२०७९ मंसिर २१ बुधबार

देउसी भैलोमा किन आउँछ बलि राजाको प्रसंग ?

देउसी भैलोमा किन आउँछ बलि राजाको प्रसंग ?

देउसी र भैलो किन खेलिन्छ भन्ने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथनअनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो ।आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएका हुन् ।

यसैले देउसीभैलोमा बलिराजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाउने गरिएको हो । धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारको महत्व धेरै नै छ ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ । भैली गाउँदा कतै लेग्रो तानेर भइलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी हो भनेर खेल्ने चलन छ । यस्तै देउसी खेल्दा पनि कतै देउसी रे, कतै देउसीराम त कतै देउसु रे भनेको पनि पाइन्छ । जे भए पनि देउसी र भैलो गाउँदा ठाउँअनुसारका लोकगाथाहरू पनि जोडिने हुँदा भने यसको महत्व अझ बढेको छ ।

देउसी भैलो रमाइलोका लागि मात्र नभएर कतिपय ठाउँमा राम्रो कामका लागि पनि प्रयोग गरिएको छ । कतिपय ठाउँमा विकृति भए पनि कतिपय समूह र संगठन मिलेर देउसीबाट प्राप्त भएको रकमलाई सामाजिक र कल्याणकारी कामका लागि प्रयोग गर्दै आएका पनि पाइन्छ । यस्ता कामले भने व्यक्ति र समाज दुवैलाई फाइदा हुन्छ ।

देउसी र भैलीलाई यिनीहरुको महत्व झल्किने गरी गाउन सके तिहारको महत्व पहिलेको जति नै हुनेछ । अन्यथा विकृति भित्रिएर आगामी दिनमा अझ समस्या निम्तिने पनि हुन सक्छ । यसर्थ देउसी भैलोलाई भावी सन्ततीले पनि मौलिकता जोगाउन सक्ने गरी मनाउनु अहिलेको आवश्यकता हो ।-lokpath

२०७९ कार्तिक ९, बुधबार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार