२०७९ माघ २५ बुधबार

‘धाँधली भयो, अन्तर्घात भयो, भोट ट्रान्सफर भएन’

 

‘धाँधली भयो, अन्तर्घात भयो, भोट ट्रान्सफर भएन’

चुनाव सकिएसँगै हामीले सत्ता गठबन्धनका दलहरुबाट सुन्नु परेको छ, ‘अन्तर्घात भयो, भोट ट्रान्सफर भएन ।’ यथार्थमा सबै सार्वभौम मतदातालाई आफ्ना कार्यकर्ता मानेर अन्तरपार्टी निर्देशन जारी गर्न खोज्दाको परिणति नेतृत्वले भोग्दैछ । तर थोत्रो संगठन शैलीमा आधारित नेतृत्वले मतदाता कसरी चलायमान हुँदैछन् भन्ने बुझ्न कठिन छ ।

कम्युनिस्टहरु हार्दैनन् । कि जित हुन्छ, कि धाँधली । नपत्याए कमरेड झलनाथ खनाललाई हेर्नुहोस् । ०४८ यता एउटा चुनावबाहेक सबै चुनावमा ‘क्रान्तिकारी विजय’ हासिल गरेका उनलाई यसपल्टको नतिजा अलिक हजम भइरहेको छैन ।

 

यथार्थ के हो भने माओवादीले समर्थन नगरेको भए खनाल प्रधानमन्त्री हुन सक्दैनथे । उनले गत स्थानीय चुनावमा कांग्रेसबाट भोट ट्रान्सफर नभएको भन्दै खुलेआम आक्रोश पोखेका थिए । १७ पल्ट प्रधानमन्त्री हारेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल ‘बद्नाम’ छन् । उनको बद्नामीको पृष्ठभूमिमा त्यस बेलाका एमाले संसदीय दल नेता तथा पार्टी अध्यक्ष झलनाथ खनालको अनिर्णय मुख्य कारक थियो । कथित ‘राष्ट्रिय सहमति’ का नाममा एमालेले संसदमा देखाएको तटस्थता यथार्थमा बेइमानी थियो ।

 

इलामका कांग्रेस तर यति ‘बेइमान’ छैनन् । यसअघिका दुई आम चुनावमा आफूले हराएका कांग्रेस नेताहरु हिमालय कर्माचार्य, अनि भूपेन्द्र कट्टेल स्वयं आफ्नो प्रचारमा आफूभन्दा पनि बेसी खटिएको देखेर खनालले तिनको इमानदारी र मुर्खतामा किञ्चित शंका गर्नुपर्दैन ।

 

इलाम क्षेत्र १ का सबै पालिका पुगेर उनीहरुले खनालका भएका, नभएका सबै प्रतिभाबारे बखान गरे । आगामी राष्ट्रपति खनालका लागि कलममा भोट दिन भन्दै उनीहरुले रुख समर्थक मतदातासामु हात जोडे । यो पंक्तिकारले ती भिडियोहरु निकै ध्यान दिएर हेर्‍यो । लाग्छ, त्यति मेहनत तिनले आफ्नै लागि विगतमा गरेका हुँदा हुन् त सायद कांग्रेसको विजय सम्भव हुने थियो ।

 

यति हुँदाहुँदै पनि खनाल हार्दैछन् । कांग्रेसका नेताहरुले मतदातालाई ह्वीप लगाउन सकेनन्, जो खनाल चाहन्थे । परिणाम आइसक्दा पनि उनी थाहा पाउन सकिरहेका छैनन्, आफ्नो राजनीतिक बिश्रामको समय आयो । उनले इलाम १ को गणनामा धाँधली भएको भन्दै मतगणना बहिस्कार गरेका छन् । निर्वाचन आयोगलाई पनि पुनः मतदान (पुनः गणना होइन) माग गरेको जानकारी गराइसकेका छन् ।

 

लोकतन्त्रको कुरा गर्न सजिलो छ, साँच्चिकै लोकतन्त्रवादी हुन कठिन । निश्चित निर्वाचन क्षेत्रलाई आफ्नो जमिनदारी ठान्ने सामन्तवाद रहँदासम्म नेपालीले दुःख पाइराख्नुपर्ने छ । निर्वाचन क्षेत्र जित्न त्यस क्षेत्रमा कम्तीमा एउटा घर किन्नुपर्छ भन्ने सोचले अघिल्लो चुनावमा आरजु राणा देउवाले कैलाली–५ मा घर किनेकी थिइन् । यसपालि प्रचण्डले चितवनमा घर बनाएका थिए, नतिजा जगजाहेर छ । उम्मेदवार अनुपयुक्त लागे मतदाताले उचित निर्णय गर्न सक्छन् । त्यसलाई धाँधली या अन्तर्घात भन्दिएर कुनै पनि नेताको कद बढ्दैन ।

 

तर यसो भन्ने खनाल न त पहिलो हुन्, न त अन्तिम । बाघ आयो– को हल्लाले साँच्चिकै बाघ आउँदा पनि गाउँलेले नपत्याउने लोककथाजस्तै अब त कहीँ साँच्चिकै धाँधली भएको रहेछ भने पनि नागरिकले गम्भीर नहुने अवस्था आउन लागिसक्यो ।

 

