२०७९ माघ २५ बुधबार

सीमामा सस्तियो भारु, महँगियो नेरु

सीमामा सस्तियो भारु, महँगियो नेरु

माघ ८, २०७९यज्ञ बञ्जाडे, शंकर आचार्य, जे पाण्डे, विनोद भण्डारी

चोरी निकासीमार्फत भित्रिएको रकम बैंकमा साट्दा स्रोत खुलाउनुपर्ने भएकाले व्यवसायीले भाउ घटेर भए पनि अनौपचारिक माध्यमबाटै सटही गर्न थाले

काठमाडौं, पर्सा, नेपालगन्ज र विराटनगर — पछिल्ला सातामा नेपालका सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा (भारु) को आपूर्ति बढेको छ । नेपाली मुद्रा (नेरु) को तुलनामा भारतीय मुद्राको आपूर्ति बढेपछि अनौपचारिक कारोबारमा भारुको भाउ घटेको व्यवसायी बताउँछन् । छोटो अवधिमै (एकदेखि डेढ महिना) भारुको सटही मूल्यमा धेरै कमी आउनुले पनि सीमावर्ती क्षेत्रमा नेरुभन्दा भारुको आपूर्ति धेरै रहेको पुष्टि हुने जानकारहरूको भनाइ छ ।

 

 

 

सुन, गाँजालगायत सामग्रीको चोरी निकासी बढेकाले नेपाली बजारमा भारु आपूर्ति बढेको उनीहरू बताउँछन् । चोरी निकासीमार्फत भित्रिएको रकम बैंकमा सटही गर्दा स्रोत खुलाउनुपर्ने भएकाले व्यवसायीले भाउ घटेर भए पनि अनौपचारिक माध्यमबाटै सटही गर्न थालेको उनीहरूको भनाइ छ ।

नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारु चलाउन बन्देज छ । तर सीमावर्ती क्षेत्रमा खुलेआम ती दरका भारु पनि चलनचल्तीमा छन् । ठूला कारोबारमा ५ सय र २ हजार दरका भारु नोट बैंक प्रयोग हुने तर ती दरका नोट बैंकले सटही नगरिदिने भएकाले पनि व्यवसायी अनौपचारिक माध्यमबाट साट्न बाध्य भएको जानकारहरूले बताए । ‘भारु बढ्नुको प्रमुख कारण भारततर्फको निकासी बढ्नु नै हो । निकासी औपचारिक प्रणालीबाट भएको भए राष्ट्रको ढुकुटीमा विदेशी मुद्रा आउँथ्यो,’ स्रोतले भन्यो, ‘अनौपचारिक प्रणालीबाट भएकाले बजारमा भारु बढी भयो । भारुको तुलनामा नेपाली मुद्राको उपलब्धता कम भएपछि भारुको भाउ घटेको हो ।’ यसरी बजारमा भारुको आपूर्ति धेरै भयो । भारुको तुलनामा नेरुको आपूर्ति कम हुँदा नेरु महँगो र भारु सस्तो भएको हो ।

 

सीमावर्ती क्षेत्रमा नेरु बलियो र भारु कमजोर भएको विषयमा नेपाल राष्ट्र बैंक पनि जानकार छ । यही कारण राष्ट्र बैंकले आफ्ना प्रादेशिक कार्यालयसँग के कारणले यस्तो अवस्था आएको हो भन्नेबारे जानकारी पनि मागेको थियो । तर यही नै कारणले भारु अवमूल्यन भएको हो भन्नेबारे निश्चित भइनसकेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘सीमावर्ती क्षेत्रमा भारु अवमूल्यन भएको जानकारी हामीले पनि पाइरहेका छौं,’ उनले भने, ‘भारतबाट जुवातास खेल्न आउने, सामाजिक कार्यमा नेपालमै आएर भोजभतेर गर्ने प्रचलन पनि बढेको जानकारी आएको छ ।’ केही समययता नेपालबाट भारतमा सुन तस्करी पनि बढेको सुन्नमा आए पनि त्यो पुष्टि हुन नसकेको उनले जनाए ।

 

 

 

