासँग पराजित भएको छ।
अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा युएई श्रीलंकासँग ७९ रनको फराकिलो अन्तरले पराजित भएको हो।
श्रीलंकाले दिएको १५३ रनको लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा सबै विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो।
युएईका जुनेद सिद्धिकीले १८, आयान खानले १९ तथा चिराग सुरीले १४ रन बनाउनका बाबजुद अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।
श्रीलंकाका बलरसामु युएईका ब्याटर निरीह बनेका थिए। श्रीलंकाका दुशमन्था चमिरा र वासिन्दु हसरंगाले समान तीन विकेट लिएका थिए।
यसअघि, ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएको थियो। श्रीलंकाका पाथुम निशंकाले ७४ रनको पारी खेलेका थिए।
युएईका लागि कार्तिकले तीन विकेट लिएका थिए। यद्यपि, उनको टोलीले जित निकाल्न सकेन। कार्तिक टी–२० विश्वकपमा ह्याट्रिक गर्ने युएईका पहिलो बलर हुन्।
जारी प्रतियोगितामा दुई खेल खेलेको श्रीलंकाका लागि यो पहिलो जित हो। युएईले भने दुवै खेल हारेको छ।
पहिलो चरणअन्तर्गत समूह एमा नदरल्याण्ड्स शीर्ष स्थानमा रहँदा नामिबिया दोस्रोमा छ।