२०७८ मंसिर १२ आईतवार

गोरखामा काँग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशन २/२ दिन चल्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गोरखामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन दुई दिनसम्म चल्ने भएको छ ।

जिल्ला निर्वाचन समितिले अघिल्लो दिन मनोनयन र भोलीपल्ट मतदान गर्ने गरि कार्यतालिका बनाएको हो । मनोनयनको सबै काम शुक्रवार सकेर शनिवार मतदान र परिणाम घोषणा गर्ने गरि कार्यतालिका बनाइएको सहायक निर्वाचन अधिकृत शिवबहादुर थापाले बताउनुभयो ।

कार्यतालिका अनुसार शुक्रवार साढे १० देखि साढे १२ वजेसम्म सरोकारवालासँग छलफल, १ वजे मतदाता नामावली प्रकाशन र साढे ३ वजेसम्म मनोनयनपत्र दर्ता गरिनेछ ।
लगत्तै नेपाली वर्णानुक्रम अनुसार उम्मेद्वारको प्रथम नामावली प्रकाशन, ५ वजेसम्म दावी विरोध र मनोनयनपत्र फिर्ता, ६ वजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने गरि कार्यतालिका बनाइएको थापाले जानकारी दिनुभयो ।

मतपत्र छपाई र अन्य ब्यवस्थापनको काम सकेर असोज १६ गते बिहान ८ वजेबाट मतदान शुरु गरेर साढे १२ वजेसम्ममा मतदान सम्पन्न गर्ने, सवा १ वजेबाट मतगणना शुरु गर्ने र ४ वजे मतपरिणाम घोषणा गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । अधिवेशनले जिल्लाका दुई वटै क्षेत्रमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, केन्द्रिय महाधिवेशन प्रतिनिधि र केन्द्रिय महासमिति सदस्य चयन गर्नेछ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव सहित पदाधिकारी निर्वाचित हुनेछन् । १ नम्वर क्षेत्रको अधिवेशन काँग्रेसको जिल्ला पार्टी कार्यालय तीनधारे र क्षेत्र नम्वर २ को अधिवेशन निर्माण ब्यवसायी संघको सभाहल हरमटारीमा हुनेछ ।

क्षेत्र नम्वर १ का लागि लक्ष्मणबाबु आचार्य र २ का लागि श्यामप्रसाद लामिछानेलाई मतदान अधिकृत तोकिएको छ । गोरखा नगरपालिकाको वडा नम्वर १ देखि ७ सहित शहिद लखन, गण्डकी, चुमनुब्री, धार्चे, भिमसेन थापा र आरुघाट गाऊँपालिका समेटिएको क्षेत्र नम्वर १ मा १ हजार ४२ मतदाता रहेका छन् ।

यस्तै गोरखा नगरपालिकाको ८ देखि १४ नम्वर वडा सहित पालुङटार, सिरानचोक, अजिरकोट र वारपाक सुलिकोट गाऊँपालिका समेटिएको क्षेत्र नम्वर २ मा ६ शय ९९ मतदाता रहेको सहायक निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।
क्षेत्रीय अधिवेशन सकिएपछि असोज १८ गते जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशनमा पनि अघिल्लो दिन मनोनयन र १९ गते निर्वाचन कार्यक्रम गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित 0 Minutes 64 Views

ताजा समाचार