सुनलगायत महँगा सामान भारततर्फ निकासी बढेकाले नेपाली बजारमा भारुको आपूर्ति बढेपछि नेरुको भाउ बलियो भएको हुन सक्ने राष्ट्र बैंकका पूर्वकामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘प्रायः सीमावर्ती बजारमा भारुभन्दा नेरु नै कमजोर हुने हो । तर सुनलगायत वस्तुको चोरी निकासी धेरै हुँदा भारुभन्दा नेरु बलियो हुन्छ । विगतमा पनि यस्तो भएको थियो,’ उनले भने, ‘अहिले पनि त्यही भएको हुन सक्छ ।’ अनौपचारिक गतिविधिमार्फत नेपाल भित्रिएको भारुको स्रोत नखुल्ने भएकाले बैंकमा सटही नहुने र अनौपचारिक रूपमै सटही गर्नुपर्दा भाउ कम हुने उनले बताए ।

 

अहिले धान, उखुलगायत सामग्रीको चोरीमार्फत निकासी भएकाले पनि भारुको आपूर्ति बढी भएकाले नेरु बलियो भएको हुन सक्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ । ‘नेपाल सरकारले समयमै धानको समर्थन मूल्य नतोकिदिने र तोकिदिए पनि खरिद नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘यसकारण अनौपचारिक ढंगले भारततर्फ धानको निर्यात भयो । उखुमा पनि यही समस्या भएको हुन सक्छ ।’ भैरहवा क्षेत्रका सीमावर्ती बजारमा एक सय भारुको नेपाली १ सय ५२ रुपैयाँसम्ममा कारोबार भइरहेको जानकारी कान्तिपुरलाई प्राप्त भएको छ । करिब डेढ महिनायता उक्त क्षेत्रमा भारुको आपूर्ति आश्चर्यजनक तरिकाले बढेको भैरहवास्थित राष्ट्र बैंकको कार्यालयले स्वीकार गरेको छ । राष्ट्र बैंकमा दैनिक भारु सटही गर्न आउने नागरिकको संख्या घट्नुले पनि बजारमा भारुको आपूर्ति बढी भएको पुष्टि हुने स्रोतले बताएको छ ।

 

‘यसअघि बैंकमा भारु सटही गर्न आउनेको भीड धेरै हुन्थ्यो । भैरहवास्थित आँखा कार्यालय पनि सातामा एक/दुई पटक मात्र ऊसँग भएको भारु सटही गर्न आउँथ्यो,’ बैंक स्रोतले भन्यो, ‘अहिले भारु माग्न आउने नागरिक घटेका छन् । आँखा अस्पताल पनि दैनिकजसो भारु सटही गर्न आउन थालेको छ ।’ भारतमा सुन निकासी बढेको, पूर्वभारतीय सैनिकलाई एसबीआई बैंकले भारुमै पेन्सन वितरण गरेको, भारतमा किनमेल जाने घटेकोलगायत कारण भारुको आपूर्ति बढेको स्रोतको दाबी छ ।

 

यसैबीच एक सातायता वीरगन्ज र सीमावर्ती भारतीय सहर रक्सौलमा पनि भारुको अवमूल्यन र नेपाली रुपैयाँको मूल्य आश्चर्यजनक ढंगले बढेको पाइएको छ । भारु हात पर्दा दंग पर्ने नेपाली व्यापारी अहिले बजारमा जताततै भारतीय रुपैयाँको कारोबार बढेपछि चकित छन् । अनौठो त के छ भने सय भारुको १ सय ६० रुपैयाँमा कारोबार हुँदै आएको भारतीय मुद्राको विनिमय दरसमेत नेपाली बजारमा घटेको पाइएको छ । वीरगन्ज र रक्सौलमा १ सय भारु साट्दा नेपाली १ सय ५५ रुपैयाँ दिए पुग्छ । विनियम मूल्यलाई घटाएर गरिने व्यापारलाई स्थानीय कारोबारीले ‘बट्टा’ को संज्ञा दिने गरेका छन् ।

 