चुनाव सकिएसँगै हामीले सत्ता गठबन्धनका दलहरुबाट सुन्नु परेको छ, ‘अन्तर्घात भयो, भोट ट्रान्सफर भएन ।’ यथार्थमा सबै सार्वभौम मतदातालाई आफ्ना कार्यकर्ता मानेर अन्तरपार्टी निर्देशन जारी गर्न खोज्दाको परिणति नेतृत्वले भोग्दैछ । तर थोत्रो संगठन शैलीमा आधारित नेतृत्वले मतदाता कसरी चलायमान हुँदैछन् भन्ने बुझ्न कठिन छ ।

 

प्रहरी प्रशासन सबै हातमा हुँदा पनि तालुकदार गृहमन्त्री बालकृष्ण खाँण स्वयंले चुनाव हारिसके । तर एमालेले भन्दैछ, ‘धाँधली भयो । पुनः मतदान गर ।’ पहिले माओवादीले यसो भन्थ्यो । यसपल्ट ठूलै अग्रता लिँदैगर्दा पनि एमालेबाट यो टिप्पणी आइसकेको छ । फेरि दोहोर्‍याउन मन लाग्यो । कम्युनिस्टहरु हार्दैनन् । कि जित हुन्छ, कि धाँधली ।

 

अनेक गल्तीहरुका बीच पनि कांग्रेस नेतृत्वको शालीनता बरु चित्तबुझ्दो छ । उनीहरु पराजयको जिम्मेवारी लिन्छन् । जवाफदेही बन्ने कोशिस गर्छन् । एकाध घटना छाड्ने हो भने उनीहरु जुन किसिमको स्वभाव देखाउँछन्, वास्तवमा राज्य संस्थापनमा रहने दलहरुमा त्यस्तो चरित्र देखिनुपर्छ ।

 

यसपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरिबाट ल्याइरहेको मत एमाले र माओवादीका नेताहरुले पचाउनै सकिरहेका छैनन् । यथार्थमा रास्वपाले भोट ल्याएको होइन, मतदाताले दिएका हुन् । ल्याउनका लागि उसले अहिलेसम्म देखिने गरी केही गरिसकेको छैन । तर देशभरि स्थापित ठूला नेताहरुका असंख्य गल्तीमाथि घण्टी बजिसक्दा पनि स्वीकार्न तयार नहुने, मतदाताको विवेकलाई उरन्ठेउला, हाहा हुहुमा कुदेका भनेर अपमानित गर्ने नेताहरुलाई फेरि जनताले किन छान्ने ? तिनलाई जनताले किन नेता मान्ने ?

 

यथार्थमा कुनै पनि दलले मतदातालाई भोट दिनका लागि अपिलमात्रै गर्न सक्छ । हामी अघिल्लो चुनावको भोट जोडजाड पारेर नयाँ परिस्थितिको आकलन गर्छौं । जबकि त्यति भोट पाएर सत्तामा गएकाहरुले अवसर पाउँदाखेरि के गरेका थिए ? अनि पकेट एरिया, कोर एरिया छँदैछ भनेर मनलागी, बासी र परित्यक्त अनुहार पठाउँदाको परिणति के हुन्छ भनेर तिनले विचार गरे कि गरेनन् ?

 

विगतमा पाएको भोटलाई मालपोत कार्यालय गएर आफ्नो नाममा राजीनामा पास गरेको नम्बरी जग्गाजस्तो मानेर आज जोपायो त्यही उम्मेदवार भिडाउन खोज्दा क्षति भोग्नुपर्छ भन्नलाई यस्ता धेरैवटा दृष्टान्त काफी छन् । मतदाताले विगतका चुनावको तथ्यांक सम्झेर बस्दैनन्, उनीहरुले उम्मेदवारहरुको अनुहारमा आफ्नो भविष्य कस्तो होला भनेर हेर्छन् ।

 

त्यसैले माधव नेपालले भोट ट्रान्सफर भएन भनेर दिल दुखाउनुको कुनै अर्थ छैन भन्नलाई उनले समानुपातिक तर्फ कमाएको भोट र प्रत्यक्षमा जितेका सिटको अनुपात काफी छ । प्रचण्डले यो चुनावमा तुलनात्मक बढी गुमाएका छन् । तर गठबन्धन नगरेको भए तिनले अझै कति गुमाउँथे होलान् भन्ने कल्पनामात्रै गर्दा पनि कुरो प्रष्ट बुझिन्छ ।

 

गठबन्धन त तालमेलका नाममा मतदातामाथि काठमाडौंबाट जुन निर्णय थोपर्न खोजियो, अब त्यसको निरन्तरता सम्भव छैन भन्नलाई योपल्टको चुनावी नतिजा काफी छ । अब उम्मेदवारी दिने प्रवृत्ति नै बदल्नुपर्छ । निश्चित निर्वाचन क्षेत्रलाई मौजा मानेर जुनीभरि रजाइँ गर्न खोज्दा नागरिकले शान्त प्रतिवाद गर्छन् । त्यसलाई चुनाव भनिन्छ ।

 

कमरेड खनालले यो साधारण सत्यलाई स्वीकार गर्न कति समय लाग्ला ? onlinekhabar

२०७९ मंसिर १०, शनिबार प्रकाशित 1 Minute 32 Views

ताजा समाचार