
ओलीलाई बालेनको चेतावनी : सुकुमबासी प्रकरणमा कसैकाविरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नू
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासी प्रकरणमा कसैकाविरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत बालेनले सुकुमबासीको बारेमा ओलीले बोलेको विषयलाई लिएर यस्तो चेतावनी दिएका हुन्।
‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ। तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो’ उनले भनेका छन्।
सोमबार काठमाडौँ महानगरले थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाउने तयारी गरेको थियो। मंसिर ४ भित्र बस्ती खाली गर्न सूचना जारी भए पनि खाली नभएपछि महानगरले आफैँ हटाउने तयारी गरेको थियो। सुकुमबासी बस्तीका स्थानीयले महानगर प्रहरीमाथि नै आक्रमण गरेका थिए।
आज यही विषयमा ओलीले सुकुमबासीमाथि जबर्जस्ती गरेको भन्दै बालेन र सरकारको आलोचना गरेका थिए। बालेनले पनि ओलीलाई सरकारमा रहँदा सुकुमबासीका समस्या समाधान गर्न केके काम भए भनेर प्रश्न गरेका छन्।
‘मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन। सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे,’ उनले लेखेका छन्, ‘बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो। त्यो पनि राजनीतिक स्वार्थवस। तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।’
बालेनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्
सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।