पुस तेस्रो सातादेखि रक्सौल बजारका व्यापारीले आश्चर्यजनक रूपमा नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा बट्टादर घटेर १ सय ६० रुपैयाँमा झर्‍यो । माघ सुरु भएपछि भारतीय बजार रक्सौलमा भारुभन्दा नेपाली रुपैयाँ बलियो हुँदै गएको छ । ०७२ सालको भूकम्पपछि र भारतीय नाकाबन्दीका बेला रक्सौल बजारको व्यापारमा निकै गिरावट आएको थियो । व्यापारमा ठूलो मन्दी छाएपछि रक्सौलका व्यापारीले नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिएका थिए । ‘रक्सौलमा नेपाली मुद्राको बट्टा लिन थालेको २५ देखि ३० वर्ष भयो । तर ०७२ को मधेस आन्दोलनपछि अहिले नेपाली रुपैयाँभन्दा भारु कमजोर देखिएको छ । एक सयमा ५ रुपैयाँ घट्नु भनेको ठूलो गिरावट हो,’ सीमावर्ती रक्सौलका व्यापारी दीपक अग्निरथले भने ।

 

यी हुन् सम्भावित कारण

 

सुनलगायत बहुमूल्य धातुको चोरी निकासी बढ्नु

गाँजालगायत लागूऔषधको चोरी निकासी बढ्नु

धान, उखुलगायत सामग्रीको चोरी निकासी बढ्नु

नेपालमा जुवातास खेल्न आउने भारतीय बढ्नु

भोजभतेरमा भारतमा मदिरा बन्देज भएकाले भारतीयले नेपालमा आएर भोज गर्नु

ठूला दरका भारू चलनचल्तीमा नहुनु

नेपालीबाट भारतीय बजारमा किनमेल गर्न जाने घट्नु

दुई महिनायता नेपालको बाटो भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र गाँजाका कारण रक्सौलमा नेपाली मुद्राको माग भाउ बढेको उनको दाबी छ । ‘नेपाली तथा चिनियाँ व्यापारीले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीसँग नेपाली मुद्रामै गर्न चाहन्छन् । त्यसले गर्दा करोडौं नेपाली मुद्राको माग बढेको छ, जसका कारण नेपाली रुपैयाँ महँगो मूल्यमा किनेर नेपाली कारोबारीलाई दिन थालेका हुन् ।’

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले चिनियाँ सुन तस्करी भइरहेको भनी भारतीय व्यापारीले गरेको दाबी सत्य नभएको बताए । ‘चिनियाँ सुन वा गाँजा नेपाल हुँदै भारत पुग्ने गरेको सत्य होइन,’ उनले भने, ‘दुवै मुलुकबाट एकअर्को मुलुकमा हुने लागूऔषध तस्करी नियन्त्रण गर्न प्रयास गरिएको छ ।’ दुई सातायता वीरगन्जमा भारुको माग पनि घटेको छ । वीरगन्जस्थित नेपाल राष्ट्र बैंक शाखामा दुई सातायता प्रतिदिन १ लाख हाराहारीमा मात्र भारु सटही भइरहेको छ । त्यसअघि प्रतिदिन ४ देखि ५ लाखसम्म भारु सटही हुने गरेको शाखाका व्यवस्थापक राजनदेव भट्टराईले जनाए ।

 

पश्चिमको अर्को सीमावार्ती रुपैडिहा बजारमा पनि प्रतिदिन १० करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । तर नेपालगन्जको जमुनाह नाकासँगै जोडिएको रुपैडिहामा रक्सौलमा जस्तो नेपाली मुद्राको भाउ बढेको भने छैन । तर भारतीय बजारमा नेपाली रुपैयाँमा हुँदै आएको कारोबार भने बढेको छ । ‘यहाँ प्रतिदिन १० करोड रुपैयाँको कारोबार हुँदै आएको हाम्रो सर्वेक्षणले देखाएको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले भने, ‘त्यो नेपाली रुपैयाँ साटेर व्यापारी तथा एजेन्टले भारु लैजान्छन् । यसबाट नेपालमा भारतीय मुद्रा सञ्चिति घट्ने देखिन्छ ।’

 

