
अधुरा काम पूरा गर्न फेरि एमालेलाई जिताउनुपर्छ : सूर्य पाठक
एमाले नेता तथा बागलुङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य पाठकले बागलुङको विकासमा केही अधुरा कामहरु बाँकी रहेकाले पुनः जनअनुमोदनका लागि जनतामाझ आएको बताएका छन् । चुनावी घरदैलोका क्रममा शुक्रबार बोल्दै पाठकले पहिलो कार्यकालमा आफूले संसदमा प्रभावकारी भूमिका खेलेको र दोस्रो कार्यकालमा पनि उनी गतिका साथ प्रस्तुत हुने भन्दै जिताउन मतदातासँग आग्रह गरे ।
उनले विकास निर्माणका सवालमा अधुरा कामहरु सम्पन्न गर्नका लागि पार्टीले जित्नुपर्ने बताए । एमाले नभए पूर्व योजना पुरा नहुन सक्ने भएकाले आफू पुनः जनताकहाँ मत माग्न आएको उनको भनाइ छ । कोरोनाका बेला बागलुङ अस्पतालमा आईसीयू स्थापना गर्नेदेखि विकास निर्माणका काममा पार्टीले पर्याप्त काम गरेको उनको भनाइ छ । ठेकेदारहरूको लापरबाहीलगायतका कारण मध्य पहाडीमा लोकमार्ग र केही कामहरु आशातीत हुन नसकेको उनको भनाइ छ ।
आफ्नो प्रतिस्पर्धी जनमोर्चाका चित्रबहादुर केसी भएको र उनीप्रति सम्मान रहेको उल्लेख गर्दै पाठकले तर आजको समाजले जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर राम्ररी बुझेको बताए ।-ratopati