२०८० जेष्ठ २३ मंगलवार

धोविनीमा चाँदीको मुकुट लगाएर सांसद् रिजाललाई सम्मान

 

धोविनीमा चाँदीको मुकुट लगाएर सांसद् रिजाललाई सम्मान

वीरगञ्ज, ११ मंसिर । प्रतिनिधिसभा सदस्य (सांसद्) रमेश रिजाललाई चाँदीको मुकुट लगाएर सम्मानित गरिएको छ ।

 

भर्खरै सम्पन्न आम निर्वाचन, २०७९ मा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका सांसद् रिजाललाई चाँदीको मुकुट लगाएर सम्मानित गरिएको हो ।

 

रिजाललाई बधाई दिँदै चुनाव जितेको खुसियालीमा धोविनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जू देवीले चाँदीको मुकुट लगाएर सम्मानित गरेकी छन् ।

 

आइतबार निर्वाचन क्षेत्रमा मतदाताहरुलाई धन्यवाद दिनका निमित्त साँझ धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर पुगेका रिजाललाई उपाध्यक्ष मञ्जू देवीले मुकुट लगाएर बधाई दिएको काँग्रेसका क्षेत्रीय सचिव बिलष्टर अहमदले जानकारी दिए । गाँउपालिका उपाध्यक्ष मन्जु देवी काँग्रेस नेतृ पनि हुन् ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रिजाल आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई पराजित गर्दै विजयी भएका छन् । यसअघिको दोस्रो संविधानसभा निर्वाचन र संविधान बने पश्चात भएको पहिलो आम निर्वाचनमा उनले हार व्यहोर्नु परेको थियो ।

 

पर्सामै यसअघि गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई निर्वाचित भएकै दिन पूर्वमन्त्री प्रदीप यादवले चाँदीको मुकुट लगाएर सम्मानित गरेका थिए । त्यस्तै गत स्थानीय तह निर्वाचनमै वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष पदमा जितेका सुशील कुमार कानुलाई पनि स्थानीयहरुले निर्वाचित भएपश्चात चाँदीको मुकुट लगाएर सम्मानित गरेका थिए ।

 

त्यसअघि २०७४ को आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई पनि विजय जुलुशका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा उनका समर्थकहरुले चाँदीको मुकुट लगाएर बधाई दिँदै सम्मानित गरेका थिए ।

२०७९ मंसिर १२, सोमबार प्रकाशित 1 Minute 64 Views