
उही अनुहार, उही वाचा : मतदातामा छैन उत्साह,
गुल्मी — पहाडका बेंसी र फाँटमा धान झुलेको देखिन्छ । पाल्पा र गुल्मीमा पाखोबारी हिउँदे खेतीका लागि जोतखन गरिएका छन् । सर्वसाधारण नियमित दैनिकीमै व्यस्त छन् । घाँसदाउरा, वस्तुभाउको रेखदेख र सामाजिक काममा भ्याइनभ्याइ छ । ‘कुलो भत्किएर खेती बन्द हुन लाग्यो,’ पाल्पाको तानसेन–८ पीपलडाँडाकी ३५ वर्षीया विष्णु सोमैले भनिन्, ‘नेता आएर यो गर्छु, त्यो गर्छु भन्छन्, हुने क्यै होइन ।’

२०६७ सालमा स्थानीयले श्रमदान गरेर खनेको गाउँको बाटो भत्किएको छ । यसपालि दसैंमा परेको पानीले बाटो बिगारेको हो । गत बिहीबार पाल्पा–१ बाट सत्ता गठबन्धनका उम्मेदवार भेटघाटमा आएको उनले सुनाइन् । ‘भोट हाल्दाहाल्दै बुढो हुन लाइयो,’ उनले भनिन्, ‘नेता आएर के गर्ने हुन् र ?’ ठूलो चुनाव भएकाले उम्मेदवारले नयाँ योजना सुनाउने विश्वास गरेको तर पुरानै कुरा दोहोर्याएको उनले बताइन् । ‘कुलो, पानी, बिजुली र बाटो बनाउँछु भनेर फर्किए,’ उनले भनिन्, ‘यस्ता आश्वासन सुन्न थालेको २५ वर्ष भइसक्यो ।’
स्थानीय लोकिसरा सारूले सडक बनाउँदा बच्चालाई कोखिलामा बाँधेर १०/१० दिन श्रमदान गरेको सुनाइन् । ‘प्रत्येक चुनावका बेला सडक पक्की बनाउँछु भन्छन् तर काम कहिल्यै हुँदैन,’ उनले भनिन् । ३० वर्षदेखि मतदानमा सहभागी हुँदै आएकी उनले कहिल्यै नयाँ कुरा सुनेकी छैनन् । उम्मेदवारले सधैं बाटो, कुलो, बिजुली, विद्यालय र अस्पतालका कुरा गर्छन् । ‘भोट माग्ने बेला विकासका कुरा गर्छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि पूरा गर्दैनन् ।’
पीपलडाँडा साबिक मदनपोखरा गाविसको बस्ती हो । सिद्धार्थ राजमार्गबाट उकालो यात्रापछि यहाँ पुगिन्छ । गाउँलाई राजमार्गसित जोड्ने सडक पक्की नबनेकामा स्थानीय दु:खी छन् । ‘जागिर खान पाइँदैन, अधिकांश घरबाट पुरुषजति विदेश छन्,’ पिठ्युँमा छोरा बोकेकी स्थानीय पार्वती विकले भनिन्, ‘यहाँ रोजगार छैन, कृषि गर्न पानी छैन ।’
पहिले खानेपानीको समस्या थियो । अहिले खोलाबाट ‘लिफ्ट’ गरेर बस्तीमा पानी आपूर्ति गरिएको छ । ‘पाँच युनिट खपत गरेबापत मासिक दुई सय रुपैयाँ तिर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसभन्दा बढी खपत गरे एक युनिटको २० रुपैयाँ जोडिन्छ ।’ यहीँकी १५ वर्षीया करुणा सारूलाई चुनावबारे जानकारी छैन । स्थानीय विद्यालयमा ७ कक्षा अध्ययनरत उनीमाथि जिम्मेवारीको भारी छ । बुबा बितेपछि आमा दोस्रो बिहे गरेर गइन् । त्यसपछि दुई भाइको रेखदेख गरिरहेकी छन् । दुई दाइ बुटवलस्थित होटलमा काम गर्छन् । ‘पहिरोले घर भत्काएको छ,’ उनले भनिन्, ‘माटो गारो हो । अहिले पनि तल र माथिबाट पहिरोको चपेटामा छ ।’ आफ्नो पीडाबारे सोधपुछ गर्न कोही नआएको उनले बताइन् । ‘चुनाव थाहा छैन,’ उनले भनिन् ।
