२०८० जेष्ठ २३ मंगलवार

युक्रेन यु*द्धमा एक लाख रुसी सैनिक हताहती भएको अमेरिकी जनरलको दावी

युक्रेन यु*द्धमा एक लाख रुसी सैनिक हताहती भएको अमेरिकी जनरलको दावी

युक्रेन यु*द्धमा झण्डै एक लाख रुसी सैनिक हताहती भएको एक शीर्ष अमेरिकी जनरलले बताएका छन् । युक्रेनले पनि यु*द्धमा उस्तै समानस्तरको क्षति सामना गरेको बुधबार अमेरिकी सेनाका जनरल मार्क मिलेले बताएका हुन् ।
झण्डै नौ महिनादेखि चलिरहेको द्वन्द्व ठण्डीको आगमनपछि केही मत्थर भएको देखिएको छ । यस अवधिमा कुनै प्रकारको वार्ता सुरु हुने सम्भावना रहेको विश्लेषकले बताएका छन् ।

युक्रेनमा कूटनीतिको सम्भावनाबारे प्रश्न गर्दा मिलीले पनि पहिलो विश्वयु*द्धको प्रारम्भमा वार्ता अस्वीकार गर्दा मानव पीडा बढेको र लाखौँको ज्यान गएको बताए ।
‘त्यसैले शान्ति हासिल गर्न सकिने अवस्थामा वार्ताको अवसरलाई सदुपयोग गर्नुपर्छ ,’ मिलीले इकोनोमिक क्लब अफ न्युयोर्कलाई गरेको सम्बोधनमा भने ।

यसअघि बुधबार, रुसले आफ्नो सेनालाई खेरसननजिकको नीपर नदीको पश्चिमी किनारबाट पछि हट्न निर्देशन दिएको छ । यसलाई मस्कोको लागि ठूलो धक्काको रुपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य फिर्तीको घोषणालाई यु*द्धको मैदानमा रुसले समस्या भोगिरहेको प्रमाणको रुपमा व्याख्या गरे ।

जेलेन्स्कीले भने रुसले रणनीतिक रूपमा पछि हटेको हुनसक्ने भन्दै अहिले नै उत्साहित हुन नसकिने बताए । अमेरिका र उसका नेटोका सहयोगीहरुले युक्रेन यु*द्धमा प्रत्यक्ष हस्तक्षेप गर्न आफूलाई रोकिराखेका छन्, तर उनीहरुले रूसविरुद्धको संघर्षमा युक्रेनी सेनालाई सैन्य तथा विभिन्न सहयोग दिईरहेका छन् ।

उच्च हताहत संख्याको बाबजुद, मिलीले मस्कोले युक्रेनमा आफ्नो उद्देश्यहरू प्राप्त गर्न असमर्थ भएको र रुसले कहिलेसम्म यु*द्ध टिकाउन सक्षम हुनेछ भन्ने प्रश्नहरू खडा भएको बताए ।-RATOPATI

२०७९ कार्तिक २४, बिहीबार प्रकाशित 1 Minute 77 Views