२०७८ आश्विन ४ सोमबार

नारायणगढको शहिदचोकमा रहेको जनता कृषि सहकारी संस्थाले ग्राहकबाट उठाएको पैसा दुरुपयोग

नारायणगढको शहिदचोकमा रहेको जनता कृषि सहकारी संस्थाले ग्राहकबाट उठाएको पैसा दुरुपयोग गरेको पाइएको छ । कृषि सहकारीका नामबाट खोलिएको सहकारी संस्थालाई अवैध कारोबारमा संलग्नहरुले आफू अनुकुल प्रयोग गरेको पाइएको हो । पछिल्लो समय चर्चामा रहेको अवैध मोबाइल कारोबारमा सहकारी संस्थालाई समेत प्रयोग गरिएको आरोप लागेको छ ।

नारायणगढको ‘ए एण्ड के’ मोबाइलका सञ्चालक अर्जुन शर्मा भनिने अर्जुन ढकाल करिब एक करोड बराबरको अवैध मोबाइलसहित पक्राउ परेपछि सहकारीको गतिबिधि सार्वजनिक भएको हो । सो जनता कृषि सहकारी संस्थाको उपाध्यक्ष स्वयम शर्मा रहेका छन् । उनले आफ्नै बुबा होमनाथ ढकाललाई सहकारीको अध्यक्ष बनाएर सहकारीको पैसा आफू अनुकुल प्रयोग गर्दै आएका थिए ।
सहकारीका अध्यक्ष रहेका होमनाथ ढकालले आफूलाई सहकारीको सम्बन्धमा केही जानकारी नभएको बताए । उनले भने, ‘मलाई अध्यक्ष बनाइदिएका छन् । कहिलेकाहीँ मिटिङ्गमा जाने गरेको छु । आवश्यक परेको खण्डमा हस्ताक्षर गर्ने गरेको छु ।’ शर्माले सहकारीलाई आफू अनुकुल प्रयोग गर्नका लागि सहकारी सम्बन्धि धेरै जानकारी नभएका आफ्नै बुवालाई अध्यक्ष बनाएको सहकारीका एक सदस्यले बताए ।

सहकारीमा आफू अनुकुल कारोबार गर्नकै लागि शर्माले आफ्नो मोबाइल पसल ‘ए एण्ड के’ र सहकारीमा एउटै एकाउण्टेन्टलाई काम लगाउने गरेको ती सदस्यले बताए । ‘एउटै एकाउण्टेन्टले दुई तिर काम गर्छ । कारोबार गोप्य राखिन्छ । मोबाइल पसलका लागि सहकारी प्रयोग गरेर अवैध लाभ लिइएको रहेछ ।’

सहकारीमा शर्माले आफू अनुकुल कर्मचारी र व्यवस्थापनमा मान्छे राखेर अन्य कुरा गोप्य राख्ने गरेका थिए । सहकारीका अर्का एक सदस्यले सहकारीले लिने र प्रदान गर्ने ब्याजका सम्बन्धमा समेत सेयर सदस्यहरुलाई जानकारी नदिने गरेको बताए । ‘मैले कतिपटक ब्याजदरका विषयमा कुरा निकालेँ । तर आलटाल गर्न खोजियो’ उनले भने ।

सहकारीका सम्बन्धमा नारायणी अनलाइनले बुझ्न खोज्दा व्यवस्थापक तोरण सुवेदीले सूचना दिन आनाकानी गरे । उनले सहकारीका अध्यक्षको नाम र फोन नम्बर समेत दिन मानेनन् । उनले सुरुवातमै सहकारीलाई मोबाइलको अवैध कारोबारसँग नजोड्न अनुरोध गरे । नारायणी अनलाइनले आवश्यक जानकारी भेटाएपछि मात्र उनले अर्जुन शर्मा र होमनाथ ढकाल बाबु छोरा भएको स्वीकार गरे । उनीहरु छुट्टि सकेका (अंशवण्ड भएका) कारण एउटै सहकारीको अध्यक्ष उपाध्यक्ष बन्न पाएको व्यवस्थापक सुवेदीले जिकिर गरे । सुवेदीले भने, ‘सहकारीको बारेमा अध्यक्ष, उपाध्यक्ष लगायत अन्य पदाधिकारीलाई केही थाहा हुँदैन । सबै काम मैले हेर्ने हो । ऋण लगानी र ब्याजका सम्बन्धमा सबै काम आफै गर्ने गरेको छु । प्रत्येक महिना रिर्पाेटिङ्ग गर्ने काम मात्र गर्छु ।’ उनले नाम कृषि सहकारी भए पनि सहकारीले कृषि सम्बन्धी कुनै काम नगर्ने र ऋण तथा बचतको काम मात्र गर्ने बताए । तर सहकारीको विधानअनुसार कृषि सहकारीले कृषिमा पनि केही लगानी गरेको हुनु पर्दछ ।