सीमापारि नेपाली मुद्रामा हुने कारोबार बढेपछि भारु खोज्न व्यापारी तथा एजेन्ट पहाडी जिल्लामा समेत पुग्ने गरेका छन् । भारतमा रोजगारी गरी कमाएर ल्याएको भारु साट्न पहाडी जिल्लामा जाने गरेका हुन् । ‘सीमावर्ती भारतीय बजारमा नेपाली मुद्रामा कारोबार गर्दा जम्मा भएको रकम भारतमा चल्दैन । त्यसैले कुन नेपालीसँग भारु छ, त्यो पत्ता लगाउने र त्यहाँ पुगेर नेपाली रुपैयाँ दिई भारु लिएर फर्किने गर्छन्,’ मन्सुरीले भने । वीरगन्ज र नेपालगन्ज जस्ता प्रमुख सीमावार्ती सहर नजिकका भारतीय बजारमा देखिएको नेपाली र भारतीय मुद्राको कारोबारलाई राष्ट्र बैंकले नियन्त्रण गर्न सकेको छैन ।

 

नेपालगन्जमा सञ्चालित क्यासिनोमा सीमापारिबाट आउनेले भारुमा जुवा खेल्छन् । त्यो रकम पनि राष्ट्र बैंकमा नपुग्ने गरेको सरोकारवाला बताउँछन् । बरु सीमापारि नेपाली मुद्रामा कारोबार गर्ने भारतीयले यता आएर पैसा साटेर लैजाने गरेका छन् । यसो गर्दा विदेशी मुद्रा सञ्चितिमा कमी आउने र मुद्राको अवैध धन्दा बढ्ने जोखिम बढेको उनीहरूको भनाइ छ । यता मोरङको सीमावर्ती क्षेत्रमा पनि एक सातायता भारु–नेरु सटही केन्द्रमा मन्दी आएको छ । धेरैजसो सटही केन्द्रको कारोबार बन्द भएको छ । चालु अवस्थामा रहेका केन्द्रमा पनि पहिलाको जस्तो नाफामूलक कारोबार छैन । ‘यस बेला सय रुपैयाँ भारु साट्दा पाँच पैसा पनि नाफा आउँदैन,’ जोगवनी नाकामा दुई दशकदेखि भारु–नेरुको सटही गर्दै आएका नासिर खानले भने, ‘त्यसैले सटहीको काम एक सातायता बन्द गरेको छु ।’

 

कुनै समय भारुको दाँजोमा नेरुको मूल्यांकन थिएन । त्यस बेला सय रुपैयाँ भारुलाई नेरुमा साट्दा कम्तीमा पाँच रुपैयाँ कमिसन हुन्थ्यो । अहिले कमिसन हुँदैन । ‘प्रतिदिन एक लाखको भारु–नेरुको सटही गर्थें,’ खानले भने, ‘एक साता भयो, एक हजारको पनि सटही छैन । पहिला सय भारु १ सय ७० रुपैयाँसम्ममा बिक्थ्यो ।’ अहिले सय भारु १ सय ५८ रुपैयाँमा बिक्री भइरहेको उनको भनाइ छ ।

 

‘इतिहासमै भारुको तुलनामा मोरुको मूल्यांकन बढेकामा खुसी लागेको छ,’ उनले भने । कुनै समय नेपाली रुपैयाँको दाँजोमा भारतीय रुपैयाँको मूल्यांकन बढी हुँदा सय रुपैयाँको सटहीमा १० रुपैयाँसम्म कमिसन पाइने गरेको उनको भनाइ छ । एक सातायता नाकाबाट आउजाउ गर्नेले न भारु माग्ने गरेको, न नेरु नै साट्ने गरेको रंगेली चाप्राहका नेरु–भारु सहटी व्यवसायी सुरज मण्डलले बताए । साताअघि मात्र एक सय भारुलाई १ सय ७० रुपैयाँसम्ममा बेचेको उनको भनाइ छ । मोरङमा दुई दर्जनभन्दा बढी मुद्रा सहटी केन्द्र छन् । यस बेला ती सबै सटही केन्द्रको व्यापार सुकेको छ ।

२०७९ माघ ९, सोमबार प्रकाशित 1 Minute 38 Views

ताजा समाचार