२०८० जेष्ठ २३ मंगलवार

‘बाँचे भने सम्पर्क गर्छु, मरे भने मेरो लाश नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ’

‘बाँचे भने सम्पर्क गर्छु, मरे भने मेरो लाश नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ’

झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटक थाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।

तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयविदारक घटनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोको क्यासिनोमा उनी एक साथी (नेपाली वा विदेशी नखुलेको) सँगै पुगेका थिए । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेको खबर प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले रातोपाटीलाई जानकारी दिए । झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कम्बोडियाकै तीन सहर सेमरिप, बाटाबहुँ र राजधानी फोनमपेनमा व्यापार गर्दै आएका खड्कासँग दुई दिनअघि मात्रै पाण्डेले भेट गरेका थिए । सो क्रममा निराकारले आफूले कम्बोडियामा व्यापार गर्न चाहेको र सहयोगको आग्रह गरेका थिए । दशैँअघि पहिलो पटक आफ्नो रेस्टुरेन्टमा आएकै बेला पाण्डेसँग भेट भएको उनले स्मरण गरे । उनी फरासिला र मिजासिलो व्यक्तित्वका रुपमा आफूले पाएको खड्काले रातोपाटीलाई बताए ।दशैँअघि मेरो रेस्टुरेन्टमा आइपुग्नु भएको थियो । त्यतिबेला चिनजान भएसँगै एनआरएनएको अध्यक्ष हुनुहुँदो रहेछ सहयोग चाहियो भन्नुभएको थियो’, खड्काले स्मरण गरे, ‘यहाँ एक महिनाको पर्यटक भिसा र पछि यतैबाट एक महिना थप्न मिल्नेगरी दुई महिनाको भिसा हुन्छ ।

त्यतिबेला भिसा सकिन लागेकाले नेपाल फर्केर फेरि आउँछु भनेर फर्कनु भएको थियो र तिहार सकेर आइहाल्नु भयो ।’ कम्बोडिया फर्किएपछि राजधानी सहर फोनमपेनमा दुई दिनअघिमात्र भेट भएको र सो क्रममा रेस्टुरेन्ट व्यवसाय गर्न लागेको सुनाएको खड्काले स्मरण गरे । तर, बिडम्बना, हृदयविदारक घटना सत्य भएपनि विश्वास गर्न गाह्रो भइरहेको खड्काले बताए ।

 

भेटका क्रममा पाण्डेले आफू पोइपेट जान लागेको र फेरि भेट्ने बाचा गरेर खड्कासँग छुट्टिएका थिए । एकाएक बिहीबार राति आफू आपतमा परेको भन्दै पाण्डेको भ्वाइस मेसेज पाएको बताउँदै उनले भने, ‘घटना भएको बिहीबार राति उहाँले तीन बजे भ्वाइस मेसेज पठाउनु भएको रहेछ । यस्तै बिहान पाँच बजेर ५० मिनेटमा फेरि रिपिट पठाउनु भएको रहेछ’, उनले रातोपाटीसँग भने, ‘राति इन्टरनेट बन्द गरेर सुतेकाले ढिलामात्रै खबर पाएँ ।’

उठेर मोबाइल चेक गर्दा निराकारको मेसेज देखेको र सोधखोज गर्दा दुःखद घटना भइसकेको खबर पाएको उनले बताए । ‘मलाई जस्तै मेसेज उहाँले अन्य साथीहरु र घरमा पनि गर्नु भएको रहेछ’, विस्मयका साथ खड्काले भने, ‘दशौँ तलाबाट हामफालेर उहाँको दुःखद मृत्युको खबरले यहाँको नेपाली समूदाय स्तब्ध बनेको छ ।’

 

यसैबीच खड्कासहितको टोली १० घण्टाको यात्रा तय गरेर घटनास्थलमा पुगेर अवस्था बुझेर फर्किएको छ । पाण्डेको शव अहिले स्थानीय बौद्ध गुम्बाको आइसमा बक्समा राखिएको छ । घटनालगत्तै नेपाली दूतावास थाइल्याण्डबाट प्रथम सचिव खगराज पाण्डेको टोली पनि पेइपेट पुगेको खड्काले जानकारी दिए । उनले शव नेपाल पठाउनका लागि एनआरएनएसहित दूतावासले आवश्यक पहल गरिरहेको र छिट्टै सबैको समन्वयमा पठाइने बताए ।

