
हरिवंशले खोले दोश्रो श्रीमती ल्याउनुको राज

सुरुमा त्यो निर्णय उनलाई गलत लाग्यो । तर, अहिले त्योबेला आफूले लिएको निर्णय ‘सही’ रहेछ भन्ने उनलाई महसुस भएको छ । ‘एक्लाभन्दा विवाहित लामो समयसम्म बाँच्छन् भन्ने अध्ययनले देखाएको छ, मैले पनि अहिले आएर दोस्रो विवाह गरेर ठीक गरेछु भन्ने महसुस गरेको छु,’ मंगलबार कुराकानी गर्ने क्रममा हरिवंशले भने, ‘मैले दोस्रो विवाह गर्दा रमिला र मेरो एकल जीवनको अन्त्य हुनुका साथै एकअर्कालाई दम्पत्तिका रूपमा पायौं ।
फेरि श्रीमती पाउँदा मलाई एकल महसुस हुन छाड्यो र मेरा छोराहरूले पनि आमाको माया फेरि पाए ।’ अभिनेता हरिवंशको भनाइमा प्रदर्शनी तयारीमा रहेको ‘महापुरुष’मा पनि पत्नी गुमाएका ज्येष्ठ नागरिकले ६० वर्ष पुग्दै गर्दा दोस्रो विवाह गरेको कथा छ । यो कथा आफ्नो जीवनमा ‘केही मेल खाने’ उनले सुनाए । ‘फिल्ममा करबलले विवाह गरे पनि वास्तविक जीवनमा आफन्तको चाहनाले विवाह गरेको हुँ । वास्तविक जीवनदेखि फिल्मी कथामा समेत ज्येष्ठ अवस्थामा दोस्रो विवाह गरेको मेल खान्छ,’ उनी भन्छन् ।
हरिवंशले पत्नी गुमाएका ज्येष्ठ नागरिकका पीडा नजिकबाट बुझ्ने अवसर पाएको बताउ“छन् । ‘यदि मेरो पनि ५० वर्षको उमेरमा दोस्रो विवाह नभएको भए आज म पनि एकल जीवन बिताइरहेको हुने थिएँ,’ उनले भने, ‘त्यसैले ज्येष्ठ उमेरमा आफूलाई एकल हुनबाट जोगाउन र सहाराका लागि भए पनि दोस्रो विवाह गर्नुलाई राम्रै मान्छु ।’ प्रदर्शोन्मुख चलचित्रमा हरिवंशले अभिनेत्री गौरी मल्लसँग दोस्रो विवाह गरेको देखाइएको छ । फिल्ममा गौरी पनि एकल नै हुन्छिन् ।