२०७९ चैत्र ७ मंगलवार

कोरियामा मासिक तीन लाखको जागीर छाडेर नेपाल फर्किएर एक करोड लगानीमा ममः उद्योग खोले गिरीले

वैदेशिक रोजगारीका क्रममा १५ वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका एक युवा उद्यमीले आफ्नो उद्योगमा ८ जनालाई रोजगारी दिएका छन् । भरतपुर –५ तोरी खेतका इभान गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँको जागीर छाडेर नेपाल फर्किएर उद्यमी बनेका हुन् ।

उनले भरतपुर–५ को शान्तिचोकमा उरी मःम उद्योग सञ्चालन गरेर थप आठ जनालाई रोजगार प्रदान गरेका हुन् । “हाम्रो उद्योगबाट स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर बिभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गर्नेगरेका छौँ” गिरीले भने, “२० लाख रुपैयाँबाट शुरु भएको उद्योगमा अहिले करिब एक करोड रुपैयाँ लगानी पुगेको छ ।”

कोरिया हुँदा उद्योगमा काम गर्ने क्रममा खाद्य उद्योगमा काम गरेको बताउँदै गिरीले नेपालमा नै केही गर्ने उद्देश्यले पाँच वर्ष अघि स्वेदश फर्किएको बताए । “लामो समय कोरिया बसेँ, त्यहीँको कार्ड बन्ने तयारी थियो” गिरीले भने, “परिवारका सदस्यको घर फर्किए हुन्थ्यो भन्ने इच्छा र मेरो पनि नेपालमै केही गरौँ भन्ने चाहनाका कारण आज यो सफलता हात परेको छ ।”

“म वैदेशिक रोजगारबाट फर्किएरपछि घर बनाउने तथा विवाह गर्ने काम गरेँ” गिरीले भने, “कारोनाका कारण नेपालमा लकडाउन भएको समयमा धेरै सोच विचार गर्ने समय मिल्यो र उरी मःम सञ्चालन गरेँ ।” शुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे पनि बिस्तारै लगानी थप्दै जाँदा अन्य श्रमिक पनि थप्दैगएको गिरीले बताए ।

“एक बर्षअघि हामी श्रीमान्श्रीमती भएर उद्योग सञ्चालन ग¥यौँ, शुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो सन्देह थियो” गिरीले भने, “बजारबाट राम्रो प्रतिक्रिया र माग बढ्न थालेपछि उद्योगमा लगानी बढाएसँगै कामदार पनि थप गर्दै लगेँ ।” कोरियन प्रविधिको प्रयोग गरेर अत्याधुनिक मेसिनबाट उत्पादन गरिएको मःम फ्रोजन गरेर प्याकिङपछि होलसेल तथा खुद्रा बिक्री गर्दैआएको उनले बताए ।

गिरीका अनुसार उनले उद्योगबाट उत्पादन गरेको मःम तीन घण्टाभित्र फ्रोजन गरेर बजारमा पठाउँछन् । “मेसिनबाट मःम उत्पादन भएपछि फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । चाँडो फ्रोजन भएको मःम गुणस्तरीय हुन्छ” गिरीले भने, “हामीले चाँडो फ्रोजन हुने मेसिन राखेर मःम फ्रोजन गरेपछि बजारमा पठाउने गरेका छौँ ।” ममःको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्री वितरण गर्नेगरेको प्रष्ट पार्दै गिरीले गुणस्तरीय उत्पादन भएकै कारण बजारमा माग बढी भएको बताए ।

दैनिक पाँच हजार प्लेट मःम उत्पादन गर्ने उद्योगको क्षमता रहेको उल्लेख गर्दै गिरीले अहिले दैनिक दुई हजार प्लेट मःम मात्रै उत्पादन भइरहेको बताए । “अहिले हामीले उत्पादन गरेको मःमका लागि बजारीकरणमा खासै समस्या छैन” गिरीले भने, “चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म हामीले फ्रोजन मःम पु¥याउँदै आएका छौँ ।”

“सानो लगानीमा पनि युवाहरुलाई स्वरोजगार हुनका लागि म सहयोग गर्छु” गिरीले भने, “खाडी मुलुक जान पनि साढे एक लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर, त्यो लगानी लिएर यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।” युवाहरुलाई आफूले उरी मःमको डिलरसीप दिएर नेपालमै उद्यमशील बन्न प्रेरिरत गर्ने उनले बताए ।

२०७९ माघ १३, शुक्रबार प्रकाशित 0 Minutes 46 Views

ताजा समाचार