 

एनआरएनए कम्बोडियाले परिवारसँग पनि सम्पर्क गरेको उल्लेख गर्दै खड्काले परिवारले शव नेपाल पठाउनका लागि आर्थिक लगायतका सहयोगको आग्रह गरेमा त्यसमा पनि लागिने बताए । उसो त एनआरएनएका अध्यक्ष कुल आचार्य बद्री केसी, उपमहासचिव रामशरण सिम्खडालगायतलेसमेत यसबारे गम्भीरता दर्शाउँदै नेपाल शव पठाउन पहल लिइरहेको बताइएको छ ।

 

स्थानीय सञ्चारमाध्यमले बिजुली सर्ट भएर भीषण आगलागी भएको जनाएका छन् । त्यही कार्यरत केहीले भने किचेनबाट ग्यास लिक भइ एकाएक आगो सल्किएको आफूहरुले देखेको बताएका छन् । सोही क्यासिनोमा तीन नेपाली कार्यरत रहेको र उनीहरु सबैको भने भागेर ज्यान जोगिएको खबर प्राप्त भएको खड्काले जानकारी दिए । कम्बोडिया नेपालीहरुको निकै कम उपस्थिति भएको देश हो । सो देशमा साढे दुई सयको हाराहारीमा नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत छन् ।

 

भुइँ तलाबाट माथिल्लो तलातर्फ आगो सर्दै गएपछि निराकारले चिनेजानेका र आफन्तलाई फोन तथा भ्वाइस एसएमएस थालेको बताइएको छ । सो आपतको समयमा उनले झापास्थित घरमा रहेका बुबा, आमा, श्रीमती, दाइलगायतसँग समेत कुराकानी गरेका थिए । उनको बुबा स्थानीयस्तरमा राजनीतिमा संलग्न रहेको बताइएको छ

 

१८ तले क्यासिनो तथा होटलको १० औं तलाबाट उनी केही नलागेपछि हामफालेको बताइएको छ । उनी होटलबाट हामफाल्दाका हृदयविदारक तस्बिरहरु सामाजिक सञ्जालमार्फत बाहिर आएका छन् । सो घटनामा पाण्डेसहित २४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तै ७० भन्दा बढी घाइते हुनुका साथै केही अझै भवनमा च्यापिएको हुनसक्ने उद्धारकर्ताहरुले बताएका छन् । आगलागीबाट भवन ध्वस्त बनेको छ ।

 

निराकार पाण्डेको यस्तो छ हृदयविदारक भ्वाइस मेसेज

 

​​एनआरएनए कम्बोडियाका अध्यक्ष खड्कालाई पाण्डेले तीन वटा अडियो क्लिप पठाएका छन् । जसमा उनले आफ्नो उद्धारको अनुनय गर्दै मृत्यु भएमा शव नेपाल पठाइदिन आग्रह गरेक छन् । उनले एउटा भ्वाइस मेसेजमा भनेका छन्, ‘मेरो नाम निराकार पाण्डे हो । झापा जिल्लाको बिर्तामोड १ मा मेरो घर छ । मेरो बुबाको नाम अग्निप्रसाद पाण्डे हो । मेरो मिसेसको नाम शशीकला लोहनी हो । पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलमा छु ।

 

मेरो रुम नम्बर १२२७ हो दाइ, यहाँ भीषण आगलागी भयो । मैले तपाईँको नम्बर मेरो सिसेसलाई पनि दिएको छु । उसले सायद भोलि तपाईँलाई सम्पर्क गर्छ होला । दाइ, बाँचे भने सम्पर्क गर्छु, मर्यो भने मेरो लाश ल्याउनका लागि, नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ । होटल पोइपेट बोर्डरसँगै छ। यो थाइल्याण्डको बोर्डरसँगै छ ।’

 

१३ सेकेन्डको अर्को एउटा भ्वाइस मेसेज पनि उनले पठाएका छन् । त्यसमा भनेका छन्, ‘पोइपेटको होटल ग्राण्ड डायमण्ड होटलमा भीषण आगलागी भएको छ है दाइ । मेरो लाश नेपाल पठाउनका लागि पहल गर्दिनु होला है दाइ ।’ जुन अडियो क्लिप छाडेर पाण्डे कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् ।

२०७९ पुष १६, शनिबार प्रकाशित 1 Minute 147 Views