२० जनाबाट सुरु गरिएको सहकारीमा अहिले ९ सय सानाठूला सेयर सदस्य रहेका छन् । सहकारी संस्थाका संस्थापक अध्यक्ष शिव शर्मा आचार्यले यस अगाडि नै राजीनामा दिएको बताउँदै सहकारीसँग अहिले आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले भने, ‘मैले मेरो सेयर र अन्य कारोबार लिएर छुट्टिसकेको छु । आठ महिनादेखि मलाई सहकारीको बारे कुनै जानकारी छैन ।’ सहकारीले पनि संस्थापन अध्यक्ष आचार्यलाई कुनै कामका लागि खोज्ने गरेको छैन ।

सहकारीका सचिव रविलाल ढकालले आफू अहिले सो पदमा नरहेको बताए । सुरुमा आफू बचतकर्ता मात्र रहेको बताएका उनले नारायणी अनलाइनले सचिव भन्ने थाहा पाएपछि सोधेको प्रश्नमा पहिले रहेको तर अहिले नरहेको प्रतिक्रिया दिए । उनले सहकारीको विषयमा थप जानकारी दिन आनाकानी गरे । सहकारीका कोषाध्यक्षले यसअघि नै राजीनामा दिएको स्रोतले बताएको छ ।

यसरी भयो अवैध मोबाइल कारोबारको पर्दाफास :

नवलपुर हुँदै चितवनको नारायणढतर्फ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किवासले ५ सय ९५ थान मोबाइल बरामद गरेको थियो । ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गतसाता रातको ११ वजे प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा मोबाइलको ओसारपसार हुने गरेको फेला परेको थियो । भन्सार छलेर मोबाइल ल्याउने चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ८ का अर्जुन शर्मा भनिने अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

श्रेष्ठ शारदानगर जेसीजका वर्तमान अध्यक्ष समेत हुन । उनिहरुले जिल्लाका जनप्रतिनिधि र केन्द्रीय नेताको हवला दिँदै मोवाइलको अबैध कारोवार गर्दै आइरहेको पाइएको छ ।

राजस्वको पनि अनुसन्धान :

चितवनको नारायणगढमा भइरहेको मोवाइलको अबैध कारोवारका सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भरतपुरले पनि अनुसन्धान अघि बढाएको छ । ‘ए एण्ड के’ मोवाइलका संचालक शर्मा भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइलसहित पक्राउ परेपछि राजश्व कार्यालयले पनि अनुसन्धान अघि बढाएको हो । सो पसलले अबैध कारोवार गरेर कर छलेको हुनसक्ने भन्दै राजश्व कार्यालय आकर्षित भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत घनश्याम पन्थीले अबैध कारोवारका सम्बन्धमा आफूहरुलाई पनि सूचना आएको र त्यस विषयमा कार्यालयको पनि ध्यानाकर्षण भएको बताए । उनले भने, ‘हामीले पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेका छौं, अन्य कुरा अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’ नवलपुरको दुम्किवासमा एक साताअघि करिब १ करोड बराबरको अबैध मोवाइल प्रहरीले बरामद गरेको थियो ।

छुटाउन दबाब :

बरामद भएका मोबाइल र गाडीको मूल्यांकन कम देखाएर पक्राउ परेका व्यक्तिलाई तत्काल धरौटीमा छाड्न चितवनका ठूला व्यापारी, राजनीतिक दलका जिल्ला नेतादेखि केन्द्रीय नेतासम्मले दबाब दिएको स्रोतले बताएको छ । उनीहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई हारगुहार गरिरहेका छन् ।

नवलपरासीको महेशपुर भन्सार कार्यालयले सरकारी वकिल कार्यालयमा रायका लागि मुद्दा पेश गरिएको भन्सार अधिकृत रामप्रसाद अर्यालले बताए । प्रहरीले ९९ लाखको मोबाइल बरामद भएको प्रतिवेदन भन्सार कार्यालयमा बुझाएको छ ।

मोबाइलसँगै पक्राउ परेको डबल क्याबको जीपको मूल्यांकन ७० लाख देखाइएको छ । उक्त जीप १ करोड बढीको रहेको बताइएको छ । ‘फोन त कति आए, कति अझ पनि आउँदै छन् । फोन आउँदैमा छाड्ने कुरा भएन ।’ भन्सार अधिकृत अर्यालले नारायणी अनलाइनलाई भने । मोबाइल बरामद भएका दिनदेखि नै धरौटीमा छोड्न र कम मूल्यांकन देखाउन फोन आउन थालेको उनले बताए । चितवनका जिल्लादेखि केन्द्रिय नेताले फोन गरेको उनको भनाई छ । तर कस्ले फोन ग¥यो भन्ने बारे अर्यालले बताउन चाहेनन् । घटनाको तीब्र अनुसन्धान भइरहेको र थप कुरा अनुसन्धान सकिएपछि मात्र बताउने उनले नारायणी अनलाइनलाई प्रतिकृया दिए ।

सरकारी वकिल कार्यालयमा प्रहरीकै प्रतिवेदनमा उल्लेख भएको मूल्य राखेर मुद्दाका लागि राय लिने र पछि कार्यालयले मूल्य तोक्ने भन्सार कार्यालयले जनाएको छ ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित 0 Minutes 135 Views