२०७९ माघ २५ बुधबार

वर्षमै दुई करोडको ‘टुथपिक’ खपत : चिकित्सक भन्छन्, ‘दाँत कोट्याउनु हानिकारक’

वर्षमै दुई करोडको ‘टुथपिक’ खपत : चिकित्सक भन्छन्, ‘दाँत कोट्याउनु हानिकारक’

दशैं जस्तो चाडपर्वमा माछामासु धेरै नै खाइन्छ । माछामासु खाएपछिको समस्या हो, दाँतमा अल्झने । यस्तो बेला स-सना सिन्कोले दाँत कोट्याउने आम प्रवृत्ति छ ।

त्यसो त माछामासु खाएको बेला मात्र होइन, अन्य दिनमा पनि खाना खाइसकेपछि दाँत कोट्याउने बानी हुन्छ । सामान्य लाग्ने यो बानी कति खर्चिलो रहेछ भने भन्सार विभागको पछिल्लो तथ्यांकले छर्लङ्ग पार्छ ।

तथ्यांकले देखाउँछ चालु आर्थिक वर्षमा यसपाली नेपालीले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको सिन्कोले दाँत कोट्याएका छन् । अर्थात कूल ८४ हजार ३ सय ८७ किलोग्राम बराबरको सिन्को खपत विदेशबाट खपत भएको छ ।

जबकि दन्त रोग विशेषज्ञहरु भन्छन्, ‘यसरी दाँत कोट्याउँनु उचित हुँदैन । यसले दाँतलाई कमजोर बनाउँछ ।’

त्यसो भए दाँतमा अल्झिएका खानेकुरा कसरी निकाल्ने ? यसको सही विधी के हुनसक्छ ?

दन्त रोग विशेषज्ञ डा. विप्लव अधिकारी भन्छन्, ‘संभव भएसम्म सिन्कोले दाँत कोट्याउनु हुँदैन । यसरी कोट्याउँदा गिजामा घाउ हुने, पाक्ने, सुनिने भएर दाँतमा फोहोर जम्ने हुन्छ । दाँतमा खाल्डो पर्ने र त्यसैमा किटाणुहरु रहने जोखिम हुन्छ ।’

दाँतमा टुथपिक भाँचिन सक्छ

कतिपय यस्ता समस्या पनि देखिने गरिएको छ कि, दाँतको चेपमा टुथपिक भाँचिएर त्यही अड्किने । जति गर्दा पनि सिन्को निकाल्न नसकेपछि उनीहरु चिकित्सककहाँ पुग्ने गरेका छन् ।

‘यस्तो अवस्थामा आरसिटी गर्नुपर्ने वा दाँत निकाल्नुपर्ने पनि हुनसक्छ’ डा. अधिकारी भन्छन् ।

कतिपयले दाँतभित्र अड्किएका यस्ता सिन्को निकाल्दैनन् । त्यसले बिस्तारै समस्या दिन थालेपछि अरु जटिलता थपिन सक्ने डा. अधिकारीको भनाई छ । ‘दाँतको बीचको खाली भागमा अल्झिएको सिन्कोले गर्दा संक्रमण हुने, अन्य खानेकुरा पनि त्यही जमेर बस्ने जस्ता समस्या हुन्छ’ उनी भन्छन्, ‘यो स्थिती रहिरह्यो भने दाँत र गिजामा निकै हानि पुग्छ ।’

दाँतमा अड्किएको खानेकुरा कसरी झिक्ने त ?

कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले राम्ररी कुल्ला गर्ने, औंलाले दाँत घोट्ने वा हल्का ढंगले ब्रस गर्ने उपाय उचित हुने डा. अधिकारीको सुझाव छ । दाँतमा खानेकुरा अल्झिएमा डेन्टल फ्लोस वा इन्टर डेन्टल ब्रस प्रयोग गरेर खानेकुरा निकाल्न सकिन्छ ।

डेन्टल फ्लोस भनेको धागोले दाँतको कुनाकाप्चाबाट खानेकुरा निकाल्ने विधी हो । यो साामन्य धागोभन्दा फरक हुने डा. अधिकारी बताउँछन् । यस्तो धागो सजिलै चुडिने वा टुक्रिने हुँदैन ।

इन्टर डेन्टल ब्रस पनि प्रयोग गर्न सकिन्छ, जुन अन्य ब्रसको तुलनामा सानो हुन्छ ।

दाँतको फ्लोस गरिसकेपछि नुन राखिएको मनतातो पानीले दाँत कुल्ला गर्नु उचित हुन्छ । यसरी कुल्ला गर्दा सुन्निएको गिजा ठीक हुने र संक्रमणको जोखिम पनि हुँदैन ।

डेन्टल फ्लोस सधैभरी आफुले बोकेरै हिँड्न सकिन्छ । इन्टर डेन्टल ब्रस दिनमा दुई पटक प्रयोग गर्न सकिन्छ । यी दुबै चिज डेन्टल क्लिनिक, मेडिकल वा डिपार्टमेन्ट स्टोरहरुमा सजिलै पाइन्छन् । डा. अधिकारीका अनुसार खानेकुरा खाने वित्तिकै फ्लोस गर्ने बानीले ९० प्रतिसतसम्म दाँतको समस्या कम हुन्छ ।-onlinekhabar

२०७९ कार्तिक ९, बुधबार प्रकाशित 1 Minute 79 Views

ताजा समाचार