गुल्मीको छत्रकोट–४ का जीवलाल भुसालले मंसिर ४ मा निर्वाचन भन्ने सुनेका छन् । ‘त्यो बाहेक हामीलाई थाहा छैन,’ उनले भने, ‘नेताहरू आएका छैनन् ।’ उनी गुल्मी क्षेत्र १ का मतदाता हुन् । आफ्नो क्षेत्रबाट प्रतिनिधिसभामा कांग्रेसका चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली उम्मेदवार बनेको सुनेका छन् । ‘दुवै जना पुराना नेता हुन्, जितेर गएपछि लुक्छन्,’ उनले भने, ‘के छ ? कसो छ ? भनेर सोधपुछ गर्दैनन् ।’
दु:ख नगरी खान नपुग्ने भएकाले चुनाव भनेर नेताको पछि लाग्न नसकिने उनले बताए । ‘२५/३० वर्षदेखि यिनैले जितिरहेका छन्,’ उनले भने, ‘खै हामीले नयाँ कुरा गर्न पाएको ? अहिले पनि त्यही पुरानै बाटोघाटो र बिजुलीकै कुरा छ ।’ उम्मेदवारका सबै आश्वासन पूरा भइदिएको भए जिल्ला ‘स्वर्ग’ बनिसक्ने उनले बताए । ‘जिल्लामा गतिलो सडक एउटै छैन,’ उनले भने, ‘बिरामी परे पाल्पा र बुटवल पुग्नुपर्छ ।’
गुल्मी दरबार–३ का दिलबहादुर खासुले निर्वाचन हुन थालेको लामो अवधि भए पनि जिल्लाको देखिने प्रगति नभएको दुखेसो सुनाए । ‘खानेपानी र बाटोघाटोकै अवस्था सुधार भएन,’ उनले भने, ‘कृषकलाई सुविधा छैन । खान नपुग्नेलाई राहत छैन ।’ अहिले महँगी अचाक्ली बढेकाले सर्वसाधारणलाई छाक टार्न असहज भइरहेको उनले बताए । ‘पोहोर १ हजार ३ सय रुपैयाँमा २५ किलो चामल पाइन्थ्यो,’ उनले भने, ‘अहिले २ हजार ५ सय रुपैयाँ पर्न थाल्यो ।’
चुनावका बेला साइनो लाउँदै आउने नेताहरू चुनाव जितेपछि नफर्किने गरेको उनले बताए । ‘नयाँ नारा, नयाँ अनुहारका उम्मेदवार छैनन्,’ उनले भने, ‘पुरानै म:म र चाउमिन हुन् ।’ परिचित उम्मेदवार र पुराना वाचा दोहोरिएकाले यहाँका मतदातामा उत्साह देखिन्न । ‘दलप्रति दिक्क छन्,’ रेसुंगा–८ का व्यापारी खगेन्द्र पाण्डेले भने, ‘जिल्लामा कांग्रेस, एमाले, माओवादीलगायत दलमा आबद्ध नभएका मान्छे पाउन गाह्रो छ । यसपटक दलकै कार्यकर्तामा उत्साह छैन ।’
पटकपटक परीक्षण भइसकेका उम्मेदवार भएकाले पहिला जस्तो चुनावको लहर नदेखिएको उनले बताए । ‘अलि राजनीति लाग्ने जमात जिल्लाबाहिर छ,’ उनले भने, ‘यहाँ दैनिक काम नगरी नहुनेको संख्या धेरै छ ।’ नेताले नातागोता, आसेपासे पोस्न थालेकाले सर्वसाधारणमा दल र चुनावप्रति चासो घट्न थालेको उनले बताए । ‘नेताहरू गाउँतिर केन्द्रित छन्,’ उनले भने, ‘भेटघाटमा पुरानै वाचा दोहोर्याइरहेका छन् ।’ जिल्लाका चोक र चिया पसलमा चुनावी छलफल देखिँदैन ।
‘दलप्रति वितृष्णा’
