
मानव शरीरको महत्त्वपूर्ण अङ्गहरू मध्येको एक हो मिर्गौला । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मिर्गौलाले हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ ।
मिर्गौलाले राम्ररी काम गर्न सकेन भने शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन पाउँदैन । आखिर किन मिर्गौलाले राम्ररी काम गर्न सक्दैन ? किन मिर्गौला खराब हुन्छ ?
हरेक रोगहरूको जड खरब खानपान भनिन्छ । मिर्गौलाको समस्यामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खानपानको सम्बन्ध हुन्छ ।
खासगरी उच्च रक्तचाप र मधुमेह जस्ता रोगको कारण मिर्गौला खराब हुने गर्छ । उच्च रक्तचाप र मधुमेहको एक प्रमुख कारण खानपान नै हो । त्यसैले मिर्गौला फेल हुनको अप्रत्यक्ष कारण खानपान भएको मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह बताउँछिन् ।
खानपान र जथाभाबी औषधीको सेवनले मिर्गौलामा असर
अधिक मात्रामा प्रोटिन भएको खानेकुरा जस्तै माछा मासु, दूध, गेडागुडी, तोफुको अत्यधिक सेवनले मिर्गौलाको समस्या निम्ताउन सक्छ । कम पानी पिउने र कोक फन्टा जस्ता गुलिया पेय पदार्थको बढी सेवनले मिर्गौलाको समस्या निम्ताउन सक्ने शाही बताउँछिन् । ‘नेपाल लगायत विश्व भरि नै मिर्गौला फेल हुने मुख्य कारक मधुमेह हो । मधुमेह र उच्च रक्तचापको मुख्य कारण अव्यवस्थित जीवनशैली र खानपान हो ।’
कृतिम गुलियो पेय पदार्थ, भुटेको तारेको खानेकुरा, फस्ट फुड, जङ्क फुड आदिले मधुमेह र उच्च रक्तचाप बढाउँछ र मिर्गौलामा पनि समस्या निम्ताउन सक्छ । त्यसको साथै मद्यपान, धूम्रपान पनि मिर्गौलाको समस्या निम्ताउने कारक हो । चाडबाडको बेलामा त झन् धेरै मद्यपान गर्ने चलन छ यसले पनि मिर्गौलामा समस्या निम्ताउन सक्ने उनी बताउँछिन् ।
जथाभाबी जडीबुटी, भस्महरूको सेवनले पनि मिर्गौला बिगार्न सक्छ । जथाभाबी पेनकिलर र यान्टिबायोटिकको सेवनले मिर्गौलामा असर पुग्छ । कसैलाई औषधीको एलर्जीको कारणले पनि मिर्गौला खराब हुन सक्ने डा. शाहीले बताइन् ।
मिर्गौला स्वास्थ्य बनाउने खानपान
– प्रशस्त मात्रामा पानी पिउने ।
– सबै प्रकारका पौष्टिक पदार्थ कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठिक्क परिणाममा पाइने हिसाबले सन्तुलित खाना खाने ।
– साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी ठिक परिमाणमा दैनिक भोजनमा समावेश गर्ने ।
– बढी चिल्लो भएको भुटेको तारेको खानेकुरा कम खाने ।
– बजारमा पाइने क्यान जुस, कोक फन्टा जस्ता पेय पदार्थको सेवन गर्नु भन्दा फलफूलको सेवन गर्ने ।
– बट्टामा तथा प्याकेटमा प्याक भएको खानेकुरा कम खाने ।
– मैदा तथा मैदाजन्य खानेकुराहरू नखाने ।
– डाक्टरको सल्लाह बिना जथाभाबी पेनकिलर र यान्टिबायोटिकको सेवन नगर्ने ।
– रक्सी चुरोटको सेवन नगर्ने ।-onlinekhabar