
माओवादी नेता छोटेलाल यादवको आरोप, ‘कांग्रेसले धोका दियो, राजनीतिक र आर्थिको शोषण गर्यो’
वीरगञ्ज, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता छोटेलालप्रसाद यादवले पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आफूहरुसँग बेइमानी गरेको आरोप लगाएका छन् ।
भर्खरै सम्पन्न आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा पराजय भोगेका यादवले नेपाली कांग्रेसमाथि गठबन्धनलाई दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट मार्फत यादवले कांग्रेसमाथि गठबन्धनलाई दुरुपयोग गरेको, राजनीतिक बेइमानी गर्दै कम्यूनिष्ट आन्दोलनलाई सिध्याउने प्रपञ्च गरेको समेत आरोप लगाउँदै लेखेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनलाई दुरुपयोग गर्यो । राजनीतिक बेइमानी गर्यो । गठबन्धनको मूल्यमान्यता विपरित आफूलाई जिताउन् विभिन्न हत्कण्डा अपनायो । कम्यूनिष्ट आन्दोलन सिध्याउने विभिन्न प्रपञ्च गर्यो र अन्त्यमा हामीलाई धोका दियो ।’
नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटिको सदस्यसमेत रहेका यादवले पर्सा-३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीको ग्रयाण्ड डिजाइनमा आफूलाई धोका दिएर पराजित गराइएको आरोप पनि लगाएका छन् । गठबन्धनको नाममा आफूमाथि राजनीतिक र आर्थिक शोषणसमेत भएको उनको कथन छन् ।
उनीमाथि गरिएको शोषणका कारणनै प्रतिनिधिसभामा चौधरीले पराजय भोग्नु परेको र गठबन्धन प्रति उनको निष्ठाका कारण पर्सा-३ (ख) बाट नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्र प्रदेशसभा सदस्यमा निर्वाचित भएको यादवको भनाई छ । ‘मेरो क्षेत्रमा संसदीय उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीको ग्रयाण्ड डिजाइनमा मलाई धोका दिने काम भयो । गठबन्धनको नाममा मलाई राजनीतिक र आर्थिको शोषण गरियो । फलस्वरूप जनताले उनको र उनका गैरराजनीतिक समूहलाई दण्डित गर्यो र मेरो गठबन्धन प्रतिको निष्ठाको परिणाम स्वरूप प्रदेश सांसद्मा जनार्दन सिंह स्केह्त्र जस्न मनाउन सफल भएका छन् । लालसलाम, जय जनता ।’
पर्सा-३ (क) को अन्तिम मतपरिणाम अनुसार यादव चौथो भएका छन् । स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालले ७ हजार ३ सय ९० मत प्राप्त विजयी हुँदा चौथो भएका यादवले केवल ४ हजार ३ सय ५० ल्याएका छन् ।