एमाले जिल्ला सचिव गणेश श्रीपाली पछिल्लो कालखण्डमा मुलुकमा ८/१० वर्षमा व्यवस्था परिवर्तन हुँदै आएकाले जनताले छिटो–छिटो परिवर्तन चाहिरहेको बताउँछन् । ‘बहुदलमा क्षमताभन्दा धेरै आशा/अपेक्षा पैदा गराइयो,’ उनले भने, ‘त्यसअनुसार विकासका योजना पूरा नहुँदा असन्तुष्टि बढ्यो ।’ अहिले जनतामा निराशा रहेको उनले बताए । ‘कोरोना महामारीका बेला जनताले राज्यको व्यवस्थापकीय पक्षका कमजोरी राम्रोसित बुझ्ने अवसर पाए,’ उनले भने, ‘त्यसैले अहिले जनताको सोच बदलिएको छ ।’
सामाजिक सञ्जाल, सञ्चारमाध्यम र इन्टरनेटमा पहुँचले सार्वसाधारणलाई विश्वसित जोडेको उनले बताए । ‘ग्लोबल कनेक्टिभिटीका कारण नेताबीच तुलना बढेको छ,’ उनले भने, ‘राम्रोको तुलनाअनुसार काम नभएपछि असन्तुष्टि बढेको हो ।’ यसले वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने खतरा देखिएको उनले बताए । विगतमा आशा जगाउन नसक्दा अहिले चुनावप्रति मतदातामा उत्साह नदेखिएको उनले बताए । ‘म बच्चा हुँदा अहिलेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार नेता हुनुहुन्थ्यो,’ गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भने, ‘अहिले म नेता भइसकेँ, उहाँहरू चुनाव लड्दै हुनुहुन्छ ।’
यहाँका मतदाताले छिटो समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको उनले बताए । ‘स्थानीय सरकारले गर्ने काम हामी गर्छौं भन्दै हिँड्नुभएको छ,’ उनले भने, ‘प्रदेश र प्रतिनिधिसभा सदस्यको भूमिका बुझाउन नसक्दा पनि अहिले समस्या देखिएको हो ।’ प्रत्येक चुनावमा व्यक्त प्रतिबद्धताअनुसार काम नहुँदा नेताप्रति जनताको विश्वास टुटेको पाएको उनले बताए । ‘अहिले महँगी, बेरोजगारी र मल, बीउ प्रमुख समस्या छन्,’ उनले भने, ‘ठूला विकास आयोजनासित मतदातालाई सरोकार छैन ।’
रेसुंगा बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक गुणानिधि शर्माले लोकतन्त्र प्राप्तिपछि जनतामा ठूला महत्त्वाकांक्षा देखाइएको र ती पूरा गर्न नसक्दा दल र नेतृत्वप्रति वितृष्णा बढेको बताए । त्यसले पछिल्ला चुनावहरूमा मतदातामा चासो कम देखिएको उनको विश्लेषण छ । ‘जनताको स्तर र देशको अर्थतन्त्रको विश्लेषण गरेर मात्र आश्वासन दिनुपर्थ्यो,’ उनले भने, ‘तर देशको अवस्थाको विषयमा ध्यान नदिए चुनावपछि सबै हामी पूरा गर्छौं भन्ने आश्वासन दिएपछि जनताको अपेक्षा र महत्त्वाकांक्षा बढी हुनु स्वाभाविक हो तर आश्वासन पूरा नभएपछि निराशा र वितृष्णा बढ्दै जानु स्वाभाविक हो ।’
नेतृत्वमा नातावाद, परिवारवाद, कार्यसम्पादनमा भ्रष्टाचार र बढ्दो महँगीले पनि मतदाता ‘नो भोट’ को अवस्थामा पुग्न थालेको उनले बताए । स्थानीय तहमा दल र नेताको संस्कार र चरित्रमा समेत अविश्वास बढ्दै गएकाले स्थानीय चुनावपछि पनि मतदातामा विचलन आइरहेको उनको बुझाइ छ ।-ekantipur